‘चित्रगुप्तको ल्यापटप’ले समाजलाई ब्यूँझाईदिन्छ

विमल लामिछाने

         कथासङ्ग्रहका सबैजसो कथा पाठकलाई पट्यार नलाग्ने, बरु थप उत्सुकता जगाउने, पढ्दैजाँदा झन पढौंपढौं लाग्ने छन् । कथा रोमान्टिक र उत्कृष्ठ छन् । कथाकार बाँस्कोटाको यो कथासंग्रह नयाँ पुस्ताकालागि प्रेरक बन्नसक्छ । कथा पढ्दै जाँदा रोचकता थपिँदै जान्छ भने कुनै कथा पीडा भरिएका र राजनीतिका नाममा भएका ज्यादतीले खल्लोपना थपिदिएको छ । हेपिएका, धनसम्पत्ति लुटिएका, दमनमा परेका महिला पात्रहरूलाई न्यायका प्रश्नहरुपनि तेर्सिएका छन् । हरेक कथाले केही सन्देशभने बोकेकै देखिन्छ ।

  विमल लामिछाने

==================

कोरोनाले मुलुक थलिएको बेला लकडाउनको सदुपयोग गर्दै कथाकार बाँस्कोटा धनञ्जयको ‘चित्रगुप्तको ल्यापटप’ कथासङ्ग्रह पढ्ने मौका मिल्यो ।
चित्रगुप्तको ल्यापटपभित्र कागजको मण्डप, शिवजीलाई पानी, सिउँडी, रोल नं. सिक्स, फोटाकी स्वास्नी, पहिली श्रीमतीलाई चिठी, मेरी छोरीको बाबु, फ्रेण्ड रिक्वेस्ट, भावना भर्सेस भावना, चित्रगुप्तको ल्यापटप, छोरो, धुलोको गलैँचा, पानीको दियो, कालीगण्डकी र म, सीमान्त जेनीहरू गरी पन्ध्रओटा कथा समाबेश छन् ।
कथाकार बाँस्कोटाका कथामा समाजमा हेपिएका र पीडित बनेका पक्षलाई राहत दिलाउन खोजेको भने अवश्य छ । कथाले समाजका विषमता, विसङ्गति र अन्यौलग्रस्त परिस्थितिको मिलिन ढंगले चित्रण गरेको पाइन्छ । सङ्ग्रहमा प्रस्तुत कथाहरूमा भएका समसामयिक सन्देश, प्रस्तुतिको नवीनता, र सरसताले पाठकलाई आकर्षण गर्ने क्षमता राखेका छन् । कथा पढ्दै जाँदा विकृत हुँदै गएको आजको समाजको जग सुधार्दै भविष्य उज्यालो बनाउनु कथाकारको मुख्य उद्देश्य हो भन्ने प्रष्ट हुन्छ । बर्गीय र लिङ्गीय विभेदले ओतप्रोत भएको विकृत समाजलाई ब्यूँझाउने प्रयत्न नै कथासङ्ग्रहको मूल सिद्धान्त हो भन्न सकिन्छ ।
कथासङ्ग्रहका सबैजसो कथा पाठकलाई पट्यार नलाग्ने, बरु थप उत्सुकता जगाउने, पढ्दैजाँदा झन पढौंपढौं लाग्ने छन् । कथा रोमान्टिक र उत्कृष्ठ छन् । कथाकार बाँस्कोटाको यो कथासंग्रह नयाँ पुस्ताकालागि प्रेरक बन्नसक्छ । तथापी कथाका विचविचमा प्रयोग भएका भर्सेस, रिक्वेष्ट, सीमान्त, ल्यापटप, अवयव, चित्रगुप्त, जडसूत्रवाद, आल्कोहलिक सिन्ड्रम, ब्लेस यु फर बेवी सन, बसिला, जोतारा, याक्साजस्ता भाषिक शब्दहरुले नेपाली भाषामात्रै बुझ्नेहरुकालागि कथा पढ्दा सलल बगिरहेको अवस्थामा अवरोध र अन्यौल पनि श्रृजना गरेको छ ।
