२ जनालाई आङछिरिङले एक वर्षको तलब दिएछन्ः पूर्वमन्त्री 

आङछिरिङ शेर्पालाई नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री रोमी गौचन थकालीले ४० वर्षदेखि चिन्दा रहेछन्। जुनबेला आङछिरिङ साधारण ट्रेकिङ गाइडको रुपमा दिदीको शेर्पा सोसाइटी ट्रेकिङमा कार्यरत थिए। मुस्ताङको हाम्रो होटल ट्रेकिङ रुटमा पर्ने भएकोले त्यहाँ शेर्पाहरुको मात्र जमघट हुन्थ्यो।

शेर्पाहरु मेरो बुबाको पालादेखि हामीलाई अभिभावकको रुपमा हेर्थे। त्यो नाताले हाम्रो सामिप्यता झन् बढ्दै गयो। व्यापारिकभन्दा आत्मीय नाताले निकट भएर हामी करिब ३ वर्ष सँगै पनि बस्यौं।

त्यही बेलादेखि आङछिरिङ केही नयाँ काम गर्न खोज्थे। एउटै कुरामा सन्तोष गरेर नबस्ने उनको स्वभाव थियो। एकदिन उनले मसँग ‘दाइ बन्द व्यबसाय गर्न मन लागेको छ, सहयोग चाहियो’ भने। भइ नभई मैले केही सहयोग गरें। २०३९ सालमा युएसएआइडीको वातावरणसम्बन्धी परियोजनामा मैले मुस्ताङलाई राजनीतिक क्षेत्र बनाउने हिसाबले काम गरें। त्यो बीचमा एकदिन उनले म सँग दाई एयरलाइन्स खोल्न चाहन्छु तपाईं के भन्नुहुन्छ ? भने। मैले प्रोत्साहन गरें। उनले पैसा राख्नु पर्दैन, तपाईले गरेको सहयोगस्वरुप ४, ५ प्रतिशत शेयर तपाईंको नाममा राखिदिन्छु भने। मैले भने, ‘तपाईले सोध्नुभयो मलाई प्राप्त भएजस्तो भयो।’ व्यापारमा संलग्न भएँ भने हाम्रो सम्बन्ध बिग्रन्छ भनेर उम्किएँ। त्यसपछि पनि केही अप्ठेरो पर्दा उनी म कहाँ आउने गर्थे।

उनकी पत्नी चन्द्रा राई ब्रिटिश गोरखामा कार्यरत मेजरकी छोरी हुन्। राईकी छोरीसँग शेर्पाको प्रेम चलेछ। अन्ततः भद्रकाली मन्दिरमा भएको उनीहरुको विवाहमा केटा तर्फबाट अभिभावकको रुपमा म उभिएको थिएँ। विवाहको त्यो क्षण सम्झँदा मलाई असाध्यै भावुक बनाइरहेको छ।

२०६३ सालतिर उनी एकदम निराश भएका थिए। एकदिन ‘गौचन दाइ तपाईं घरमा हो भने म आउँछु’ भने। मैले घरमै छु भनेपछि घरमा आए। मैले ‘राम्रो गरेका छौ, अझ रामो गर’ भनेर बधाई दिएँ। उनले ‘यहाँसम्म आइपुग्न तपाईको साथ र सहयोग छ। अब अपर मुस्ताङमा होटल व्यबसाय विस्तार गर्न लागेको छु, त्यसमा मद्दत चाहियो’ भने। जसबाट कमाई नभए पनि त्यहाँका मान्छेले रोजगारी पाउँछन् भन्ने उनको सोचाइ थियो। मैले आफ्नो तर्फबाट सहयोग गर्न सधैं तयार रहेको बताएँ।

त्यतिखेर मर्म छुने गरी उनले भनेका थिए– ‘कहिलेकाँही दाइ मैले ठूलो गल्ती गरें कि जस्तो लाग्छ। पासाङ भाउजु बित्नु भयो। त्यसपछि हामीसँग ३०–३५ करोडको सम्पति थियो। त्यो बेला म युरोप, अमेरिकातिर गएर व्यापार गरेको भए कस्तो हुन्थ्यो होला। यो देश, यहाँका जनता, यो पहाड र मैले गरेको दुःख सम्झेर यहाँ कमाएपछि यहीँ लगानी गर्छु भनेर यहीँ बसें। तर विभिन्न निकायले दुःख दिने काम गर्छन्। हाम्रो आमातिरको नाता परेको सचिव हुँदैनन्। बाउतिरको काका डाइरेक्टर हुँदैनन्। त्यसैले कहिले अख्तियारको त कहिले ठूला करदाता कम्पनीको चिट्ठी पठाएर थर्काउने गर्छन। हामीले गलत पनि केहि गरेका छैनौँ । पसिना बगाएर काम गरेका छौं। तर पनि यसरी अनावश्यक दुस्ख दिँदा विरक्त लाग्छ।’

‘गौचन दाई मेरो ऋण सुन्नुभयो भने तपाईको मुटु फुट्छ तर भगवानको कृपाले मलाई बचाएको छ।’ भन्थे–९०० जना नेपालीलाई एयरलायन्समा रोजगारी दिएको छु। मैले अहिले हात झिकिदिएँ भने ती कर्मचारीको हालत के हुन्छ? यसबाहेक अन्य क्षेत्रमा हात हालेको कुरा पनि उनी सुनाउँथे। एयरलायन्स आफ्नो व्यबसायको आधार भएकाले ढल्नचाहिँ दिन्न तर धेरै विस्तार गरेर लैजान सक्ने नेपालमा परिस्थिति छैन दाइ भनेर २, ३ वर्ष अघि भनेका थिए। बारम्बार उनको गुनासो नेपालमा काम गर्ने वातावरण छैन भन्ने नै थियो।

