तिहार : पूजाको होइन, स्वास्थ्यको पर्व

कमल रिजाल
यमपञ्चक शुरु भएपछि तीहार शुरु हुन्छ । दीपावली पनि हो यस पर्वको अर्को नाम । दसैँपछि दोस्रो ठूलो पर्व हो यो । यस पर्वलाई हरेकवर्ष कात्तिककृष्ण त्रयोदसीदेखि कात्तिक शुक्ल द्वितीयातक मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यमपञ्चक भनिएको हो । यम अर्थात् काल वा समयको समेत सम्झना गरिन्छ यतिबेला । त्यसैले पञ्चकमा यम विशेषण जोडेर यमपञ्चक भन्ने गरिएको हो । काग र कुकुरदेखि गाई, गोरु, तथा मानिसको समेत पूजा हुने गर्छ यस पर्वमा । दीपावली गरी लक्ष्मी र गोवर्द्धन पर्वतको समेत पूजोपासना यस पर्वको थप विशेषता हो ।

कात्तिककृष्ण त्रयोदशीका दिन धन्वन्तरी जयन्ति मनाउने गरिन्छ । धन्वन्तरी आयुर्वेदसित सम्बन्धित देवता हुन् । उनी देवासुर सङ्ग्रामका बेला समुद्र मन्थन गर्दा अमृतघडाका साथमा प्रकट भएका हुन् भन्ने पौराणिक कथन छ । मिथक हो, हुन पनि सक्छ न हुन पनि सक्छ तर आयु र आरोग्यका प्रतीक भने पक्कै हुन् उनी र यसैसित सम्बन्धित छ तिहार पर्व पनि । दीपावलीको अन्तर्य पनि आयु र आरोग्यसितै सम्बन्धित छ, जसले तन र मनलाई सफा र उज्यालो पार्नुपर्ने सन्देश दिएको छ ।

साउनदेखि माघसम्मलाई दक्षिणायन भनिन्छ । यो भनेको सूर्य किरण तेर्सो पर्ने समय हो हाम्रो यहाँ । त्यसमा कात्तिक महिना मध्यन्तरको समय हो । साउनदेखि सुरू भएको सूर्य किरणको तेर्सिनेक्रम असोजसम्म एउटा विन्दुमा रहेको हुन्छ भने मङ्सिरदेखि माघसम्ममा अन्तिम विन्दुमा पुगिसकेको हुन्छ ।
यस अर्थमा सर्दी र गर्मीको सन्धी समय मान्नुपर्ने हुन्छ कात्तिक महिनालाई । त्यसैले शरीरलाई थप उर्जा आवश्यक हुन्छ यतिबेला ताकि प्रकृतिमा आएको परिवर्तनलाई पचाउन सकियोस् । दीपावली लगायत यम अर्थात् काल वा समयको सम्मान वा सम्झना पनि यसैका लागि हो र अमृतघडाका साथमा धन्वन्तरीको उत्पत्ति प्रसङ्ग पनि यसैसित सम्बन्धित छ ।

तर, हिजोआज त्यसको स्थान लक्ष्मीपूजाले लिएको छ, जुन पर्वको विशुद्धतम उद्देश्य विपरीत कुरा हो । पर्वको उद्देश्य थियो प्रकृतिमा आएको परिवर्तनलाई आत्मसात् गरी शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्ने प्रयास गर्नु, व्यवहार गर्न थालिएको छ नयाँ भाँडाकुँडा र धन सम्पत्ति जम्मा पारेर पूजा गर्ने । जसले गर्दा नहुनुपर्ने जति सबै भइरहेका छन्, हुनुपर्ने जति केही पनि हुन सकेका छैनन् । वर्षको एकपटक धन सम्पत्ति जम्मा पारेर पूजा गर्दैमा धनी भइने भए हामी जति धनी कोही हुने थिएनन् सायद दुनियाँमा ।

पर्व मनाउनुपर्छ, मनाउनु हुन्न भनेको होइन । यो हाम्रो पहिचान पनि हो र पुर्खाको धरोहर पनि हो तर, पर्वको उद्देश्य एकातिर र व्यवहार अर्कोतिर गर्नु भनेको काशी जानु कुतिको बाटो बाहेक केही होइन तर सुन्ने कसले ? जे चलेको छ त्यस्तै चल्नुपर्छ भन्ने गर्छन् धर्मसंस्कृतिका ठेकेदारहरू । संशोधनका नाममा कमा र फुलस्टप मात्र चलाउनु पनि घोर अपराध मानिन्छ उनीहरूको नजरमा ।

केही दिन अघि यसै अनलाइनमा पंक्तिकारको दसैँ पर्व छोट्याउँ शीर्षकको आलेख प्रकाशित थियो । धेरैले मन पराए । झण्डै चार हजार जतिले शेयर गरे तर प्रतिक्रिया भने प्रायः सबै गालीगलौजकै थिए । भन्नु पनि भनियो, नभन्नु पनि भनियो । संस्कृति र संस्कार भँडुवा, डलरवादको भतुवा, इसाइपरस्त परजीवी चिन्तन केके हो केके । जबकि आलेखको आशय दसैँ पर्व खर्चिलो भयो, बहिस्कार गर्नुपर्छ जस्ता नानाभाँतीका आरोप र गुनासो उठ्न थाले त्यसैले पर्वका दिन घटाएर भए पनि सर्वपक्षीय बनाउनेतर्फ सरकार, समाजशास्त्री, नागरिक समाज आदि सबै पक्षले ध्यान दिनुपर्छ भन्ने किसिमको थियो ।

