झापा /  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वस्थ्य प्रतिष्पर्धा गर्नु नै लोकतन्त्रको मुल मर्म भएको बताएका छन् । दशैं मान्न झापा आइपुगेका उनले दशैको शुभकामना आदानप्रदान कार्यममा लोकतन्त्रको भावना विपति गर्ने छुट कसैलाई नभएको बताए ।

आफ्ना प्रतिष्पर्धी गठबन्धन दलका नेताहरुलाई समेत एउटै मञ्चमा राखेर वडा दसैँ, तिहार, छठ, नेपाल सम्वत लगायतका पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान गरेका हुन् ।।

मंगलबार बिर्तामोडस्थित सिटी सेन्टरमा एमाले अध्यक्ष ओलीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टीका नेताहरु ओलीसँगै मञ्चमा थिए ।

उनले दशैँ, तिहार लगायत सबै पर्वहरुले नेपालीहरुलाई एकताको सूत्रमा बाँध्ने बताउँदै ठूलाहरुबाट आर्शिवाद लिने चलनले ठूलो महत्व राख्ने बताए । कार्यक्रममा नेपाली कांग्रेस झापा सचिव कृष्ण हुमागाई पनि मञ्चमै थिए । लोकतन्त्रका लागि मिलेर आन्दोलन गरेका कांग्रेस र एमालेबीच दूरी कम हुनुपर्ने उनले मन्तब्यको क्रममा बताउँदा दर्शक दीर्घाबाट परर ताली बजेको थियो ।

उनले अहिले पनि राजतन्त्र ल्याउन चलखेल भइरहेकोले दलहरु सजग हुन आवश्यक रहेको बताए । पूर्व राजाले हालै विज्ञप्ती निकालेर लोकतन्त्रमाथि च्यालेन्ज समेत गरिरहेको दावी गरे ।

कार्यक्रममा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता भक्ति सिटौला मञ्चको अग्रभागमै थिए । लिङ्देनले ढिलो आएका कारण बोल्ने अवसर गुमाए भने सिटौलाले राष्ट्रिय एकताको भावनामा दलहरु एकजुट भएर लाग्नु पर्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता रञ्जित तामाङले नेकपा बनेको समयमा एमाले र माओवादीले सँगै मिलेर शुभकामना कार्यक्रम गरेको र समाजबादको लक्ष्य कोरेको पुरानो कुरा सम्झिए ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका झापा अध्यक्ष दिपेनवाला राईले सबै दललाई बोलाएर दशैँँको शुभकामना साटासाट गरेकोमा एमाले अध्यक्ष ओलीलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय कलाकार टिका भण्डारी, रेवत खनाल, रमा भण्डारी, सुसन कार्की लगायतले नृत्य, गीत, कविता प्रस्तुत गरेका थिए । एमाले झापा जिल्ला अध्यक्ष दीपक कार्कीले स्वागत र कार्यक्रमको सञ्चालन सचिव शिव ढुंगेलले गरेका थिए ।

Facebook Comments Box