झापामा हावाहुरीसहित वर्षा, मौसम विभाग भन्छ, दुई दिन सतर्क रहनुस्

चैत २३, २०७५ झापा/  झापामा यो वर्षकै तुलनामा अत्यधिक वर्षा भएको छ । देशभरिकै मौसम बदली भई केही ठाउँमा मेघगर्जन सहित पानी परिरहेको छ देशका मध्य भेगका अधिकांश स्थान, पूर्व र पश्चिमका केही स्थानमा मौसम बदली भएर मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसोपख मौसम केही खुले पनि शनिबार बेलुकीसम्मै मौसममा पूरै सुधार नआउने महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्। पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम बदली भई केही ठाउँमा पानी परेको उनले बताइन् ।

‘यो प्रणाली अहिले काठमाडौंसहित मध्य क्षेत्रमा धेरै देखिएको छ’, उनले भनिन्, ‘यसकै प्रभावले उपत्यका र देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने भएकाले सतर्कता अपनाउनुपर्छ।’ पश्चिमको दार्चुला र पूर्वको ताप्लेजुङ आसपास मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ।

झण्डै दुई घण्टा पानी परेपछि केही समय मौसम खुल्ने सम्भावना रहे पनि आज दिउँसभरि नै पानी पर्ने सम्भावना रहेको छ । आइतबार र सोमबार पनि मौसम खुल्ने सम्भावना कम रहेको महाशाखाको अनुमान छ ।

शनिबार, २३ चैत, २०७५, बिहानको ११:५६ बजे

सम्बन्धित खवर