सानैमा कतै पढेजस्तो लाग्छ एक सज्जनले दुईवटा बाँदर पालेका रहेछन् । काम चाहिँ आफू सुतेका बेला गोडा मिच्ने तोकिएको रहेछ । एकदिन सज्जनले निद्राको सुरमा गोडा खप्ट्याएछन्, बाँदर न ठह¥यो, एकले तेरो गोडा किन यता ल्याइस् भनेर गोडामा टोकिदिएछ । अर्को पनि के कम । तेरो चाहिँ किन ल्याको नि भन्दै अर्को पनि टोकिदिएछ । विचराहरूका विचार त मालिकलाई मान गर्ने नै थियो तर व्यवहार उनैलाई घाइते बनाउने हुन पुग्यो । हाम्रो धर्मसंस्कृति र संस्कारको अवस्था पनि त्यस्तै छ । जेजसले धर्मसंस्कृति संरक्षणको कुरा गरिरहेका छन् उनीहरूका सोच स्वयं धर्मसंस्कृतिकै निम्ति घातक बनिरहेको छ ।
समाजमा जति पनि उच, निच, छुत, अछुत, ठूलो, सानो जस्ता संस्कृतिका नाममा पलाएका विकृति छन् सबै यस्तै कन्जरभेटिभ विचार र चिन्तनका उपज हुन् । वेदले भन्यो– सबै समान छौ, समानताको व्यावहार । यसैबाट नै तिमीहरूको व्यवहार चल्छ ।

समानी वः आकूतिः समाना हृदयानि वः ।

समानमस्तु वो मनो यथा वः सुसहासति । (ऋग्वेद १०।१९०।४)

तर, व्यवहार हेरौँ त कस्तो छ ? गल्ती गरेको छ एउटाले, गाली खाइरहेको छ अर्कोले कस्तो बिडम्बना । होला, उद्देश्य उनीहरूको पनि नराम्रो नहोला । धर्मसंस्कृति संरक्षण गर्नुपर्छ भन्ने नै होला तर संरक्षण गर्ने नाममा यस्ता व्यवहार हुन थाले कि, जसका कारण धर्मसंस्कृति आफैँ थप सङ्कटमा पर्दैछ । जसलाई अछुत र दलितको कित्तामा उभ्याइएका छन् वास्तवमा तिनीहरू बिना न धार्मिक कृत्य पूरा हुन्छन् न संस्कार र संस्कृति नै धानिन्छन् । देवीदेवताको हतियार र गहना मात्र होइन उनीहरूका मूर्ति र तिनलाई राख्ने मन्दिरको निर्माणसमेत उनीहरू बिना सम्भव हुँदैन । शिवजीको त्रिशूल बनाउने पनि उनीहरू नै हुन्, विष्णुका चक्र बनाउने पनि उनीहरू नै हुन् । देवीको घण्ट बनाउने पनि उनीहरू नै हुन् । सबैभन्दा बढी तिनीहरूलाई बनाउने नै उनीहरू नै हुन् ।

उनीहरूले बनाएका र बजाएका बाजा बिना न कुनै माङ्गलिक कार्य हुन्छ न उनीहरूलाई अघि नलगाई त्यस्ता कार्य सम्पन्न गर्न सकिन्छ । लगाउने जुत्ता र कपडा सिलाउने उनीहरू नै हुन्छन्, खाने पकाउने भाँडा बनाउने उनीहरू नै हुन्छन् । जब कुनै पनि धार्मिक, सामाजिक, माङ्गलिक कार्य उनीहरू विना पूरा हुन्न भने उनीहरू आफैँ चाहिँ कसरी अछुत हुन सक्छन् ? उत्तर दिने कसले ? दिनुपर्ने तिनै समूहले हो जसले परम्पराको विरासत धान्नुपर्छ भनिरहेका छन् तर उनीहरू त्यस्तो कुरा सुन्नै चाहँदैनन् ।

थाहा छैन यस आलेखबाट अरू कति शब्दवाँण वर्षिने हो । अहिलेलाई यति नै भन्न सकिन्छ वर्षा भने पक्कै हुनेछ । तैपनि केही छैन भएको कुरा गर्नैपर्छ । देखेको कुरा बोल्नैपर्छ । यदि धर्मसंस्कृति संरक्षण गर्ने हो भने योभन्दा अर्को विकल्प नै छैन ।

प्रसङ्ग चल्दैछ तिहार पर्वको । जसले जे भने पनि यसको उद्देश्य हाम्रो आयु र आरोग्य बढाउने प्रयास गर्नु नै हो र यसले सिकाएको पाठ पनि त्यही नै हो । कसले कसरी लिन्छन् उनीहरूको कुरा हो तर धन जम्मा गरेर पूजा गरेको भरमा धनी बन्न सकिन्न भन्ने कुरा भने ध्रुवसत्य हो ।

लक्ष्मीको गति चञ्चल छ । उसलाई प्राप्त गर्न जम्मा पारेर गरिएको पूजाले होइन चलाएर र खेलाएर सकिन्छ । लक्ष्मीको विशेषता भनेकै जसले त्याग्न सक्छ उसैलाई पछ्याउने हो । समुद्र मन्थन गर्दा जब उनी प्रकट भइन् विष्णु बाहेक चाहने सबै थिए । यहाँसम्म कि वीतरागी ऋषिमुनिहरूसमेत ¥याल चुहाइरहेका थिए तर वरण भने तिनै विष्णुलाई गरिन्, जो पन्छिन खोज्दै थिए । अस्तु अहिलेलाई यति नै, बाँकी यहाँहरूको मर्जी ।

शुक्रबार, १९ कार्तिक, २०७८, बिहानको ०८:५९ बजे

सम्बन्धित खवर