नारी सञ्चार अक्षयकोषलाई दमक नगरको तीन लाख सहयोग

दमक, पुस २१ / दमक नगरपालिकाले नारी सञ्चार गृह, झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि रु तीन लाख सहयोग गरेको छ ।
पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न र उनीहरुलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्न पुरस्कार प्रदान गर्ने उद्देश्यले स्थापना गरेको उक्त अक्षयकोष वृद्धिका लागि नगरपालिकाले सो रकम सहयोग गरेको हो । नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले सो रकम बराबरको चेक नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटीलाई हस्तान्तरण गरेकी हुन् ।
उनले मोफसलमा रहेर काम गर्ने पत्रकारको चुनौती र समस्यासँग पौठेजोरी खेल्दै सञ्चार गृहमा आबद्ध महिला पत्रकारले समाज रुपान्तरणमा खेलेको भूमिका अतुतनीय रहेकाले उनीहरुले स्थापना गरेको अक्षयकोष वृद्धिका लागि सहयोग गरेको बताइन् ।
नारी सञ्चार गृह २०६८ सालमा स्थापना भएको हो । संस्थाले पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न सङ्घसंस्थासँग मिलेर काम गर्दै आएको छ । संस्थामा ५० भन्दा बढी महिला आबद्ध छन् । तीन वर्ष अघि अक्षयकोषको स्थापना गरिएको हो ।
अक्षयकोषको वृद्धिका लागि गृहमा आबद्ध पत्रकार महिलाले जन्मदिन, वर्षगाँठलगायत वापतको रकम समेत जम्मा गर्दै आएको शिवाकोटीले बताइन् । अक्षयकोषका लागि कमल गाउँपालिकाले रु ५० हजार र अर्जुनधारा नगरपालिकाले रु एक लाख ५० हजार सहयोग गरेको छ ।
संस्थाकी उपाध्यक्ष एवम कोषकी संयोजक रेजिना गौतमले चाँडै नै सोही रकमको ब्याजबाट नारी सञ्चार पत्रकारिता पुरस्कार स्थापना गरिने जानकारी दिइन् ।

बुधबार, २१ पुष, २०७८, बिहानको ०९:०२ बजे

सम्बन्धित खवर