प्रदेश १ प्रदेशसभाको नयाँ भवन उद्घाटन, सांसदलाई ‘कम्फर्टेबल’

दमक, २० असोज/   प्रदेश १ संसद गठन भएको साढे ३ वर्षपछि प्रदेशसभा संचालनका लागि नयाँ भवन निर्माण भएको छ । २ करोड ५९ लाख २० हजार ९ सय ५६ रुपैयाँ लागतमा निर्माण भएको भवनको बुधबार एक कार्यक्रमकाबीच प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले उद्घाटन गरे ।
भवन निर्माणका लागि श्री स्वामीनारायण निर्माण सेवा धरानले २०७८ वैशाख ३० गतेसम्ममा काम सक्ने गरी सम्झौता गरेको थियो । भवन निर्माण सम्पन्न भएसँगै १६ लाख ४३ हजार ३ सय ७० रुपैयाँको फर्निचर, १६ लाख ७७ हजार १ सय १७ रुपैयाँको साउण्ड सिस्टम र १७ लाख ७६ हजार ९ सय २५ रुपैयाँको आन्तरिक सजावटमा थप खर्च गरिएको छ ।
यसअघि जिल्ला समन्वय समिति मोरङको पुरानो हलमा संसद संचालन हुँदै आएको थियो । उक्त हल सानो भएको र बस्न अप्ठ्यारो भएको भन्दै सांसदहरुले बेलाबेलामा कुरा उठाउने गरेका थिए । सांसदहरुको चर्को दबाब र राजधानीको विषय टुंगो लागेसँगै भवन निर्माणको प्रक्रिया सुरु भएको थियो ।
संसद भवनको शिलन्यास २०७७ असोज १ गते सभामुख प्रदीपकुमार भण्डारीले गरेका थिए । भवन शिलन्यासपछि स्थायी रुपमा राजनधानी विराटनगरमा राख्ने षड्यन्त्र भएको भन्दै हालका मुख्मयन्त्री आचार्यसहितको दबाबमा अस्थायी भवन भएको सभामुख भण्डारीले प्रष्टीकरण दिनुपरेको थियो ।
भवन उद्घाटन कार्यक्रममा पनि मुख्यमन्त्री आचार्यले संसदको अस्थायी भवन नै भएको बताए । उनले राजधानीमा रहने प्रादेशिक कार्यालयहरुको संरचना निर्माणका लागि जग्गाको खोजीमा सरकार लागेको बताएका छन् । ‘हामीले जग्गा खोजीका लागि समिति निर्माण गरेर कामको सुरुवात गरेका छौं,’ मुख्यमन्त्री आचार्यले भने, ‘संसदले गरेको निर्णयको आधारमा राजधानीका संरचना निर्माण कहाँ गर्ने भन्ने विषयमा छिट्टै टुंगो लाग्नेछ ।’ नयाँ भवनको भौतिक संरचना, इन्टेरियर डिजाइन, फ्लोर प्यानलिङ र टेबल कुर्सीको व्यवस्थापनको काम भइसकेको छ ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार नवनिर्मित भवनमा सभामुख बाहेक ९२ जना सांसदहरू बस्नका लागि छुट्टाछुट्टै टेबल कुर्सीको व्यवस्था गरिएको छ । नयाँ भवनमा सभामुख र रोष्ट्रम भएको क्षेत्रलाई समेत फराकिलो बनाइएको छ । यसका साथै पत्रकार र अन्य मन्त्रालयगत कर्मचारीका लागि पुरै संसद देखिने गरि हलको माथिल्लो भागमा बस्ने व्यवस्था मिलाइएको छ । दर्शकदीर्घामा ४० जना अट्ने क्षमता छ । जसमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारका लागि २० र अन्य मन्त्रालयगत कर्मचारी तथा सम्बन्धित व्यक्तिका लागि २० वटा सिटको व्यवस्थापन मिलाइएको छ । नयाँ भवनमा टेबल कुर्सी राखेसँगै सांसदलाई ढ्यापढ्याप पार्न सजिलो भएको छ भने टिपोट गर्नका लागि पनि सहज हुने भएको छ ।

बुधबार, २० असोज, २०७८, साँझको ०५:१४ बजे

सम्बन्धित खवर