काँग्रेस अधिवेशन : ताप्लेजुङमा संस्थापन पक्ष सोलुमा संस्थापन इतर समूह विजयी

दमक, १८ असोज/  प्रदेश १ का दुई हिमाली जिल्ला ताप्लेजुङ र संखुवासभामा नेपाली काँग्रेसले चुनावमार्फत नयाँ नेतृत्व चयन गरेको छ । यी दुईमध्ये ताप्लेजुङमा संस्थापन पक्षका र सोलुमा संस्थापन इतर समूहका सभापति चयन भएका छन् ।
ताप्लेजुङको सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ निर्वाचित भएका छन्। उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। उनले छविलाल गुरूङलाई हराएका हुन्। छविलाल संस्थापनइतर समूहबाट सभापति पदका उम्मेदवार बनेका थिए।
उपसभापतिमा गणेश चोङ्वाङ, डिल्लीरमण बराल, सचिवमा डम्बर हाङ्गाम र नन्दकुमार ओझा निर्वाचित भएका छन्। सहसचिवमा तेज सुनुवार जङ्ग र नन्दकुमार आङ्बुहाङ निर्वाचित भएको निर्वाचन अधिकृत तिलक पाण्डेले बताए।
एक उपसभापतिबाहेक तुम्याहाङको प्यानल नै विजयी बनेको हो। कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गरिरहेको छ। मंसिर ९ देखि १३ गतेसम्म कांग्रेसको महाधिवेशन छ।
यस्तै संखुवासभाको पार्टी सभापतिमा दीपक खड्का विजयी भएका छन् । सोमबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री खड्का दोश्रोपटक जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।
शनिबार उद्घाटन भएको जिल्ला अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि आइतबार मतदान भएको थियो । कुल खसेको १३५२ मतमध्ये खड्काले ११९८ मत प्राप्त गरे । यस्तै उपसभापतिमा रामकुमार जिमी अनन्त गौली , सचिवमा टकमान घले र कुमारबाबु अधिकारी, सहसचिवमा किशोर कुमार गुरुङ र सुवास कालाखेती विजयी भएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।
खड्का संस्थापनइतर समूहका नेता हुन् । उनीसँग चुनावी प्रतिस्पर्धामा राइमान राई थिए । कांग्रेसको जारी अधिवेशनअन्तर्गत अहिलेसम्म ६ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ । मनाङ, मुस्ताङ, हुम्ला, कालीकोट, रुकुमपूर्व र संखुवासभामा जिल्ला अधिवेशन सम्पन्न भएको हो । दोलखामा सोमबार सभापती पदका लागि दोश्रो चरणको चुनाव हुदैछ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछी दोश्रो चरणमा चुनान हुन लागेको हो ।

सोमबार, १८ असोज, २०७८, दिउँसोको ०४:३५ बजे

सम्बन्धित खवर