माल्वा केरा ,ओदाने बाहुनका टुप्पी र ठकुरीका जुँगाको कथा

बैकल्पिक खवर

यो कथा एकादेशको पनि होइन, अर्को देशको पनि होइन, हाम्रै देशको हो । यो देशमा बाहुन र क्षेत्री त धेरै बस्छन्, तर यो कथा तीनजना बाहुनको टुप्पी र एकजना ठकुरीको जुँगामा सीमित छ । किनकि, यो देशमा ओदाने बाहुन र एक ठकुरीको सदाबहार हालीमुहाली छ । ओदाने बाहुन र ठकुरीको हालीमुहाली पहिले पनि चल्थ्यो, अहिले पनि चल्छ ।

यी सबैलाई कहिले जनादेश त कहिले परमादेशबाट पालैपालो राजकाज चलाउने बानी छ । जात र स्वभावले तीनजना बाहुन एकातिर र ठकुरी अर्कैतिर हुनुपर्ने हो । तर तीनजना बाहुनले कम्युनिस्ट हुँदा लुकेर काटेको टुप्पी लरक्क पलाएको धेरै भयो । स्वार्थ, लोभ, अहङ्कार र घमण्डको टुप्पी पलाएपछि तीनजना बाहुन त्यो टुप्पी नदेखाइ र नहल्लाइ हिँड्न छाडे । दक्षिणा अर्कोले उछिट्याउला भन्ने त्रासले सँगै बस्न र कुरा गर्न छाडिदिए । कहिले दानदक्षिणा र सिदाको निहुँमा त कहिले जजमान र मान–अपमानको मुद्दामा घोचपेच र मारमुङ्ग्री गर्ने बानी पहिले पनि थियो। अहिले पनि घोचपेच नगरि यी बाहुनलाई भोजन पच्दैन, भात रुच्दैन ।

छेउमा बसेर चश्मा र टोपी मिलाइरहने ठकुरी पहिले पनि बाहुनहरुको झगडामा आनन्द लिन्थे । बाहुनहरुले हानथाप गर्दा झरेको र फुत्केको दानदक्षिणाको स्वाद स्वतः उनको भागमा पुग्थ्यो । तीनजना बाहुन मिलेका बेला ज्योतिष बोलाएर जोखाना हेर्थे । ठकुरीले जोखाना हेरेको थाहा पाएपछि बाहुनहरु एकअर्कालाई शङ्का गरेर आफू आफूबीचमै ताण्डव नाच नाच्थे । ज्योतिषीको सल्लाह बमोजिम कहिले ठकुरीले बाहुनहरुलाई नचाउँथे र नाचबाट आउने ठूलो भाग आफैँले पाउँथे । आफूहरु सुर न तालसँग नाच्दा र झगडा गर्दा ठकुरीले ठूलो भाग पायो भनेर बाहुनहरु बेलाबेला झसङ्ग हुन्थे र मिल्ने कुरा गर्थे ।

यस्तैमा एकपटक बाहुनहरुबीच मिल्ने सल्लाह भयो । आफूले पहिलेदेखि पाउँदै आएको दानदक्षिणा र आआफ्ना जजमानबारे सहमति जुटाएर उनीहरु जसोतसो मिले । मिलेरै राजकाज चलाउने, काजकर्म गर्ने र जजमानको चित्त बुझाउने कसम खाए । विगतका गल्ती र कमजोरीलाई सुनपानी छरेर चोख्याए । बाहुनहरु सधैँका लागि मिलेको देखेर ठकुरी झसङ्ग भए । कुनै दिन फेरि दान दक्षिणामा भाग नमिलेर बाहुनहरु धोती खोलेर एक अर्काको टुपी उखेल्न थाल्छन् भन्ने ठकुरीलाई विश्वास थियो । उनी त्यो दिन पर्खेर बसे ।

तीन वर्ष नपुग्दै ठकुरीले पर्खेको त्यो दिन आयो । बाहुनहरुले चलाएको राजकाजमा अमेरिकाबाट दक्षिणास्वरुप आउन लागेको स्वादे माल्वा केरा ककस्ले कति र कसरी खाने भनेर बाहुनहरु एकअर्काको टुप्पी तान्न थाले । काज चलाउन त्यस्तो खालको केरा चाहिन्छ भनेर ठकुरी र बाहुनहरुले मिलिजुली माल्वा केरा पाउने बस्दोबस्त त पहिल्यै गरेका थिए । मिलिजुली मागेको अमेरिकी माल्वा केरा माग अनुसारै दक्षिणास्वरुप आयो पनि । अमेरिकाले दक्षिणामा दिएको माल्वा केरा दुवै हातले थाप्ने कि, दाहिने हातले मात्रै थाप्ने रु अथवा देब्रे हातको कान्छी औँला पानीमा चोपलेर कुशको औँठी लाएर स्वीकार्ने भन्नेमा बाहुनहरुबीच मतभेद बढ्यो । काज चलाउँदै गरेका मुख्य बाहुनले दक्षिणा दुवैे हातका हत्केला फैलाएर छिट्टै स्वीकार्नुपर्छ भने । अरु दुई बाहुन आफूले भने अनुसार भाग नपाउने भएपछि केराकै विपक्षमा उभिए । उनीहरुका उत्तरतिरका जजमान बलिया र अमेरिका विरोधी थिए । जजमानले समुद्रपारिबाट दक्षिणामा आएको माल्वा केरा अशुद्ध र अपवित्र मात्र हैन, दुर्नितका साथ आएको छ भने दुई बाहुनका कान फुकिदिए । दुई बाहुनलाई बहाना चाहिएको थियो, त्यो जजमानले नै सुझाइदिएपछि उनीहरु मुख्य बाहुनसित सनक्क सन्के । दुवैको रिस मुख्य बाहुनमाथि थियो । दक्षिणामा पाएको माल्वा केरा स्वीकार्न दुई बाहुन मरिगए मानेनन् ।

