प्रदेश १ मा एमाले र राप्रपाबीच चुनावी तालमेल, राप्रपाका दुई झापाली उम्मेदवार

 काठमाडौं,पुस २१ / आगामी माघ १२ गते हुने राष्ट्रियसभाको चुनावका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग प्रदेश १ मा चारजना मतदाता छन् । प्रदेशसभाका एक सांसद र तीनजना स्थानीय जनप्रतिनिधिले राप्रपाका तर्फबाट मतदान गर्न पाउनेछन् । चार मतदाताको मतभार १२० हुनेछ । चार भोटमात्रै रहेको राप्रपाले राष्ट्रियसभाका लागि प्रदेश १ बाट अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ । तर, प्रदेश १ का तीनवटा सीटमध्ये आफूले एकसीट पाए एमालेलाई सघाउन तयार रहेको राप्रपा नेताहरु बताउँछन् ।

‘हामीले एमालेसँग एकसीट मागेका छौं, पार्टीको उच्च तहमा यसबारे छलफल भइरहेको छ,’ राप्रपा स्रोतले भन्यो, ‘एमालेले राप्रपालाई एक सीट दियो भने प्रदेश १ मा एमाले र राप्रपाबीच चुनावी तालमेल हुन सक्छ ।’

आफ्नो पक्षमा मत नभए पनि एमालेसँग गठबन्धन गरेर राप्रपाका उम्मेदवार केन्द्रीय संसदमा आउने र राजतन्त्रको नारा घन्काउने रणनीतिमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभाको चुनावमा आफ्नो जित सुनिश्चित गर्नकै लागि भए पनि अहिले राष्ट्रियसभाको चुनावमा आफूहरुलाई गुन लगाइदिन सक्ने राप्रपा नेताहरुको आशा छ ।

प्रदेश १ मा राष्ट्रियसभाको चुनावमा मतदाताहरुको कुल मतभार ९३१२ छ । सत्तारुढ गठबन्धनसँग ४६६८ मतभार छ । एमालेसँग ४५२४ मतभार छ । १२० मतभार रहेको राप्रपाले एमालेलाई सघायो भने एमाले–राप्रपा गठबन्धनको मतभार ४६४४ पुग्छ । यो अवस्थामा सत्तारुढ गठबन्धनलाई जित्न २५ मतभार चाहिन्छ ।

स्थानीय तहका प्रमुख वा उपप्रमुखको १८ मतभार हुने भएकाले राप्रपाले सघाएको अवस्थामा एमालेले दुईजना जनप्रतिनिधि (३६ मतभार) आफूतिर तान्यो भने प्रदेश एकमा जित हात पार्न सक्छ । अर्थात् सत्ता गठबन्धनका दुई–तीनजना जनप्रतिनिधिहरु कारणबस अनुपस्थित बनेको अवस्थामा पनि एमाले–राप्रपाले जित्ने अवस्था आउन सक्छ ।

बिहिबार, २२ पुष, २०७८, बिहानको ०८:१३ बजे

सम्बन्धित खवर