बेला बेला बौरिदैछ राजतन्त्रको काँचोवायु

काठमाडौं /  पन्चतन्त्रमा दृष्टान्तबोधक कथाहरु धेरै छन् । कथाका आधारमा बालबालिकालाई जीवन र जगत्को शिक्षा दिने मनसायले नै विष्णु शर्माले ती कथा रचना गरेका थिए् । सवैभन्दा पुराना र संसारभरि फैलिएका कथा मानिन्छन् पन्चतन्त्रका कथा । नेपाली जनजीवनमा पनि पन्चतन्त्रका कथा सुदूर अतीतदेखि अद्यावधि चलनचल्तीमा छन् । कति निरक्षर हजुरआमाहरुले आफ्ना नाति नातिनालाई सुनाउने कथामा पनि पन्चतन्त्र भेटिन्छ । (त्यतिसम्म लोकप्रसिद्ध कथाहरु हाम्रा लोकतन्त्रका महान् नेताजनहरुले सुन्न गुन्न न भ्याउनुले वहाँहरुको जन्मसिद्ध शासकीय व्यस्ततालाई सङ्केत गर्छ भने यसमा ‘उदेक’ मान्न मात्र सकिन्छ ।)

पन्चतन्त्रमा एउटा नक्कली शृगाल अर्थात् स्यालको कथा छ । शहरतिरको भागाभागमा अचानक धोवीको रङ्गपात्रमा डुबेर निस्केपछि स्याललाई राजा हुने रहर जाग्छ । जङ्गलभित्रको कुनै अग्लो ढिस्कामा उभिएर ऊ आफू राजा भएको घोषणा पनि गर्छ । जङ्गलका जनावरहरु अलिदिन भ्रममा पनि पर्छन् । एक दिन राजगद्दीमा विराजमान रहेको बेला अचानक ‘नीलवर्ण शृगाल राजा’ले त्यतै कुनै भेगमा सगोत्री साथी स्यालहरु कराएको सुन्छ । गद्दीनसीन स्यालका शुद्धिबुद्धि हराउँछन् । आफ्नो तत्कालीन हैसियत भुसुक्क बिर्सन्छ । ऊ गद्दीमाथि नै उभिएर स्यालहुइयाँको सङ्गीतमय लबजमा चिच्याइदिन्छ । अनि जनावरहरुका अगाडि उसको खैरियत रहँदैन ।

आमजनताले जननिर्वा्चित भनिएका शासकहरुमा जनताको सेवकको रुप पटक्कै भेट्दैनन्, देख्दैनन्, देख्छन् त खालि ‘राजतन्त्रको काँचोवायु’ मात्रै ! हिजो परिवर्तनका लागि जेलनेल, सास्ती भोगेका नेताहरुमा जनतासँग भुइँतहमै जोडिएर बस्न सक्ने शासकको छवि खोज्छन् आमजनता, तर उनीहरुको बोली, व्यवहार र आचरणमा चाहिँ उही कुहिगन्धे राजतन्त्रकै झलक र प्रतिविम्ब देखापर्छ ।

त्यस्तै पन्चतन्त्रमा एउटा बाघको छाला ओढ्ने अवसर पाएको गधाको कथा छ । कुनै धूर्त किसानले आफ्नो गधालाई अरुको खेतबारी चराउन कतैबाट एक थान बाघको छालाको जोहो गर्छ र त्यो छाला ओढाएर गधालाई अरुका खेतमा बाली चर्न छोडिदिन्छ । बाली चरिरहेका गधालाई बाघ ठानेर किसानहरु आपसमा तर्क गर्छन् र पनि डरको कारण त्यसको नजिक पर्दैनन् । विचित्रको संसारमा घाँस खाने बाघ पनि जन्मेछ कि जस्तो लाग्छ सोझा सिधा किसानहरुलाई । यसरी केहीदिन गधाले किसानका खेतबारी चर्छ । एक दिन त्यस गधाले पनि नजिकै कतै अर्को गधा कराएको कर्कश आवाज सुन्छ । उ पनि आफ्नो परम्परागत शैलीमा उन्मुक्त भएर ‘गर्दभ–राग’ छोड्छ । किसानहरुका अगाडि बाघका छालाको रहस्य खुल्छ । अनि गधा दण्डित हुन्छ । गधालाई नक्कली बाघ बनाउने धूर्त अरु बढी दण्डित हुन्छ ।

