सर्पदंशबाट झापामा एक सातामा दुइजनाको मृत्यु

२३ जेठ, झापा /  उपचार केन्द्रको अभावले एक साताभित्रै गाउँपालिकामा विषालु सर्पको डसाइबाट दुईजनाको मृत्यु भएको छ।

कचनकवल-७ खेरिबारीकी ४३ वर्षीया रामकुमारी कुँवरको गत शनिवार बिहान मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। शनिवार बिहान ८:२५ बजे घरभित्रै सरसफाइको काम गरिरहेका बेला मुसाले बनाएको दुलोभित्र रहेको विषालु सर्पले उनको खुट्टामा डसेको थियो।

सर्पले डसेपछि परिवारका सदस्यले उनको खुट्टालाई ट्युबले बाँधेका थिए। ट्युबले बाँधेको देखेपछि स्थानीयले तत्काल खोल्न लगाएर उपचारका लागि मोटरसाइकलमा चारआलीस्थित सर्पदंश उपचार केन्द्रले लगेका थिए।

उपचार केन्द्रमा पुग्दा ९:१० बजे भएको थियो। त्यस अवधिमा उनको शरीरभरि विष फैलिसकेको भनिएकाले उपचार केन्द्रमा आइसियु नहुँदा थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको थियो।

यस्तै‚ जेठ १८ गते परिवारजनले उपचारका लागि ढिलासुस्ती गराउँदा कचनकवल गाउँपालिका-४ स्थित फर्कागाछीका ५९ वर्षीय चवनलाल गणेशको गोमन सर्पको डसाइबाट मृत्यु भएको थियो। नजिकैको खेतबारीमा गाईबस्तु चराउन गएका गणेशलाई परालको कुनिउँमा बसेको सर्पले डसेको थियो।

उनलाई उपचारका लागि सर्पदँश उपचार केन्द्र नलगेकी सुरुमा धामी झाँकीकहाँ लगेका थिए। त्यहाँ उपचार सम्भव नभएपछि मात्र सर्पदंश उपचार केन्द्र लैजाँदा उनको मृत्यु भएको थियो।

आइतबार, २३ जेठ, २०७८, बिहानको ०९:२० बजे

सम्बन्धित खवर