काठ खोपेर मासिक ५० हजार आम्दानी

   बगिरहेको खोलाको किनार । थाक लगाइराखेको काठको मुढाहरु । मुढा र औजारसँग खेल्दै, हरेक दिनको उजेली र अँधेरीसँग पौंठेजोरी गर्दै । आफ्नो श्रम र मेहनतमा रमाउँदै । केही थान झम्पल । धारिलो छिनाहरुले काठ खोप्दै । परिवारको खुशीहरु मनभरि साँच्दै विगत २० वर्षदेखि काठसँगै सपना खोपिरहेका छन् ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ का कुमार बिक ।
उनी यतिबेला तेह्रथुमको खोरुङवा खोलाको किनारमा काठका सामग्री बनाउँदै आएका छन् । पछिल्लो समय काठको सामग्री बनाउने चुदारा पेशा लोप भइरहेको बेला बिकको भने आम्दानीको गतिलो श्रोत नै बनेको छ । खोलामा बग्दै गरेको पानीको सहाराले मोटर चलाउँदै काठ कुँदिरहेका हुन्छन् उनी । उनी काठ कुँद्ने कलामा निपूर्ण छन् । उनी भन्छन्, “म मेरो पेशाप्रति खुशी छु । परिवारसँग आफ्नै देशमा काम गर्दै आएको छु । विदेशमा हुने कमाइभन्दा राम्रै आम्दानी हुन्छ । यही आम्दानीले मेरो परिवार धान्दै आएको छु । मैले बनाएको सामग्री खरिदका लागि ग्राहकले फोनबाटै माग गर्छन् । सोहीअनुसार सामान बनाएर बिक्री गर्ने गरेको छु ।”
युवाहरु गाउँमा श्रम र मेहनत गर्न रुचाउँदैनन् । रोजगारको खोजीमा विदेशमा पसिना बगाइरहँदा बिकले भने काठको सामग्री बिक्रीबाट मात्रै मासिक ४० देखि ५० हजारसम्म आम्दानी लिँदै आएका छन् । आकर्षक र राम्रा सामग्री उत्पादन गर्दै आएका बिकले स्थानीय बजारसँगै ताप्लेजुङ जिल्ला सदरमुकाम फुङलिङमा निर्यात गर्दै आएका छन् । पछिल्लो समय यो पेशाप्रति युवापुस्ताले बेवास्ता गरिरहँदा उनको भने जीवन निर्वाह गर्ने माध्यम नै बनेको छ । चुँदारा पेशा उनी सानैमा दाजुबाट सिकेका हुन् । बिकले काठबाट बन्ने धेरै प्रकारका सामग्रीहरु बनाउँदै आएका छन् । उनी तेल राख्ने चौथा, दूध जमाउने ठेकी, तोङवा, हसिया राख्ने खुर्पेटा, अन्य सामान राख्ने आरी जस्ता सामग्री बनाउने गरेका छन् । पाँच सन्तान आमा, बुबा र श्रीमतीको गरी ९ जनाको परिवार छ ।
“सरकारले विभिन्न सीपहरु दिँदै आएको छ भन्ने सुनेको छु । युवालाई व्यावसायिक बनाउन अनुदान पनि दिन्छ रे । खै मलाई त आजसम्म न कुनै सीप नै दिएको छ न त कुनै अनुदान नै सरकारको सहयोग कस्तो हुन्छ मलाई थाहा छैन । हामी जस्ता गाउँमा केही रोजीरोटी गर्दै आएकालै सरकारले नदेख्दा भने दु:ख लाग्छ,” उनले भने । छोराछोरी पढाउनदेखि घरपरिवार खर्च यही पेशाले चलाउँदै आएका छन् । स्वास्थ्यका लागि पनि काठका भाँडा फाइदाजनक मानिन्छ ।
तर सहरी क्षेत्रमा सजावटका लागि राख्ने गरिएका यस्ता काठका भाँडा गाउँमा भने विस्तारै हराउँदै जान थालेका छन् । आधुनिक औजार र प्रविधिको प्रयोगका कारण यस्ता काठका भाँडा बिस्तारै हराउन थालेका हुन् । वर्षौंदेखि काठका भाँडा कँुदेर जीविका चलाउँदै आएका चुँदारा जातिका नयाँ पुस्तामा सीप हस्तान्तरण हुन नसक्दा यो पेशा लोप हुँदै जान थालेको छ भने अर्कातर्फ यो पेशा व्यावसायिक पनि हुन सकेको छैन । खमारी, ओखर, टुनी, भलायो जस्ता काठहरुबाट सामग्री उत्पादन गर्दै आएका छन् ।

शनिबार, २१ साउन, २०७९, साँझको ०७:२४ बजे

सम्बन्धित खवर