कथाहरु दृष्टान्त हुन् । पुराना दृष्टान्त कथाहरु धेरैजसो तत्कालीन परिवेशका स्पष्टीकरण हुन् । राजतन्त्रका विविध रुप पार गरेर जनताको वलिदानपूर्ण आन्दोलनहरुका तागतबाट लोकतान्त्रिक गणतन्त्र नामक व्यवस्था र त्यसका लागि एक थान संविधान पनि बनेर लागू भइसक्यो भनिएको नेपालमा सत्तासीन ठुलाबडाहरुका कामकारवाही, आनीबानी आचरण र व्यवहारमा पन्चतन्त्र कथाका तिनै पात्रमा परिणत भएर जनतालाई किन लज्जित बनाउँछन् ? जनजीवनमा यो यथार्थ गम्भीर चिन्ताको विषय बन्नु स्वाभाविक छ ।

प्रसङ्गहरु खोतल्दै जाने हो भने थुप्रै छन् । ती प्रसंगहरुमा आमजनताले जननिर्वा्चित भनिएका शासकहरुमा जनताको सेवकको रुप पटक्कै भेट्दैनन्, देख्दैनन्, देख्छन् त खालि ‘राजतन्त्रको काँचोवायु’ मात्रै ! हिजो परिवर्तनका लागि जेलनेल, सास्ती भोगेका नेताहरुमा जनतासँग भुइँतहमै जोडिएर बस्न सक्ने शासकको छवि खोज्छन् आमजनता, तर उनीहरुको बोली, व्यवहार र आचरणमा चाहिँ उही कुहिगन्धे राजतन्त्रकै झलक र प्रतिविम्ब देखापर्छ । यस्ता प्रसंगले जनतालाई निराश बनाउँछ, आक्रोशित बनाउँछ । हो, पदीय दायित्व र मर्यादाअनुरुप केही औपचारिकता र केही सुविधाहरु निर्वाह गर्नु जरुरी हुन्छ, त्यो कुरामा आपत्ति हुँदैन, हुनुपनि हुँदैन आम जनतालाई । तर मर्यादा र औपचारिकता निर्वाह पनि उन्नत संस्कृति र आचरणलाई बोक्ने र प्रतिविम्बन हुनेखालको हुनुपर्छ र छैन भने त्यो दिशातार्फ मोड्ने काम शासकहरुबाट हुनु जरुरी छ । यो कुरा शासनसत्तामा बसेकाहरुले जतिचाँडो बुझ्न सक्यो, उत्तिनै राम्रो ।

शासनसत्तामा बसेकाहरुले राजतन्त्रको काँचोवायुलाई बौराएको सबैभन्दा पछिल्लो प्रसंग चाहिँ अहिले हिजोको सदनमा राष्ट्रपतिका सम्बोधन पनि हो । लोकतान्त्रिक गणतन्त्रका सम्माननीय ‘आलङ्कारिक’ राष्ट्रपति महोदयले नेपाल सरकारको प्रस्तुत आर्थिक वर्षको लागि निर्मित नीति तथा कार्यक्रम सम्मानित सदनमा वाचन गर्दा २१ पटक ‘मेरो सरकार’ भनेको सुनियो । ‘नेपाल सरकार’लाई राष्ट्रपतिले मेरो सरकार भन्नु पदीय नैतिकता, लोकतान्त्रिक मर्यादा र सम्विधानको पालनाका दृष्टिले उचित थियो र ? जनजीवनमा आज यो एक गम्भीर चर्चाको विषय बनेको छ ।