कुनै कथा पढ्दै जाँदा रोचकता थपिँदै जान्छ भने कुनै कथा पीडा भरिएका र राजनीतिका नाममा भएका ज्यादतीले खल्लोपना थपिदिएको छ । हेपिएका, धनसम्पत्ति लुटिएका, दमनमा परेका महिला पात्रहरूलाई न्यायका प्रश्नहरुपनि तेर्सिएका छन् । केही कथाहरु त महिलामूक्तिकैलागि चलाईएको बहसजस्तो लाग्छन् । हरेक कथाले केही सन्देशभने बोकेकै देखिन्छ ।
चित्रगुप्तको ल्यापटपमा कथाकारले समयको वस्तुस्थिति, समयले सिकाएको नैतिक चेतना र समाजमा घट्ने घटनाहरुको जिवन्त परिवेश पाइन्छ । संग्रहित कथाहरुमा कथाकारको आफ्नो मौलिक लेखनशैलीको सशक्त प्रस्तुति छ ।
यो कथा सङ्ग्रहको पहिलो कथा कागजको मण्डप हो । यो कथामा क्याम्पसमा विद्यार्थीमात्र होइन शिक्षकहरू पनि दलअनुसारका भएको, विद्यार्थी सङ्गठनले जसजसको नाम क्याम्पस प्रशासनलाई दिन्थे उनीहरूको नाम फ्रिसिपमा ल्याउने गरेको । दामोदर होटलमा पसेर कमैमात्र पैसा तिरेर खाने गरेको । बसमा पनि उसको नाम लिएपछि कन्डक्टरले भाडा नमाग्ने, राजनीतिक आडमा रवाफ कसरी रहेको हुन्छ भन्ने कुरा देखाउँदै विद्यार्थी राजनीतिको अवस्थालाई प्रस्तुत गरेको पाइन्छ ।
‘शिवजीलाई पानी’ कथासङ्ग्रहको दोस्रो कथा हो । यस कथामा समयले हर कुरामा पहिलो बनाएको पारिवारिक विरासत जनयुद्धका कारण एकाएक हल्लिएर गाउँबाट विस्थापित भई सहरमा डेरा बस्नुपर्दाको समस्या कथामा प्रस्तुत गरिएको छ । सोमबार बिहान शिवजीलाई पानी खन्याउन खोज्दा घरधनी रमाकी दशबर्से छोरी मनिकाको टाउकाभरि पानी खनिएपछि रमा र डेरावालको भएको द्वन्द्व, सातदल र माओबादीबिच दिल्लीमा बाह्रबुँदे सम्झौता भएर पनि पीडितले न्याय पाउन नसकेको कथा रहेको छ ।
सङ्ग्रहमा ‘सिउँडी’ तेस्रो कथाका रूपमा रहेको छ । यो कथा, घर छोडेर घर खोज्दै बस्ने बिसङ्गत अनि उत्तराधुनिक मान्छेहरूको कथा हो । यसमा नीलकण्ठको मनोविज्ञान र परिवारको कथा प्रस्तुत गरिएको छ । कथामा पाँचथर, झापाको जलथल, धरान, इटहरी र भारत आदि स्थानगत परिवेशका रूपमा आएका छन् । महिला अधिकारका ठूलाठूला स्वरमा कुरा सुन्दा ताली बजाउने र भोटै हाल्ने निलकण्ठको परिवारिक घटना रहेको छ ।
