झापा, १८ कात्तिक/ मेचीनगर नगरपालिका १० मा रहेको प्राथमिक धुलाबारी स्वाथ्य केन्द्रमा मतदान केन्द्र तोकिएकोमा स्थानीयवासीले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् ।
स्वाथ्य चौकी जस्तो अति संवेदनशील स्थानमा मतदान केन्द्र तोकिँदा विरामीलाई असर पर्ने जनाउँदै स्थानीयवासीले विरोध जनाएका हुन् ।

मेचीनगर ¬–१० खयरडाँगीका महेश खड्काले विगतमा स्वास्थ्य केन्दमा मतदान हुँदै गर्दा एम्बुलेन्समा आएकी एक गर्भवती महिलाले सुविधा नपाउँदा मन खिन्न भएको कुुरा सामाजिक सञ्जालमा उल्लेख गर्दै आगामी निर्वाचनमा मतदान केन्द्र नबनाइदिनका लागि आग्रह गरेका छन् ।

उनले लेखेका छन् “आँखै अगाडि देखेको यो घटनाले जीवनभर घोचिरहनेछ । अब आउने दिनमा हेल्थ पोस्टलाई निर्वाचन केन्द्र बनाउँदै गर्दा स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित हुन नपरोस् ।” झापा क्षेत्र नम्बर १ मा रहेको यस केन्द्रमा मतदान केन्द्र तोकिएकोमा स्थानीय समाजसेवी देवीमाया गौतमले पनि विरोध जनाएकी छिन् ।

उनले निर्वाचन कार्यालयले विगतमा पटकपटक गरेको गल्ती यसपाली पनि दोहोर्याएको भन्दै आपत्ती जनाएकी छिन् । उनले हरेक नागरिकको २४ घण्टै पाउनुपर्ने स्वाथ्य उपचारको अधिकारमाथि निर्वाचन कार्यालयले हनन गरेको आरोप लगाइन् ।

क्षेत्र नम्बर १ को निर्वाचन अधिकृत टंकबहादुर महतले स्वास्थ्य केन्द्रलाई मतदान केन्द्र बनाउनु उचित नभए पनि तत्काल विकल्प नभएको बताए । उनले भने, “पहिलादेखि नै कसरी रह्यो, पहिल्यै सुधार गर्नुपथ्र्यो । अब ठाउँ तोकिएको स्थानबाट ठाउँ सार्न पाइदैन, अर्को उपाय छैन ।” उहाँले स्वास्थ्य केन्द्रमा मतदान केन्द्र बनाउँदा विरामीलाई असर पर्नेमा आफू चिन्तित भए पनि तत्काल केही गर्न नसक्ने बताए । झापामा २८५ मतदान स्थल र ७५६ मतदान केन्द्र रहेका छन् ।

Facebook Comments Box