बलात्कार आरोपित नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ । जिल्ला अदालत काठमाडौंले शुक्रबार उनलाई त्यस्तो आदेश दिएको हो । जिल्ला न्यायाधीश माधव घिमिरेको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो ।

केन्यासँगको सिरिज खेल्न जानुअघिल्लो राति सन्दीपले एक नाबालिगलाई बलात्कार गरेको अभियोग लागेको छ । सो अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले १२ वर्षसम्मको कैद सजाय माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

सन्दीपका तर्फबाट पाँच जना वरिष्ठ अधिवक्तालगायतले बहस गरेका थिए । वरिष्ठ अभिवक्ता शम्भु थापा, रमण श्रेष्ठलगायतले बहसका क्रममा पीडित भनिएकी किशोरी नाबालिग नभएको जन्मदर्ताको प्रमाणपत्र पेस गर्दै सन्दीपलाई धरौटीमा छाड्न दलिल गरेका थिए ।

अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै सन्दीप मुद्दाको किनारा नलाग्दासम्म थुनामै रहने भएका छन् । यद्यपि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध उनी पुनरावेदन जान सक्नेछ्न ।

Facebook Comments Box