सङ्ग्रहको चौथो कथा हो ‘रोल नं. सिक्स’ । यो कथा निक्कै रोमान्टिक पनि छ । कथामा शिक्षा मन्त्रालय, विश्वविद्यालय, आदर्श शिक्षा सदन, विराट्नगर आदि स्थानगत परिवेशका रूपमा आएको छ । गणित विषयका शिक्षक लय सरले ६ कक्षालाई विशेष स्पेस दिन्छन् । घण्टी लाग्नासाथ कोठामा छिर्छन् । समयभरि कक्षामा बिताउँछन् । मुहारमा चमक देखिन्छ । उमङ्ग देखिन्छ । आनन्दको चरमोत्कर्ष देखिन्छ । मुस्कुराउँदै कक्षामा छिर्छन् र मुस्कुराउँदै कक्षाबाट बाहिरिन्छन् तर उनी अरू कक्षाबाट बाहिर निस्कँदा निरास देखिन्छन् । कथाकी पात्र कक्षा १२ की रक्षा शारीरिक रूपले जति अब्बल थिई, त्यति नै मानसिक रूपले अब्बल थिईन् । उनका तिनै पक्षहरु नजिकबाट नियालिरहन्छन् लय सर । उनको सुन्दरतामा निखार आइरहेको थियो । रक्षाको रोलनम्बर पनि ‘सिक्स’ नै हुन्छ, एकदिन रक्षा अनुपस्थित भएपछि लय सरमा निराश आउँछ,एकाएक चमक घट्छ, रक्षाको विराटनगर गएको थाहा पाएपछि सरको मन नै उडेजस्तो हुन्छ । यो कथाले एउटा शिक्षकको कोरा बुझाइ, गिद्धे नजर र मनोविज्ञानले कसरी घर गरेको हुन्छ भन्ने कुरा प्रस्तुत गरिएको छ ।
‘फोटाकी स्वास्नी’ पाँचौँ कथा हो । वैदेशिक रोजगारीले निर्माण गरेको र समयले सिर्जना गरेको अकल्पनीय कथा हो । कथामा झापाको दमक र धरमपुर, इलामको मङ्गलबारे, विराट्नगर, चितवन, दुबई आदि स्थानगत परिवेशका रूपमा आएका छन् । महेश दुबई गएको सात वर्षपछि कोरोनाको विश्वव्यापी माहामारीले गर्दा लकडाउन हुन्छ र आउन पाउँदैन । इलाम मङ्गलबारेकी कल्पना रिजालसँग बिहे हुन्छ तर फोटाको बिहे मान्छेसँग । अर्थात मान्छेको बिहे फोटासँग । फोटाकी स्वास्नी हुनुको अनुभूति कल्पनाले गर्छिन् । महेशको दुबईमा मृत्यु भएको खवर आउँछ । त्यसपछि विदेशबाट सबैथोक आयो तर महेशको शरीर र श्वास कहिल्यै आउँदैन । कथामा कल्पनाजस्ता कयौ महिलाको जिन्दगी तरबारको धारमा रहेको अवस्थालाई प्रस्तुत गरिएको छ ।
सङ्ग्रहमा ‘पहिली श्रीमतीलाई चिठी’ छैटौँ कथाको क्रममा रहेको छ । यो कथामा शर्मिष्ठा बितेको सातवर्षपछि उनका श्रीमान जयस्तुले शर्मिष्ठालाई पश्चात्ताप पोखेर लेखिएको पत्रात्मक शैलीको कथा छ ।
सातौँ कथा ‘मेरी छोरीको’ बाबु नामको छ । यो कथामा वैदेशिक रोजगारीले जन्माएको अकल्पनीय चित्र प्रस्तुत गरिएको छ । यस कथामा अधुरा सपनाहरूसँगै मर्न हिँडेको पुरुषसँग बाँच्न हिँडेकी स्वास्नी मानिसले आफ्नी छोरीको बाबु बन्न गरिएको आग्रह र जोडिएको अनौठो नाता कथामा प्रस्तुत गरिएको छ ।
आठौँ कथा हो ‘फ्रेन्ड रिक्वेस्ट’। कथामा मनोविज्ञान अथवा खण्डित मनलाई इलेक्ट्रोनिक माध्यमबाट प्रस्तुत गरिएको छ । यस कथामा अभयलाई पैसाको आवश्यकता थियो । उसमा पैसा नहुनुको पीडा थियो । अभय आफ्नो सुन्दर भविष्य बनाउन भन्दै हिँडेको र हिंसात्मक मुलुक इराकमा बन्दुकको काखमा पुग्न बाध्य भएको छ । कथामा केहीले जीवनलाई भनेको कमाउने र कमाएको खाने भाँडोको रूपमा लिएका छन् । जीवनलाई यन्त्र सम्झेका छन् । जीवनलाई पैसा वा कमाइसँग जोडेर हेर्ने भौतिकवादी हुँदै गइरहेको समाजलाई प्रस्तुत गरिएको छ ।
