स्थानीय पर्यटकको गन्तब्य बन्दै मिक्लाजुङ

– कृषिमा रमाउने र गरिखानेहरुको गाउँ मिक्लाजुङ –

दमक, २१ भाद्र /  प्रदेश १ को राजधानीबाट उत्तरी भूभागको पर्यटकीय गाउँपालिका हो मिक्लाजुङ । कृषियोग्य जमिन २६ सय २० हेक्टर क्षेत्रफलमा कृषि गरेर कृषि कर्ममा रमाउने र गरिखानेहरुको गाउँ भनेर चिनिन्छ यो गाउँलाई ।
उत्तरपूर्वी मोरङका यी चारवटा गाविसलाई मिलाएर मिक्लाजुङ गाउँपालिका बनाईएको छ । यस गाउँपालिकाको नाम भने गाउँपालिकाको उत्तरमा रहेको मोरङको सबैभन्दा अग्लो पहाड मिक्लाजुङको नामका आधारमा राखिएको हो ।
मोरङको मिक्लाजुङ गाउँपालिका जिल्लाको उत्तरपूर्वी भागमा पर्दछ । यसको पूर्वतर्फ इलाम र झापा जिल्ला, पश्चिमतर्फ लेटाङ नगरपालिका, उत्तरतर्फ धनकुटा र पाँचथर जिल्ला र दक्षिणतर्फ उर्लाबारी नगरपालिका रहेको छ । यो गाउँपालिका रमितेखोला र टांँडी गाविसका सबै वडा तथा जाते र मधुमल्ला गाविसका केहि वडाहरु मिलाएर वि.स. २०७३ सालमा पुननिर्माण गरिएको अध्यक्ष देवीप्रसाद आचार्यले बताउनु भयो ।
गाउँपालिका निर्माणका क्रममा साबिकको रमितेखोला गाविसलाई यसको वडा नं १, टांडी गाबिसका १, ६ र ७ नं. वडालाई यसको वडा नं. २ बनाइएको छ । येसैगरी टाँंडीका वडा नं. २,८ र ९ लाई यसको वडा नं. ३ तथा टांडीका वडा नं. ३,४ र ५ लाई यसको वडा नं. ४ कायम गरिएको छ । नयाँ संरचनामा जाँते गाविसको वडा नं. ३ र ४ लाई यसको वडा नं. ५ तथा मधुमल्ला गाविसका ४ र ५ नं. वडालाई यसको वडा नं. ६ बनाईएको हो । यसैगरि मधुमल्ला गाविसका वडा नं. २ लाई यसको वडा नं. ७ , वडा नं. ३ लाई ८ तथा १ र ६ लाई वडा नं. ९ कायम गरिएको अध्यक्ष आचार्यले बताउनु भयो ।
यस गाउँपालिकाको कूल जनसंख्या वि.स. २०६८ सालको जनगणना अनुसार २८७०८ जना रहेको छ, जसमा १५५४९ जना महिला र १३१५९ जना पुरुष छन । मिक्लाजुङको घरपरिवार संख्या भने ६४१७ जना छ । वडागत आधारमा सबैभन्दा बडी घरपरिवार भएको वडा न. ६ हो, जसमा १११९ घरपरिवार छन । सबैभन्दा कम घरपरिवार भएको वडा न. ८ हो जसमा ४५६ घरपरिवार छन । मिक्लाजुङ मोरङको ज्यादा पहाड भएको गाउँपालिका हो । मिक्लाजुङ गाउँपालिकाको क्षेत्रफल १५८.९८ वर्ग कि.मी. रहेको प्रमुख प्रशासकीय अधिकृत शशि राई बताउनु हुन्छ ।
मोरङको मिक्लाजुङ गाउँपालिकामा वनक्षेत्र निकै रहेको हुनाले यहाँ जंगली जनावर पनि प्रशस्तै पाईने गरेको छ। यहाँ विभिन्न प्रकारका जिवजन्तु र चराचुरुंगीहरु पाइन्छन। मृग, खरायो, स्याल, मल्सांप्रो,ढेडु, बाँदर, लोखर्के र दुम्सी जस्ता जनवारहरु, विभिन्न प्रकारका चराचुरुंगीहरु र किटपतंगहरु यस भेगमा पाइने भएका कारण पनि तराई क्षेत्रमा बसोबास गर्नेहरुकालागि पर्यटकीय गन्तब्य बन्ने गरेको उपाध्यक्ष सरला राईले बताउनु भयो ।
उपाध्यक्ष राई भन्नुहुन्छ– पुतली, कमिला, धमिरा, साप, अजिङ्गर, छेपारो र अन्य प्रकारका किरामिराका साथमा अनेक जडिबुटी पनि यहाँको वन क्षेत्रमा पाइने गर्दछन । जडीबुटी र घरेलु औषधी नै यहाँका बासिन्दाको प्राथमिक उपचारको माध्यम हो ।
मिक्लाजुङ गाउँपालिका जीवजन्तुका दृष्टिले पनि निकै महत्वपूर्ण छ । मिक्लाजुङ गाउँपालिकाका धार्मिक तथा पर्यटकीय स्थलहरुमा मिक्लाजुङ डाँडा, चुली पोखरी, मिक्लुबेतेनी, नेसेलुंग डाँडा आदी अवलोकन गर्न र घुम्न आउनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको गाउँपालिकाले जनाएको छ ।

 

सोमबार, २१ भदौ, २०७८, बिहानको ०९:०६ बजे

सम्बन्धित खवर