दमकका साहित्यकारले सम्झिए देवकोटा

         प्रतिष्ठानले गर्यो ६ वटा विधाका पुरस्कार घोषणा

    दमक, १८ कार्तिक /   दमकका साहित्यकारहरुले महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मरण गरेका छन् । महाकवि देवकोटाको १ सय १३ औ जन्मजयन्ती अर्थात लक्ष्मी पूजाको अवसर पारेर देवकोटाको बाल साहित्य र उनका रचनाको चर्चा गरी स्मरण गरिएको हो ।
सोही अवसरमा आयोजित कार्यक्रमकाविच दमक प्रज्ञा प्रतिष्ठानले एकैसाथ ६ वटा पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानले फरक फरक विधामा पुरस्कारको घोषणा गरेको प्रतिष्ठानका अध्यक्ष हेम अधिकारीले जानकारी दिए ।
घोषित पुरस्कारहरुमा दमक प्रज्ञा विशिष्ट प्रतिभा पुरस्कार प्रा.डा. गोविन्दराज भट्टराईलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी रु ५१ हजार रहेको छ ।
यस्तै २१ हजार राशीको दमक प्रज्ञा संस्कृति पुरस्कार डा. सोमबहादुर धिमाललाई , रु २१ हजारकै दमक प्रज्ञा मातृभाषा सहित्य पुरस्कार रचना लावतीलाई , रु. २१ हजारकै दमक प्रज्ञा कला साधना पुरस्कार चन्द्रा गड्तौलालाई, २१ हजार रुपैँया नै रहेको दमक प्रज्ञा विज्ञान तथा प्रविधी पुरस्कार जसहाङ्ग लिम्बुलाई प्रदान गरिने भएको छ । यसैगरी १५ हजार रुपैँया रहेको दमक प्रज्ञा बाल साहित्य पुरस्कार सेलीया श्रेष्ठलाई प्रदान गर्ने घोषणा गरिएको छ ।
घोषित पुरस्कार प्रतिष्ठानको स्थापना दिवसका दिन अर्थात मंसीर २५ गते प्रदान गरिने जनाइएको छ ।
प्रदेश १ का प्रदेशसभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यतामा भएको पुरस्कार घोषणा कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिना लगायत स्थानीय साहित्य क्षेत्रका सर्जकहरुले सम्बोधन गरेका थिए ।
पशुपति मन्दिरको सभाकक्षमा भएको महाकवि देवकोटाको जन्मजयन्ती कार्यक्रममा वरिष्ठ साहित्यकार मिश्र बैजयन्तीले महाकवि देवकोटाको बाल्य अवस्था र बाल श्रृजनाका बारेमा प्रकाश पारेकी थिइन् । झापाका सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालले देवकोटाको जीवनीमाथि चर्चा गरेका थिए ।
प्रतिष्ठानका सचिव विष्णु न्यौपानेले सञ्चालन र जीवन गुरुङले स्वागत गरेको कार्यक्रममा साहित्यकारहरु नरपति पाण्डे, मेघराज तिम्सिना, एनपी दाहाल, भक्तादेवी दाहाल, ओम आचार्य, प्रेम भण्डारी, राम नेपाल, धनञ्जय बाँस्कोटा, गोपाल दाहाल, धनकुटे कान्छा, हरि खनाल, बलिभद्र कोइराला, नेत्र दाहाललगायत दर्जनबढी श्रष्टाहरुको उपस्थिति रहेको थियो । दमक प्रज्ञा प्रतिष्ठानको आयोजना तथा साहित्य कला संगम दमकको सहआयोजनामा भएको कार्यक्रममा ज्ञानकला केन्द्र दमकका बालकलाकार रियाज रिजालले देवकोटाको कविता वाचन र बिहानी कलाकेन्द्रकी कलाकार चेतना डाँगीले गीत प्रस्तुत गरेकी थिइन् ।
यसैबीच दमकस्थित देवकोटा चोकमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमामा उपस्थित साहित्यकार तथा कार्यक्रमका अतिथिहरुले फूलमाला चढाएका थिए । सोही अवसरमा देवकोटा प्रतिमा परिसरमा विभिन्न किसिमका फूल तथा कल्पवृक्षरोपणसमेत गरिएको थियो ।

बिहिबार, १८ कार्तिक, २०७८, रातीको १०:३६ बजे

सम्बन्धित खवर