अब विकासमा पाँचथर पछि पर्दैनः मौसम

पुस २१,२०७५, पाँचथर /  प्रदेश नम्बर–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) ले अब विकासमा पाँचथर पछि नपर्ने विचार ब्यक्त गर्नुभउको छ । पाँचथरमा व्यवस्थित खेलमैदान निर्माणका लागि ५० लाख रूपैयाँ सहयोग गर्ने बताउनुभएको छ ।

रूस्लान दशौँ फाल्गुनन्द गोल्डकपको आज उद्घाटन गर्दै मन्त्री आङ्बोले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ मा सहयोग गर्ने बताउनुभएको हो । फिदिम नगरपालिका क्षेत्रमा नयाँ सहर आयोजना कार्यालयले फिफा मापदण्ड अनुसारको रंगशाला निर्माणका लागि आवश्यक प्रक्रिया थालेको बताउँदै नयाँ सहर आयोजनासँग पनि प्रदेश सरकारले समन्वय गर्ने उहाँले बताउनुभयो ।

मन्त्री आङ्बोले जिल्लाको बिकासका लागि लागिपर्ने बताउनुभयो । उहाँले अखिल नेपाल फुटबल सँघ (एन्फा) सँग प्रदेश सरकारले २ बुँदे सम्झौता पनि गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्झौताको पहिलो बुँदामा प्रदेश–१ को सबै जिल्लाको स्थानीय तहहरूको सहभागितासहित जिल्लामा महत्वपूर्ण लिग खेलाउँदै मुख्यमन्त्रीस्तरिय फुटबल प्रतियोगिता गर्ने उल्लेख छ । यसका लागि प्रदेश सरकारले १ करोड बजेट बिनियोजन गरेको छ । सम्झौताको दोश्रो बुँदामा भने प्रदेशस्तरिय टिम, ‘ए’ डिभिजनका क्लबहरू र विदेशी टिमहरूलाई पनि आमन्त्रण गरेर मूख्यमन्त्री आमन्त्रण गोल्डकप आयोजना गर्ने उल्लेख गरेको मन्त्री आङ्बोले बताउनुभयो । यसका लागि पनि एक करोड रूपैयाँ नै बिनियोजन गरेको छ ।

यसँगै मुलुकको विकासको मापदण्ड नै खेलकूदले निर्धारण गर्ने भन्दै उहाँले आगामी आर्थिक बर्षमा प्रदेश–१ को खेलकूद क्षेत्रको विकासका लागि करिब १ अर्ब बजेट बिनियोजन गर्ने पनि बताउनुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश – १ को संसदीय दलकी सचेतक सीता थेबे (प्रमिला) सहित जिल्लास्थित विभिन्न राजनीतिक दलका जिल्ला नेतृत्वहरूको सहभागिता रहेको थियो ।

आइतबार, २२ पुष, २०७५, बिहानको ११:५१ बजे

सम्बन्धित खवर