नेपालगन्जमा थप सातमा कोरोना देखियो : संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौँ । मंगलबार नेपालगन्जमा थप ७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।समिरकुमार अधिकारीका अनुसार २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९, ३२, ३४ र ५५ वर्षीया महिलामा मंगलबार संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालगन्जमा मात्रै संक्रमितको संख्या २३ पुगेको छ । यसअघि नेपालगन्जमा आइतबार १५ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा संक्रमण पुष्टि भएकामध्ये १६ जना निको भएर घर फर्किएका छन् । संक्रमितको संख्या बढेसँगै नेपालगन्जमा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरी पहिचान र परीक्षण गर्ने काम भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

बाँकेसँग सिमाना जोडिएको कर्णाली प्रदेशले कोरोना संक्रमण रोकथामका लागि सबै नाका बन्द गरेको छ । कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएको छैन ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको छ । पछिल्लो पटक थपिएको लकडाउनको म्याद यही वैशाख २५ गतेसम्म छ ।

मङ्गलबार, २३ बैशाख, २०७७, बिहानको १०:२६ बजे

सम्बन्धित खवर