जनता पार्क शिलान्यासको सम्पूर्ण तयारी पूरा

सुनसरी /  इटहरी–९ मा बिहीवार हुने जनता पार्क शिलान्यासको सम्पूर्ण तयारी पूरा भएको छ । इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले इटहरी वडा नम्बर नौ जुट अनुसन्धान तथा रेशम खेती विकास कार्यक्रमको पूर्वी किनारमा जनता पार्क शिलान्यासको सबै तयारी पूरा भएको बताए ।
उनले जनता पार्क शिलान्यासमा कुनै विवाद नभएको बताएका छन् । सो ठाउँमा तीन विघाह सार्वजनिक जग्गा छ । सोही जमिनमा इटहरी उपमहानगरले जनता पार्क शिलान्यास गर्न लागेको हो । वुधवार नै नगर कार्यपालिकाको बैठक बसेर पार्क शिलान्यासलाई भव्य बनाउने निर्णय लिइने प्रमुख चौधरीको भनाइछ । साथै पार्क बनाउने योजनाको संस्थागत स्वामित्व लिने निर्णय पनि सोही बैठकमा गरिने जानकारी उनले दिए ।
यो पार्कको शिलान्यास १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले विहीवार विहान ८ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । शिलान्यास कार्यक्रमलाई भव्य बनाउन एफएम, टेलिभिजन, पत्रपत्रिका, सामाजिक संजाललगायत विभिन्न माध्यमबाट व्यापक प्रचारप्रसार गरिएको छ ।
प्रमुख चौधरीका अनुसार सुरक्षा निकायसँग समन्वय गरिएको छ । आम इटहरीबासीलाई सहभागिताका लागि आमन्त्रण पनि गरिएको छ । सोही ठाउँमा क्रिकेट मैदान पनि भएकोले क्रिकेट क्लबका प्रतिनिधि तथा खेलाडीहरुले प्रमुख चौधरी तथा उपप्रमुख लक्ष्मी गौतमसँग भेटेर पार्क बनाउन क्रिकेट मैदान के हुन्छ ? भन्दै जिज्ञासा राखेका थिए । क्रिकेट खेलाडी तथा क्रिकेट क्लबका प्रतिनिधिहरुलाई तत्काल क्रिकेट मैदानलाई केही असर नगर्ने गरी पार्क शिलान्यास गर्न लागिएको जवाफ दिएका छन् । पूर्वी हटलाइनसँगको कुराकानीमा प्रमुख चौधरीले भने–‘हाल क्रिकेट मैदान जस्ताको तस्तै रहन्छ, पछि हामी इटहरीमा व्यवस्थित क्रिकेट मैदान बनाउने योजनामा छौं ।’ उनले थपे–‘अहिले हामी क्रिकेट पिच छुदैनौं ।’ पार्क शिलान्यासको लागि उपमहानगरबाट हाललाई ५० लाख बजेट विनियोजन गरिएको छ । पार्क तीन महिनाभित्र निर्माण गरिसक्ने प्रमुख चौधरीले बताए । सो सार्वजनिक जग्गामा डिभिएम स्कूल इटहरीको संरचना छ । उक्त स्कूलमा इटहरीका पहुँचवाला राजनीतिज्ञको पनि लगानी रहेको हुँदा ती पहुँचवालाहरु जनता पार्क शिलान्यासलाई असफल बनाउन लागेको चर्चा इटहरीमा भएको छ । सो सार्वजनिक जग्गाको मूल्य यतिबेला ५० करोडभन्दा माथि छ । सोही ठाउँका स्थानीय युवा एवम् वडा सदस्य अरुण गुरुङ्ग सार्वजनिक जग्गा खोजी र संरक्षणमा सबै एकजुट हुनु पर्ने बताउछन् ।

बिहिबार, २० मंसिर, २०७५, दिउँसोको १२:२४ बजे

सम्बन्धित खवर