दमक अस्पतालमा विरामीको भिड, दैनिक ८ सयबढी दर्ता, जाँच गर्नै कठिन

विमल लामिछाने

    दैनिक ८ सयभन्दा माथि विरामी दर्ता

दमक/ दमक नगरपालिकाको मातहतमा रहेको दमक अस्पतालमा विरामीको चाप बढ्न थालेपछि सेवाग्राही मारमा परेका छन् । दमक सरकारी अस्पतालमा मात्र बिमामार्फत् उपचार हुँदा विरामीको चाप बढ्न थालेको हो । सो अस्पतालमा झापा, मोरङ र इलामका विभिन्न पालिकाबाट दैनिक ८ देखि ११ सय बढी विरामी उपचारमा आउने गरेका कारण अस्पतालमा चाप हुन थालेपछि उपचारमा समस्या भएको अस्पताल प्रशासनले जनाएको छ ।
दमक अस्पताल प्रशासनको तथ्यांक अनुसार अहिलेसम्म एकै दिन सबैभन्दा बढी ११ सय ५० जना विरामी दर्ता भएका छन् । बढ्दै गएको विरामीको भीडका कारण कोरोना संक्रमणको समेत उच्च जोखिम रहेको कोभिड व्यस्थापन फोकल पर्सन तथा दमक अस्पतालकी सूचना अधिकारी देवी दंगालले बताइन् । उनले भनिन्– ‘दैनिक ८ सयभन्दा माथि विरामी आउने गरेका छन्, हाम्रो क्षमता भनेको ५ देखि ६ सयसम्म विरामी हेर्न सक्ने हो, क्षमताभन्दा बढी विरामी आएका कारण सेवा दिन सकिएको छैन ।’ उनले भनिन् ।
पछिल्लो समय प्रदेश एकमै सबैभन्दा धेरै विरामीको चाप हुने दमक अस्पतालमा अहिले १५ जना विशेषज्ञले सेवा दिँदै आएका छन् । हाडजोर्नी, बाल, छाला, मानसिक स्वास्थ्य, दन्त सेवा, शल्यक्रिया लगायतका धेरै सुविधा एकै ठाउँबाट पाइने भएका कारण पनि अन्य जिल्लाबाट समेत विरामी आउने गरेकाले विरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालमा बिहान १० बजे खुल्ने समय अगावै सयौको संख्यामा विरामी लाइनमा उभिएका हुन्छन् । झापा जिल्लामा दुईवटा मात्र सरकारी अस्पताल रहेका छन् । बिमाबाट उपचार गर्न एक जना बिरामीले ३ देखि ४ दिनसम्म धाउनु पर्ने बाध्यता रहेको गुनासो गर्दै आएका छन् । धनकुटा बुधबारेका विरामी ५४ वर्षीय संजय राईले भने – ‘सुविधा पाइएला भनेर लामोबाटो यात्रा गरेर अस्पताल आइयो, लाइनमा बस्दा दुईदिनमा डाक्टर बल्ल भेटियो तर जाँचको रिपोर्ट आएको छैन, अझै दुईदिन लाग्छ भन्दैछन्, विजोक भयो ।’ यसैगरी पाँचथर कुरुम्बाङ घर बताउने ४३ वर्षीय बुधमायाँ लिम्बूले अस्पतालमा ३ दिनदेखि लाइनमा बसेपनि अझै पालो पाउन नसकेको गुनासो गरिन् । यस्ता गुनासा सुनाउने सयौ विरामी भेटिन्छन् । विरामीले घण्टौंसम्म लाइन कुरेर पालो पर्खनुपर्ने र कतिपय सेवाग्रहीले स्वास्थ्य मापदण्ड पालना नगर्दा जोखिम बढेर जाने साथै विरामी समेत भीडभाडका कारण त्रासमा रहनुपर्ने अवस्था रहेको अस्पतालका कर्मचारी बताउँछन् ।
दमक अस्पतालमा पछिल्लो समय दमकबाहेक छिमेकी पालिका कमल, शिवसताक्षी, गौरादह र गौरीगञ्ज लगायतबाट विरामी जाँच गराउन आउने गरेका छन् भने झापा बाहेक पहाडी जिल्ला पाँचथर, इलाम र मोरङको उर्लाबारी, पथरी, बेलबारीबाट समेत विरामी आउने गरेका छन् । तीन जिल्लाको सीमानामा पर्ने दमक अस्पतालमा विरामीको चाप अत्यधिक बढ्न थालेपछि सरकारी अस्पताल बाहेक निजी अस्पतालमा समेत बिमाको सेवामार्फत् उपचार गराउने ब्यवस्था मिलाउन सके थप समस्या नहुने विरामीहरुको बुझाई छ ।
सकेसम्म यहीँका अस्पतालमा रेफर नदिने, बिमाका विरामी हेरेबापत निश्चित प्रतिशत विमित मार्फत् सोझै डाक्टरले रकम पाउने भएका कारणले अस्पतालले रेफर नदिने गरेको सर्वसाधारणको आरोप छ । अस्पतालका डाक्टरहरुले भने प्रतिशतका कारण समस्या नभएको प्रतिक्रिया दिएका छन् ।
दमक अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट तथा हाडजोर्नी विशेषज्ञ डा. खड्ग लिम्बूले अस्पतालको क्षमता अनुसार सेवा दिन सफल भएको बताए । दमक अस्पतालमा उपचार गर्न आउनेको संख्या धेरै भएको र विरामीको चाप बढेको थाहा पाएपनि तल्काल विकल्प दिन नसकेको दमक नगरपालिकाले जनाएको छ । दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीले भनिन्– ‘हामीले थाहा पाएर नगरको तर्फबाट पत्र पठाएर भीड नगरी सेवा दिन अस्पताललाई जानकारी गराइसकेका छौं,’ तर बिमा बोर्डले तोकेका अस्पतालबाट रेफर लिएर मात्रै अरु अस्पतालमा बिमासेवा पाउने नियम बोर्डले राखेपछि थप समस्या भएको हुनसक्ने उनको भनाइ छ । दमक अस्पतालको व्यवस्थापन स्थानीय सरकारले मिलाउँदै आएको छ । बिमाका कारण दमक अस्पतालमा चाप बढेकाले अन्य निजी तथा सामुदायिक अस्पतालमा समेत बिमाबाट उपचार गर्ने व्यवस्था मिलाउनु पर्ने सर्बसाधारणको माग रहेको छ ।

बुधबार, २० असोज, २०७८, बिहानको ०९:२४ बजे

सम्बन्धित खवर