राजतन्त्रमा राजाहरु यसरी नै बोल्थे । नेपालका श्री ५ हरु यसरी नै बोल्थे । राणा कालमा श्री ३ हरु पनि मुलुकलाई आफ्नै बिर्ता ठान्थे र निर्लज्जताका साथ ‘मेरो’ भन्थे । जनताले रैती र दुनियाँकै तहमा रहनु परेका ती दिनहरुमा सत्तासीन श्री ३ पनि ‘स्वयम् सरकार’ थियो । दुनियाँले पनि ‘सरकार’ भनेरै सम्बोधन गर्थे ।

राजतन्त्रमा राजाहरु यसरी नै बोल्थे । नेपालका श्री ५ हरु यसरी नै बोल्थे । राणा कालमा श्री ३ हरु पनि मुलुकलाई आफ्नै बिर्ता ठान्थे र निर्लज्जताका साथ ‘मेरो’ भन्थे । जनताले रैती र दुनियाँकै तहमा रहनु परेका ती दिनहरुमा सत्तासीन श्री ३ पनि ‘स्वयम् सरकार’ थियो । दुनियाँले पनि ‘सरकार’ भनेरै सम्बोधन गर्थे । इतिहासकारहरु पनि ‘चन्द्रशमशेर सरकार’ हुँदा, ‘जुद्धशमशेर सरकार’ हुँदा भनेर लेख्थे । त्यस कालखण्डमा फौजीबल र शासकीय सत्ताको बलमा जनतालाई शोषण, उत्पीडन र दण्डको जाँतोमा पिसेर श्री ३ सर्वेसर्वा नै हुन्थ्यो । राणशासनपछिका शाही शासनको ‘सक्रिय’ तथा ‘सम्वैधानिक राजतन्त्र’मा पनि सम्विधानमा ‘श्री ५ को सरकार’ जस्ता शव्दसंयोजनहरु जीवितै थिए । राजाले सदनमा सम्बोधन गर्दा ‘मेरो सरकार’ भनेको सुनिन्थ्यो । आज मुलुकमा राणाशासन छैन, शाही शासन पनि छैन । जननिर्वा्चित प्रतिनिधिहरुको शासन छ । जननिर्वा्चित प्रतिनिधिहरुले हामी त प्रतिनिधि मात्र हौं, देश र सरकार त जनताको हो भन्ने यथार्थ भुसुक्कै बिर्सेर, (आफु कसरी के आधारबाट त्यहाँ छु भन्ने सामान्य ज्ञान पनि बिर्सेर) राणा र शाहहरुकै शासकीय व्याकरण अपनाएका हुन् भने यो सार्वभौम नेपाली जनताको अपमान हो । यस्तो हुँदा लज्जाबोध गर्न सक्ने विनीत शासकहरु जनतासँग क्षमायाचना गर्छन् । अन्यथा जनता र जनसरकारमाथिका यस्ता अपमानजनक शव्दसंयोजनलार्ई शासकवर्गमा आएको विचलन तथा ‘सांस्कृतिक महापतनको टीठलाग्दो दृष्टान्त’ भन्नु पर्ने हुन्छ ।

लोकतन्त्रमा शासनमा पुगेकाहरुको सामन्ती शैलीको सम्भ्रान्तता भ्रान्ति हो र विगतका जनक्रान्तिहरुमाथिको असह्य ब्यङ्ग्य पनि हो । त्योभन्दा पनि जनबलको आधारमा शासनसत्तामा पुगेकाहरुमा आफ्नो दायित्व र हैसियतलाई भुल्दै र कुल्चँदै देखापरेको ‘साँस्कृतिक पतन’को दृष्टान्त पनि हो । यसलाई सामान्य रुपमा लिन मिल्दैन । साँच्चै नै सत्तासीनहरु आफूलाई जनताका सेवक ठान्छन्, मान्छन् भने त्यसअनुरुपको व्यवहार र आचरणमा आफूलाई ढाल्नु अनि राणकालीन एवं राजतन्त्रकालीन सामन्ती संस्कृतिबाट आफूलाई अविलम्ब मुक्त गर्नु जरुरी छ । रातोपाटीबाट

आइतबार, २२ बैशाख, २०७६, दिउँसोको १२:१० बजे

सम्बन्धित खवर