दमक/ दमकको बेलडाँगी रोडमा रहेको डी म्याक्स सिनेमा हल आइतवार दर्शकले खचाखच भरिएको थियो । डी म्याक्सका सञ्चालक रेवत बस्नेतले चलचित्रले दर्शकको मन जित्नसकेको हुनाले अझै केहीदिन यो चलचित्र निर्धक्क चल्ने बताए ।
कार्तिक ११ गतेदेखि फ्राइडे फिल्मअन्तर्गत ‘महापुरुष’ देशभर प्रदर्शन भइरहेको छ । एकल प्रदर्शनमा आएको फिल्मलाई निर्देशक प्रदीप भट्टराईले लेखन र निर्देशन गरेका हुन् ।
मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरु विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अन्जना बराइली मुख्य भूमिकामा रहेका यो फिल्ममा एक्लोपनको विषयवस्तु देखाइएको छ ।
फिल्म आदर्शनगर भन्ने समाजबाट सुरु हुन्छ । जहाँ देखिँदा सबै आदर्शवादी छन् । अन्यले पनि त्यहाँको सभ्य समाजको चर्चा गर्ने गरेका छन् । फिल्ममा बालकृष्ण केसी (हरिवंश)ले अवकाशप्राप्त शिक्षकको भूमिका निर्वाह गरेका छन् । उनको श्रीमतीको देहान्त भइसकेको छ भने दुई छोरा छन् । जेठो छोरा विदुर केसी (रवीन्द्र) आफ्नी श्रीमती र बच्चासँग छुट्टै बस्छन् । कान्छो छोरा विज्ञान (अरुण)भने स्वदेशमा केही नभएपछि अष्ट्रेलिया जान कोसिस गरिरहेको देखाइएको छ ।
आदर्शनगरमा केही वृद्धहरू पनि छन् । यद्यपि बाहिर सुखी देखिए पनि मनभित्र खुसी छैनन् । आफ्नो सन्तानको खुसीकै लागि उनीहरू बाँचेर बसिरहेका छन् । फिल्मको कथालाई बालकृष्णकै माध्यमबाट भनिएको छ । उहाँलाई समाजले ‘महापुरुष’ भन्छन् । विज्ञान अष्ट्रेलिया जानलाई केही उपाय नलागेपछि प्रतिष्ठा (अन्जना)सँग डिपेन्डेन्टमा जान तयार हुन्छन् ।
यद्यपि प्रतिष्ठा भने वास्तविक बिहे गरेर नै जाने योजनामा छन् । उनीहरूको कन्सल्टेन्सीमार्फत भेट हुन्छ । प्रतिष्ठाको पिता मदनकृष्ण र आमा कोपिला पनि विज्ञानलाई देखेपछि विवाह गर्न तयार हुन्छन् ।

सम्धी एक्लै र आदर्शनगरमा बसोबास रहेको थाहा पाएपछि मदनकृष्णले ‘महापुरुष’ कै उपाधिसमेत दिन्छन् । तर बाहिरबाट जति सुखी देखिएता पनि भित्र मनबाट त्यति नै एक्लो हुनहुन्छ बालकृष्ण । घरमा कुरा गर्नेसमेत कोही नभएपछि उहाँले सुगासँग आफ्नो मनको कुरा गर्ने गरेका छन् । श्रीमती छैनन् । एउटा छोरा श्रीमतीसँग अलग्गै बस्ने र कान्छो छोरा अष्ट्रेलिया जने भएपछि झनै एक्लो महसुस हुन्छ । यहीँ कारण उनी बिरामी पर्छन् । डाक्टरले बाहिर घुमघाम गराउन र व्यस्त बनाउन आग्रह गरेपछि छिमेकी बाबुराम (राजाराम)सँग छोराहरूले नाटक हेर्न पठाउँछन् ।
त्यहाँ हरिवंशको भेट फुलमाया (गौरी)सँग हुन्छ । विस्तारै उनीहरू नजिकिन्छन् । बुबाको विवाहको कारणले आफ्नो विवाह नहुने र अष्ट्रेलिया जान नपाउने थाहा पाएपछि विज्ञान झनै दुईलाई छुट्याउन लाग्छन् । त्यसले घटाउने विविध घटनाक्रमले बालकृष्णले फुलमायालाई घरमै ल्याउँछन् । त्यसपछि कथामा द्वन्द्वको सुरुआत हुन्छ ।
बालकृष्ण र फुलमायको विवाह होला त ? आदर्शनगरले त्यो सम्बन्धलाई कसरी लेला ? विवाह गरेर अष्ट्रेलिया जाने तयारीमा रहेका विज्ञानले आफ्नो सट्टा बुबाको विवाह गराउनु होला ? यी सब प्रश्नको जवाफ फिल्म हेरेपछि पाइन्छ ।
चलचित्र महापुरुषका कलाकारले प्रचारमा आएकाबेला झापा कलामा रमाउने जिल्ला भएकाले चलचित्र क्षेत्रलाई माथि उठाउन झापाबासीको भूमिका रहेको बताएका थिए । आजसम्मको चलचित्रप्रतिको झापाली दर्शकको मोह र मायाले साँच्चै झापाबासीको कलामा रमाउँने महत्वलाई सार्थक बनाएको महसुस गर्न सकिन्छ भन्छन् डी म्याक्स सिनेमा हलका सञ्चालक रेवत बस्नेत । महापुरुष चलचित्र परिवार सबै सँगै बसेर हेर्न लायक भएकोलेपनि दर्शकको मन जित्न सफल भएको सञ्चालक बस्नेतको बुझाई छ । आधुनिक सुविधासम्पन्न हल आरामदायी सीट भएका कारण पनि अरु सिनेमा हलको तुलनामा पछिल्लो समय डीम्याक्समा दर्शकहरु बढ्दै गएको उनको भनाइ छ ।

Facebook Comments Box