त्यसैगरी सङ्ग्रहमा ‘भावना भर्सेस भावना’ नवौँ कथाको क्रममा रहेको छ । यसमा वैदेशिक रोजगारीले व्यक्ति र समाजमा ल्याएको परिवर्तन कथामा प्रस्तुत गरिएको छ । यस कथामा पैसा पानी हो, साबुन हो । यसले सबैथोक पखाल्छ । मान्छेका काला दागहरूलाई पनि सुकिलो बनाएर टल्काइदिन्छ तर जीवनमा सम्पत्तिले खुसी दिन्छ भन्ने सत्य नभएको र आदर्शले जीवनको रथ नचल्ने कुरा कथामा देखाइएको छ । यो कथापनि पछिल्लो समय समाजमा भइरहेका र घटिरहेका घटनाहरुको प्रतिनिधी बनेर प्रस्तुत भएको छ । यो कथा पढिसकेपछि पनि पुन पढौंपढौं लाग्छ । यो कथाले समाजलाई गहिरो सन्देश पनि दिएको छ र पैसाले सबैथोक पखाल्छ भन्नेहरुलाई गतिलो झापड दिएको छ । कथा जिवन्त छ ।
दसौँ कथा ‘चित्रगुप्तको ल्यापटप’ हो । कथासङ्ग्रहको नाम नै यसै कथाबाट राखिएको छ । यस कथामा यमराजको कक्षा छ भनिएको छ । चित्रगुप्तको एसिस्टेन्ट ‘कस्मिक’ सर्वरले काम गरिरहेको छ । हरेक मान्छे एकपटक जानैपर्ने ठाउँको सपनाभित्रको कहानी प्रस्तुत छ । अनुष्ठाका श्रीमानले आफूलाई अपाङ्ग बनाएको, दूव्र्यवहार गर्दै धर्म, संस्कृति, परम्परा र नैतिकतालाई लातमार्ने गम्भीर अपराध गरेको आधारमा चित्रगुप्तसमक्ष अनुष्ठाका विरुद्घ उजुरी दर्ता गरेका छन् तर ती आरोपहरू आरोप नभएर प्रेमका आयामहरू थिए, जुन कुरा श्रीमानले बुझेकै हुँदैन । कथामा अनुष्ठाका श्रीमानले सन् २०१७ मा सम्पन्न भएको क्रिकेट फाइनलको हाइलाइट हेर्दै नाकाबन्दी लगाएर हैरानी दिएको इन्डियाविरुद्ध लागेर पाकिस्तानी टिमलाई समर्थन गरेको देखाएर खेलकुदमा पनि राजनीति हुने गरेको सन्दर्भ उल्लेख गरिएको छ । कथामा नारीका मन र शरीरहरू कल्पित र विभाजित भएर उत्पन्न हुने अन्यौल कथामा प्रस्तुत गरिएको छ । कथासङ्ग्रहको मूलकथा नै यही हो ।
कथाकार बाँस्कोटाको ‘छोरो’ एघारौँ कथा हो । यो कथा अनिश्चिततामा भरोसा राखेर बाँच्ने मान्छेहरूको कथा हो । यसमा बर्तमान राजनीतिको चित्र प्रस्तुत गर्न खोजिएको छ । हरेक कुरामा भएको राजनीतिले शोभा नदिएको देखाउन खोजिएको छ ।
बाह्रौँ कथा ‘धुलोको गलैँचा’ हो । यस कथामा पुरुष पात्र एउटी अत्यन्तै सरल सामान्य र निर्दोष चिया पसले युवतीप्रति आकर्षित हुँदै जानुको परिणाम देखाइएको छ ।
