जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई छुट छैन –प्रचण्ड

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको पक्षमा काम नगर्ने मन्त्रीहरुलाई तत्कालै हटाउने बताएका छन् । नेपाल संवत् ११४२ तथा नेपाली चाडपर्वको अवसरमा थिमि नगर कमिटिले बिहीबार गरेको शुभकामना आदनप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बीचमा केही समय जनतासँगको सम्बन्ध टुटेर माओवादी बिग्रिए पनि अब एक नम्बर पार्टी बन्ने दाबी पनि गरेका छन्।

‘प्रचण्ड नै बिग्रिसक्यो, प्रतिक्रियावादीसँग मिल्यो भनेर हिँड्नु भयो केही साथिहरु’, उनले भने, ‘कुनै बेला त यस्तो आयो, गुण्डाहरुले पनि माओवादीलाई हेपे वाईसीएललाई हेपे।’ दाहालले संघीयता विरोधीहरु शासन सत्तामा आएर अहिलेका उपलब्धी उल्ट्याउन खोजेको पनि आरोप लगाए। ‘संघीयताविरोधी तत्वहरु शासन सत्तामा आउने र हाम्रा एजेन्डा उल्ट्याउने षड्यन्त्र भए’, उनले भने, ‘प्रचण्ड जिउँदै रहँदासम्म यो आन्दोलन जागेर आउने रहेछ भनेर अहिले मलाई टार्गेट बनाउन खोजिएको छ।’ उनले हिजोका दिनमा माओवादी बिग्रिए जस्तो भएको बताए। ‘अब माओवादी एक नम्बर पार्टी बन्छ। जनतासँग बलियो सम्बन्ध हुँदैछ। हामी नयाँ पार्टी बनाउन हामफालिसकेका छौँ’, उनले भने।

प्रचण्डले संघदेखि प्रदेशसम्म आफूहरुको सत्ता आएको बताउँदै जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तत्कालै हटाउने पनि बताए। ‘जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै हटाउँछौँ, हामी मन्त्रीहरुलाई भनेका छौँ, जनताको पक्षमा वफादार नहुने हो भने पद रहँदैन’, उनले भने, ‘त्यही भएर अहिले मन्त्रीहरु जनपक्षीय काममा सक्रिय हुनुभएको छ।’

शुक्रबार, १९ कार्तिक, २०७८, बिहानको ०९:१४ बजे

सम्बन्धित खवर