ओली पक्षको आमसभा: ३ लाख उतार्ने तयारी तर १६ हजार मात्रै

बैकल्पिक खवर

काठमाडाैं/ नेपाल कम्युनिष्ट पार्टीको सत्तापक्ष केपी ओली समूहको शक्ति प्रदर्शन तथा आमसभा अहिले दरबारमार्ग नारायणहिटी अगाडि भइरहेको छ। सभालाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली, नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा, सत्यनारायण मण्डल, कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्दैछन्। सभाका लागि विभिन्न जिल्लाका नेता तथा कार्याकर्ता काठमाडौंमा भेला भएका छन्।

शुक्रबार दिउँसो नारायणहिटी दरबारमार्ग सुरु भएको आमसभाअघि नेकपाले उपत्यकाका गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघर लगायतका १६ स्थानबाट जुलुस निकालेको थियो। जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत भएको हो। अहिले भर्खरै रामबहादुर थापा बादलले सभालाई सम्वोधन गरेका छन् भने कार्यक्रम अहिले सञ्चालन भइरहेको छ।

यसअघि माघ ९ मा नेकपाकै प्रचण्ड नेपाल समूहको विशाल सभा भएको थियो। उक्त जनसभालाई खिसीट्युरी गर्दै नेपाल सरकारका कामचलाउ सरकारका प्रधानमन्त्री रहेका केपी ओलीले पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वास्तविक जनपदर्शन कस्तो हुन्छ आफूहरुले माघ २३ गते देखाउने बताएका थिए। सोहीअनुसार आज सरकारले प्रतिपक्षलाई देखाउन ३ लाख मान्छे काठमाडौंमा उतार्ने बताएको थियो। साढे १२ बजेको हाराहारीमा वास्तविक आमसभा कस्तो हुन्छ २३ गते हेर्नु भन्ने प्रधानमन्त्रीको चुनौतीलाई साकार रुप दिन बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल उपत्यका छिरिसकेका थिए। पर्यटनमन्त्री भानुभक्त ढकाल र कानुनमन्त्री लीला श्रेष्ठ पनि कार्यक्रमस्थलमा देखा परिसकेका थिए।
३ लाख मान्छे उतार्ने भनिए पनि ५० देखि ६० हजार जना उपस्थित गराउनैपर्ने तयारी थियो। तर, प्रधानमन्त्रीको पछिल्लो असंवैधानिक कदम र बिग्रँदो राजनीतिक घटनाक्रमले जनता यस्ता कार्यक्रममा सामेल हुन दिक्क मान्दै गरेको प्रतित भएको देखिन्छ। सरकारी स्तरको शक्ति प्रर्दशनमा आदिवासी जनजाति महासंघको व्यानरबाहेक कार्यक्रमस्थलमा संस्थागत उपस्थिति खासै देखिएको छैन।
अहिले भैरहेको कार्यक्रममा देशभर बाट लगभग १६ हजार मान्छे उपस्थित भएको जनाइएको छ । कार्यक्रम स्थलमा रहेका विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरुले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलिले सम्बोधन गरिरहदा १५-१६ हजार मान्छेको उपस्थिति रहेको जनाएका छन ।

शुक्रबार, २३ माघ, २०७७, दिउँसोको ०४:०५ बजे

सम्बन्धित खवर