सबै नेतासँग बराबर सम्बन्ध
राजनीतिक नेतृत्वसँग संगत गर्ने तर आफू पटक्कै राजनीति गर्दैनथे । सोलुखुम्बुमा कुनै पनि बेला चुनाव लड्दा जित्ने अवस्था थियो। मैले ‘तिमी चुनाव लड’ भन्दा ‘दाई नेपालका मान्छेले कुरा बुझ्दैनन्, मैले राजनीति गर्न लागेभने मेरो व्यावसाय चौपट हुन्छ’ भनेर हाँस्थे मात्र।

आफूलाई एमालेका रुपमा चित्रित गरेकोमा उनी खुसी थिएनन्। भन्थे ‘केपी ओली मैले आदर गर्ने नेता’ भएकाले भूकम्पले एमालेको कार्यालय ध्वस्त बनाएपछि चाहनुहुन्छ भने हाम्रो घरमा अफिस राख्न सक्नुहुन्छ भनेको हुँ। केपी ओलीले मजस्ता हजारौं आङछिरिङ पाउँछन्। केपी ओलीलाई म चाहिने भन्ने कुरा भ्रम हो भन्थे।
उनी भन्थे ‘गिरिजाप्रसाद कोइरालाको पहिलो मन्त्रिपरिषद् बैठकबाट एयरलाइन्स खोल्न पाउने सौभाग्य पाएँ। कुईरेको भारी बोकेर हिड्ने शेर्पाको छोरो आङछिरिङ शेर्पा भनेर जुन रुपमा चिनिएँ त्यो नेपाली कांग्रेसको खुला आर्थिक नीतिकै कारण हो। म लोकतन्त्रबादी हुँ तर सबै नेताहरुलाई सम्मान गर्छु। सकेको सहयोग पनि गर्छु।’

नेताहरुसँग सम्बन्ध नहुने हो भने नेपालको कर्मचारीतन्त्रले व्यबसाय एक पाइला पनि अगाडि बढाउन नदिने भएकाले सबै पार्टीका नेताहरुसँग मेरो समदुरीको सम्बन्ध छ, उहाँहरुलाई आदर गर्छु, भन्थे।

उनले मुस्ताङमा होटल विस्तार गर्न खोजेपछि मैले त्यहाँका व्यवसायीलाई ठूला होटल आएर तपाईंहरुको व्यापार बन्द हुने होइन भनेर सम्झाएँ। बाहिरबाट पोखरा र काठमाडौंमा मान्छे बस्न नआएको भए त्यहाँको यसरी विकास हुने थिएन। त्यसैले बाहिरको मान्छेलाई आउन दिनुपर्छ। उनीहरुले ठूला होटल खोल्ने हो। हाम्रो साना व्यापार उनीहरुले खोस्ने होइन। त्यहाँ त उनीहरुले हाम्रै गाउँका मानिसलाई रोजगारी दिन्छन्। नाफाका लागि आउन खोजेका होइनन् भनेर सम्झाएँ। त्यसपछि उनले चराङ, लोमान्थाङ, घिरिङमा जग्गा लिएका छन्।

अनौठो स्वभाव
साधारण जीवन बिताउँथे उनी। जहिले पनि कटनको पाइन्ट र एउटा टिसर्ट लगाउने। ‘अफिसियल ड्रेस पनि किन मेन्टेन गर्दैनौ’ भनेर सोध्दा उनी भन्थे ‘दाइ म शेर्पाको छोरो। भरिया भएर हिडेको, अहिले एयरलाइन्स चलाएको छु। उपल्लो तहमा मेरो काका, मामा कोही छैन। म सुटबुटमा हिडें भने मलाई बस्न दिदैनन्।’

जोमसोममा रहेको क्याप्टेन आरबी प्रधानको ५ तारे होटल जोमसोम रिसोर्ट पनि उनले लिएर संचालन गरेका थिए। भूकम्पबाट क्षति पुगेको होटल पुनर्निर्माण गरेर सायद् अहिले तयारीको अन्तिम चरणमा छ होला।

एकदिन हुम्लाको मान्छे आएर मलाई जागिर लगाइदिन भने। त्यसपछि मैले आङछिरिङसँग सक्छौ भने हेरिदेउ न भनें। उनले हुन्छ पठाइदिनु भने। उनले यति एयरलाइन्सको जुनियर स्टाफको एक बर्षको तलब बराबरको पैसा एकैपटक दिएर ती दुईजनालाई पठाएछन्।

तिनीहरुले जागिर खाए होलान् भन्ने मैले सोचें। पछि फेरि जागिर खान पर्यो भनेर मकहाँ आए। फोन गरेर ‘ए छिरिङ ती दुईजनालाई रोजगार दिन सकेनौं’ भनेको त उनले हाँस्दै भने, ‘नेताको मान्छेलाई मैले जागिर ख्वाए भने त मेरो एयरलाइन्स चल्दै चल्दैन। ती मान्छेले यहाँ आएर नेतागिरी गर्छन्। अनि मेरो ९०० जना स्टाफको भविष्य के हुन्छ? त्यसकारण जागिरचाहिँ दिइन, एक बर्षको तलब दिएर पठाएँ।’ उनको कुरा सुनेपछि मेरो अन्तरआत्मामा धेरै कुरा खेल्यो।

बुधबार, २२ फागुन, २०७५, बिहानको १०:५६ बजे

सम्बन्धित खवर