कीर्तिमानी धावक रोकायाको कथाले सबैलाइ रुवायो

काठमाडौं प्रज्ञा प्रतिष्ठानको हलभित्र खेलाडी र खेल प्रेमीहरुको बाक्लो जमात थियो । ‘एसी’ ले पनि त्यति राम्रो काम नगर्दा गर्मीले उकुसमुकुस भएका दर्शकहरु बाहिर(भित्र गरिरहेका थिए । त्यतिबेलासम्म पल्सर स्पोर्ट्स अवार्डका ७ वटा विधामा पुरस्कार वितरण भइसकेको थियो ।

उद्घोषले केही भूमिका बाँध्दै अवार्डमा रहेको अर्को विधाको उद्घोष गरे । उक्त विधा थियो ‘लाइफटाईम अचिभमेन्ट‘ अवार्ड । स्टेजमा बनाइएको ठूलो डिजीटल पर्दामा उक्त विधामा मनोतिन भएका एकजना विशिष्ट व्यक्तिको नाम आयो । उनी थिए विश्व कीर्तिमानी धावक हरि रोकाया ।

उनको नाम आउने बित्तिकै बाहिर(भित्र गरिरहेका दर्शकहरु रोकिए, शान्त भए र डिजीटल पर्दातर्फ आँखा दौडाए । छोटो अबधिको रोकायाको श्रब्यदृष्यमा दर्शकहरुले आफ्नो ध्यान केन्द्रित गरे । उक्त भिडियोमा रोकायाले बोलेका शब्द(शब्दमा दर्शकहरुले गड्गडाहट ताली बजाए । भिडियोमा रोकायाले खेलाडीका लागि गरेको सहयोगको बारेमा बोल्दै भावुक समेत बनेका थिए ।

उनी १९ दिन अस्पतालको बेडमा मर्ने- बाँच्नेको कुनै टुंगो नहुँदा सरकारी तवरबाट विश्व कीर्तिमानी रोकायालाई कुनै सहयोग नपाएको गुनासो त्यहाँ गरिएको थियो । भुईँमा खुट्टा टेक्ने आफ्नो शारीरिक अवस्था नहुन्जेलसम्म पनि खेलाडीहरुलाई प्रशिक्षण दिएको कुराले सबैको मन च्वास्स छोयो । रोकायाले अस्पतालको बेडबाटै आफ्ना चेला (खेलाडी) हरुलाई फोनबाटै भए पनि प्रशिक्षण दिने गरेको सुन्दा सबैजना भावुक बने ।

यतिसम्म की फोटो पत्रकारले फोटो खिच्नै बिर्सिए । दर्शक र खेलाडीका आँखा रसाए । एकले अर्कालाई सुमसुम्याई रहेका र नरुन अनुरोध गरेका आवाजहरु सुनी रहेका थिए । रोकायाको संघर्षपूण जीवनको छोटो बायोग्राफी हेर्दै गर्दा भारोत्तोलनकी खेलाडी मनिषा रानाभाट निकै भावुक देखिन्थिन् । उनलाई छेउमै बसेका साथीले नरोउ भन्दै सम्झाईरहेका थिए ।

बायोग्राफी बज्दै गर्दा स्टेजमा बोलाइएका रोकाया आफै पनि भावुक बनेका थिए । उनले अवार्ड थाप्दै गर्दा दर्शक दीर्घामा बसेका सबैले उठेरै उनको अभिनन्दन गरे । अवार्ड समारोहमा कुनै खेलाडीका लागि दर्शकले देखाएको त्यो माया र सम्मान अपूर्व थियो । रोकायाप्रति देखाइएको श्रद्धा र सम्मान सायदै अरु कसै प्रति देखाइएको थियो । त्यो दृष्यले ड्यासमा बसेका खेलकुद मन्त्री जगद बहादुर सुनार (विश्वकर्मा) लाई पनि कुनै न कुनै तरिकाले छोएको हुनुपर्छ ।

‘लाइफटाई अचिभमेन्ट‘ अवार्ड थाप्दै गर्दा उनै रोकायाले भने, ‘मैले देशका लागि गर्ने हो । हामी जति जना प्रशिक्षक र खेलाडी छौँ सबैले देशका लागि नै गर्ने हुन् । देशले पनि खेलाडीलाई केही दिनुपर्छ ।’ आफ्ना विवशताहरु सुनाउँदै कीर्तिमानी धावक रोकायाले आफू १५ दिन अस्पतालको सैय्यामा बस्दाको पिडा पोखे । उनले भने, ‘खेलाडीहरुका लागि राज्यले कुनै कोष खडा गरिदिएको भए बिरामी पर्दा मैले त्यस्तो अवस्था भोग्नुपर्ने थिएन ।’

