मादीको हत्याकाण्डका अनुसन्धान गर्ने दुई प्रहरी १ लाख राशीबाट पुरस्कृत

६६औं प्रहरी दिवस

दमक, २० असोज/  प्रदेश १ प्रहरी कार्यालयले ६६औं प्रहरी दिवस भव्यताका साथ मनाएको छ । प्रहरी दिवसको अवसरमा विविन्न खेलकुद, दिपावली, रक्तदान, सार्वजनिकस्थल सरसफाईलगायतका कार्यक्रम गरिएको छ ।
१ नं. प्रदेश प्रहरी कार्यालयमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेशका मुख्यमन्त्री भीमप्रसाद आचार्य, आन्तरिक मामिला तथा कानून राज्यमन्त्री लिलाबल्लभ अधिकारी, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.लगायतले प्रदेश प्रहरी कार्यालयमा अवस्थित अमर प्रहरी स्मारकमा फूल अर्पण गरे ।
कार्यक्रमका अवसरमा गत वर्ष प्रदेश १ मा कार्यक्षेत्रमै वीरगती प्राप्त गर्ने प्रहरीका परिवारलाई नगद तथा कदर पत्रद्वारा सम्मान गरिएको थियो । यस्तै प्रहरीको नयाँ भवन निर्माणका लागि जग्गा दिने जग्गादातालाई पनि सम्मान गरियो । उक्त सम्मान मुख्यमन्त्री भीम आचार्यले प्रदान गरेका थिए ।
यस्तै प्रदेशका प्रहरी कर्मचारीहरूलाई पुरस्कार पनि प्रदान गरियो । यस्तै एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने पूर्व तथा बहालवाला प्रहरीका सन्ततीलाई पनि छात्रवृतीबाट पुरस्कृत गरियो ।
कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ कर्मचारी, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय समाजसेवी, अमर प्रहरी परिवारजन, पूर्व प्रहरीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, पत्रकार, मानवअधिकारकर्मीलगायत विभिन्न कार्यालयका प्रहरी कर्मचारीहको उपस्थिति थियो ।
१ लाख राशीको ‘साधानादेवी प्रहरी पराक्रम पुरस्कार’बाट दुई जना पुरस्कृत
यसैबीच यस वर्षको १ लाख धनराशीको आठौं ‘साधनादेवी प्रहरी पराक्रम पुरस्कार’ प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी नायव निरीक्षक रुद्र बहादुर खडकालाई प्रदान गरिएको छ ।
प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने ईलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाका प्रहरी निरीक्षक योगराज खतिवडा र १ नं. प्रदेश प्रहरी कार्यालय, प्रदेश अनुसन्धान समूहका प्रहरी नायव निरीक्षक रुद्र बहादुर खड्कालाई ६६ औं प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल विराटनगरले पुरस्कृत गरेको हो ।
२०७८ भदौ २१ गते जिल्ला संखुवासभा, मादी नगरपालिका १ खोलागाँउका एकै परिवारका ६ जना सदस्यहरुको हत्या भएको घटनाको सफल अनुसन्धान गरि हत्यामा संलग्न ५ जना अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको भन्दै उनीहरुलाई पुरस्कृत गरिएको हो ।
वर्षभरिमा उत्कृष्ठ ठहरिएका प्रहरी कर्मचारी मध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवसको अवसरमा पुरस्कार प्रदान गरिन्छ । पुरस्कार कोषका संस्थापक प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठले १ लाखको चेक तथा प्रशंसापत्र प्रदान गरे ।
आफ्नी स्वर्गीय साधनादेवी श्रेष्ठको नाममा वार्षिक रुपमा प्रदान गर्ने यो पुरस्कार स्थापना गरिएको हो ।

बुधबार, २० असोज, २०७८, साँझको ०५:०० बजे

सम्बन्धित खवर