अर्जूनधारा नपाले घरबहाल बाट २ करोड राजस्व उठायो

दमक । अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा २ करोड चार लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यो राजश्व ठेक्काबाहेकको आन्तरिक आयबाट उठ्ने कर, शुल्क, राजश्व रकम हो ।नगरपालिकाले यस आर्थिक वर्षमा पाँच करोड राजश्व संकलन गर्ने प्रक्षेपण गरेको थियो । बितेको आर्थिक वर्षमा २ करोड ५० लाख राजश्व उठाउने लक्ष्य लिइएकोमा ३ करोड २२ लाख रुपैयाँ संकलन भएपछि नगरपालिकाको राजश्व शाखाले यसवर्ष पाँच करोड राजश्व संकलन गर्ने महत्वकांक्षी लक्ष्य लिएको हो ।माघ २० गतेसम्म दुई करोडभन्दा बढी राजश्व उठेपछि महत्वकांक्षी लक्ष्य नजिक पुग्ने अपेक्षा गरिएको राजश्व शाखा अधिकृत डेनजनी आचार्यले बताए । उनका अनुसार सबैभन्दा बढी पुस महिनामा ५८ लाख ५४ हजार ८५६ रुपैयाँ राजश्व संकलन भएको थियो भने सबैभन्दा कम असोज महिनामा १५ लाख ९५ हजार ९०१ रुपैयाँ संकलन भएको थियो ।असोज महिनामा चाडपर्व परेकाले राजश्व संकलनमा कमी आएको उनको भनाइ छ । चालु आर्थिक वर्षको सुरु महिना साउनमा २५ लाख ७५ हजार २२२ रुपैयाँ संकलन भएको थियो ।नगरपालिकामा सबैभन्दा बढी राजश्व भूमि तथा मालपोत करबाट ४४ लाख ७८ हजार ६१० रुपैयाँ संकलन भएको छ । त्यस्तै, नक्सा पास दस्तुरवापत २९ लाख ५३ हजार ९७७ रुपैयाँ संकलन भएको छ ।नगरपालिकामा पहिलोपल्ट लागु गरिएको घर बहाल करवापत ६ लाख ११ हजार १९६ रुपैयाँ राजश्व संकलन भएको छ । त्यस्तै, सिफारिस दस्तुरवापत नगरपालिकाले ६२ लाख ८ हजार ८६९ रुपैयाँ राजश्व असुली गरेको शाखाले जनाएको छ ।यसपटक जग्गाको मूल्यांकनका आधारमा मालपोत र घरजग्गाको मूल्यांकनको आधारमा सम्पत्ति कर लागेकाले लक्षित राजश्व पूरा हुने शाखा अधिकृत आचार्यले बताए । ‘पहिलोपल्ट सम्पत्ति कर लागे पनि बाहिर हल्ला भएजस्तो नगरबासीलाई मार पर्ने गरी राजश्व दर तोकिएको छैन’, उनले भने ।गतवर्ष घरधुरी करबाट १५ लाख २२ हजार संकलन भएकोमा यसवर्ष सम्पत्ति कर लागेकाले सोाबटै घरधुरी कर असुलउपर भएको र सम्पत्ति कर लागु भए पनि वडा नम्बर १, २, ३, ४ र ७ का बासिन्दाले गत वर्षभन्दा यसवर्ष मूल्यांकनका आधारमा कम राजश्व तिर्नुपरेको उनको भनाइ छ ।नगरपालिकाले सम्पत्ति करबाट अहिलेसम्म चार लाख ४८९ रुपैयाँमा संकलन गरेको छ । बरु नगरपालिकाले निर्माण गरेको संरचनाबाट ५० वटा भाडामा लगाइएवापत बहाल बिटौरी कर १५ लाख ५४ हजार ४४२ रुपैयाँ असुल गरेको छ ।नगरपालिकाले प्रक्षेपण गरेको राजश्व ५ करोड पूरा गर्न अझै ५ महिनाभन्दा बढी अवधि छ । चालु आर्थिक वर्षको अन्तिम दुई महिनामा राजश्व बुझाउने सेवाग्राहीको चाप बढ्ने भएकाले लक्ष्य पूरा हुने शाखा अधिकृत आचार्यले बाताएका छन् ।

बिहिबार, २३ माघ, २०७६, बिहानको ०८:४७ बजे

सम्बन्धित खवर