सङ्ग्रहमा तेह्रौँ कथाको क्रममा ‘पानीको दियो’ रहेको छ । कथामा हजुरबा पुस्ताको राजतन्त्र र काकाबाबु पुस्ताको गणतन्त्रप्रतिको अनुराग र राजनीतिको पुस्तान्तरण रुप प्रस्तुत गरिएको छ ।
‘कालीगण्डकी र म’ चौधौँ कथा हो । यो कथामा प्रशान्तका बाबु गाविसका अध्यक्ष हुन्छन् । शिलाका बाबु पुरोहित । शिलाले गर्दा अरू केटीहरू पनि बिग्रन्छन् र विद्यालयको वातावरण बिगारेको आरोप लाग्छ तर गाविस अध्यक्षको छोरो भएकाले प्रशान्तलाई कुनै कारबाही गरिँदैन । शिलाको विवाह अर्कै पुरोहितका छोरा गोकुलसँग हुन्छ । साथी फडिन्द्रसँग लखनौ गएको गोकुल तीनवर्षसम्म फर्किदैनन् । प्रशान्तले प्रियासँग प्रेम विवाह गर्छ । प्रशान्तबाट प्रियालाई छोडाउन धेरै प्रयास गरिन्छ । प्रियाको अबको बाटो अँध्यारामा पुग्छ । राति मुसामार्ने विष खाएर आत्महत्या गर्छिन् ।
कथा संग्रहभित्रको अन्तिम कथा ‘सीमान्त जेनीहरू’ रहेको छ । यस कथामा यशोधरा र भोन वेस्टफालेन, पर्सियन कुलिन परिवारमा जन्मिएकी धनी बाबुकी छोरी एवम् कार्ल माक्र्ससँगै हुर्केकी जेनीका माध्यमबाट नारीका मन र शरीरमा उत्पन्न अन्यौल र निराशा प्रस्तुत गरिएको छ । यो कथामा नारीको लगानी, सीप र कलालाई समाजमा कसरी लुकाइएको हुन्छ । उनीहरु सिर्जना हुन् तर पिडित छन् भन्ने भाव कथाले मिलिन ढंगमा उठाएको छ ।
कथाकार बाँस्कोटा धनञ्जयले यस कथासङ्ग्रहमा यथार्थको प्रतिविम्बन प्रस्तुत गरेको पाइन्छ । नेपाली समाजको विशिष्ट सामाजिक सांस्कृतिक परिवेशमा घट्ने घटनालाई जस्ताको त्यस्तै प्रस्तुत गर्ने जमर्को कथाकारको रहेको पाइन्छ । कथामा राजनीति, दर्शन, त्योभन्दा बढी मानव अस्तित्वको चिन्तन छ । कथामा वर्तमान विश्वका वैचारिक निर्माताहरूको विमर्श छ ।
वि.सं. २०२६ साल वैशाख २४ गते फिदिम ७ रानीटार पाँचथरमा पिता धनपति बाँस्कोटा र माता झुमाकुमारीका पुत्ररत्नका रूपमा जन्मिनुएका बाँस्कोटा धनञ्जयको यो कथामा साइबर संस्कृति, वर्गीय चरित्र, सामाजिक मनोविज्ञान र यथार्थपनको सौन्दर्य पक्षको वर्णन गरिएको पाइन्छ । अन्याय र अत्याचार विरुद्ध हटेर हैन डटेर सामना गर्नुपर्छ भन्ने शिक्षा सबैजसो कथाले ब्यक्त गरेका छन् । कथाकार बाँस्कोटा धनञ्जयको प्रगतिशिल साहित्यिक यात्रा सफलताको शुभकामना ।      [email protected]

                                                  

मङ्गलबार, २२ असार, २०७८, दिउँसोको १२:३३ बजे

सम्बन्धित खवर