उनले थपे, ‘मेरा चेलाचेलीले के सोच्लान् ? तपाई गुरु भएर पनि यस्तो हालत छ । देशका लागि खेल्ने हामी गरिबका छोरा छोरीलाई राज्यले नहेरे अरु कसले हेरिदिन्छ ?’ धावक रोकायाले अवको दिनमा यसरी वेवास्ता नगरी दिनसमेत सरकारसँग आग्रह गरे ।

लाईफाटाईम एचिभमेन्ट अवार्डबाट सम्मानित एथ्लेटिक्सका रोकायाले प्राप्त गरेको उक्त अवार्डप्रति धेरैले गर्ब गरे । गर्ब गर्दैगर्दा पनि धेरैलाई लाग्यो पनि देशका लागि यसरी मरीमेट्नेहरुलाई देशले पनि केही दिए हुन्थ्यो नि ।

००००

वर्षभरि नेपाली खेलकुद क्षेत्रको माध्यमबाट राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय रुपमा योगदान पुर्याउने खेलाडी तथा खेलसम्बद्व व्यक्तिलाई नेपाल खेलकुल पत्रकार मञ्च (एनएसजेएफ) ले विगत लामो समयदेखि पुरस्कृत गर्दै आएको छ । २५ हजार रुपैयाबाट सुरु गरेको अवार्ड अहिले १६ औं संस्करणमा पुग्दा लाखौँ बजेटको भएको छ ।

वि.स. २०५३ सालमा एनएसजेएफले पहिलोपटक चार विधामा अवार्ड प्रदान गरेको थियो । पहिलो संस्करणमा वर्ष खेलाडी महिला र पुरुष, वर्षको उत्कृष्ट प्रशिक्षक र लाईफटाइम अचिभमेन्ट अवार्ड गरी चार विधामा प्रदान गरिएको थियो । त्यो बेला विभिन्न व्यक्तिहरुसँग सहयोग मागेर र बाँकी रकम मञ्चका सदस्यहरुले आँफै उठाएर नेपालमा खेलकुद् अवार्डको सुरुवात भएको थियो । त्यसको केही वर्षपछि विभिन्न समस्याका कारण अवार्डले निरन्तरता पाउन सकेन ।

वि.स.२०६१ सालबाट अवार्डलाई पुनः निरन्ता दिने उद्देश्येले एनएसजेएफले दोस्रो संस्करण दुई विधामा सम्पन्न गर्यो । २०६२ सम्म पुनः चार विधामा प्रदा गर्दै आएको एनएसजेएफ स्पोर्टस अवार्डमा २०६३ र ६४ मा दुई विधा थप्दै ६ विधामा अवार्ड प्रदान गरिएको थियो । २०६५ मा सात विधामा अवार्ड प्रदान गरिएको थियो भने २०६६ मा १० विधामा प्रदान गरिएको थियो ।

त्यसपछि २०७२ सालमा भुकम्पका कारण अवार्ड गर्न सकेको थिएन । त्यसअघि र पछिका वर्षमा कहिले ८ र कहिले ९ विधामा अवार्ड प्रदान गर्दै आएको एनएसजेएफले २०७६ मा १० विधामा अवार्ड प्रदान गर्यो । सुरुवाती समयमा अवार्डका लागि चन्दा माग्दै आएको एनएसजेएफले पछिल्ला समय प्रायोजक र सह(प्रायोजकले राम्रै साथ दिएका छन् ।

नेपालकै ठूलो स्पोर्टस अवार्डको छबी बनाएको यस अवार्डको मनोनयनमा पर्नु खेलाडी आफैले ठूलो उपलब्धी ठान्ने गरेका छन् । भर्खरै सम्मन १६ औं संस्करणको पल्सर स्पोर्टस अवार्डमा वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड एथलेटिक्सका अजितकुमार यादवले ग्रहण गर्दैगर्दा आफ्नो जीवनकै सबैभन्दा ठूलो सम्मान पाएको बताएका थिए।

त्यस्तै वर्षको उत्कृष्ट महिला खेलाडी अवार्ड विजेता फुटबलकी स्ट्राइकर सावित्रा भण्डारीले ‘एनएसजेएफ छ र त खेलाडी छौँ’ भन्नुले नेपाली खेलकुदमा यस अवार्डको स्थान र भूमिका महत्वपूर्ण रहेको प्रष्ट हुन्छ

शुक्रबार, २० असार, २०७६, बिहानको १०:०७ बजे

सम्बन्धित खवर