काठमाडौं , २० असोज / बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । आज विहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनलाई विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको हो । उनी नेपाल आउने जानकारी पाएपछि प्रहरीको भ्यानसहित ​पक्राउ गर्न प्रहरी अधिकारीहरु विमानस्थलमा तैनाथ थिए ।

उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । उनी विरुद्ध नेपाल प्रहरीको आग्रह अनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।

उनले यसअघि सामाजिक सञ्जालमार्फत आज नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने बताएका थिए । आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको उनको दाबी छ ।

Facebook Comments Box