त्यही दक्षिणाको निहुँमा तीन बाहुन धोती फुकालेर एक–अर्काको टुप्पी उखेल्न लागे । एक–अर्कालाई खुइलाउन थाले । हुँदै जाँदा बाहुनहरुको राजकाज नै भाँडियो । अरु दानदक्षिणा, फूलअक्षता, मार्क्सवादका किताब सबै छरपस्ट भए । काज चलाइरहेका मुख्य बाहुनलाई जसरी पनि पाखा लगाउन अरु दुई बाहुन कस्सिए । आफ्नो मात्र बलबुताले मुख्य बाहुनको टुप्पी नहल्लिएपछि छेउमा बसेर रमिता हेरिरहेका ठकुरीलाई गुहारे ।

जन्मैदेखि टुप्पीको झगडा देखेका र यही दिन पर्खेर बसेका ठकुरी मौकामा चौका हान्न तम्सिए । बुरुक्क उफ्रेर दुई बाहुनलाई दुईतिर राखे, दुई बाहुनका हातमा कुशका कुड्का समातेर किरिया कसम खुवाए र नयाँ काज थाले । पहिले मुख्य पण्डितको आसनमा बसेर काज चलाइरहेका कुमाइ बाहुन पाखा लागे । दुई बाहुन र एक ठकुरीले रजगज चल्न थालेपछि उनी घरको बार्दलीमा बसेर रमिता हेर्न थाले ।

दुई बाहुनलाई दुई छेउमा राखेर राजकाज अगाडि बढाइरहँदा ठकुरीको अघिल्तिर पनि त्यही माल्वा केरो जस्तो अमेरिकी दक्षिणा आइलाग्यो । वजनदार, बासनादार यति राम्रो दक्षिणा स्वीकार्नुपर्छ भनेर उनले छेउमा रहेका दुई बाहुनलाई मनाउन खोजे । दुईमध्ये एकजना थिए उपाध्याय बाहुन, अर्का थिए जैसी बाहुन । कुटनीतिदेखि लुटनीतिसम्म जानेका जैसी बाहुन भित्रभित्र हुन्छ भन्थे, बाहिर बाहिर चाहिँ मरिगए हुन्न भन्थे । लोभी खालका उपाध्याय बाहुन उनको कुरामा हो मा हो मिसाउँथे ।
काजकर्मका अरु विधिविधान र रीतलाई अलपत्रै पारेर ठकुरी र दुई बाहुनबीच अमेरिकी दक्षिणाबारे निकै रस्साकस्सी भयो । दुई बाहुनले आआफ्ना चेलाचपाटालाई सडकमा समेत उतारे । दुई बाहुनको त्यो चाला देखेपछि ठकुरीको आँखा बार्दलीमा बसेर रमिता हेरिरहेका कुमाइ बाहुनतिर पुग्यो । ठकुरीले दिन बिराएर कुमाइ बाहुनको बार्दलीमा बसेर बात मात्रै मारेनन्, भोजनका बखत सपरिवार भेटेर फोटो सेशन नै गरे । ठकुरीलाई बाहुनको बार्दलीमा देखेपछि दुई बाहुनको मुटुमा चिसो पस्यो । कुमाइ बाहुन र ठकुरी मिल्छन् भन्ने पक्का भएपछि दुई बाहुनको सातो गयो । कुमाइ बाहुन यसै पनि छट्टु, ठकुरी स्वभावैले चलाख । दुवै मिलेर राजकाज गर्न थाले भने त अहिले ठकुरीको छेउमा बसेर अलिअलि पाइरहेको दान दक्षिणा पनि गुम्ने डरले दुई बाहुनको होस उड्यो । त्यसपछि दुवैजना अमेरिकाले दक्षिणामा दिन लागेको माल्वा केरालाई सुनपानी छर्केर स्वीकार्नुपर्छ भन्ने निधोमा पुगे । अनि माल्वा केरामा व्याख्यात्मक घोषणाको सुनपानी छर्कने काम सुरु भयो ।

अमेरिकाले दक्षिणामा दिन लागेको केराको चित्र अगाडि राखेर उनीहरुले त्यसमा फूलबुट्टा भरे । सात समुद्रपारि अमेरिकाबाट आए पनि केरा शुद्ध र चोखै हुन्छ भनेर चित्रमा सुनपानी छर्के । अमेरिकाले नाकबाट खानु भन्यो भने फिर्ता पठाइदिन्छौँ भनेर एकतर्फी सहीछाप गरे । अमेरिकी दक्षिणाको चित्र बनाएर आफूखुशी फूलबुट्टा भरेर दङ्ग परेका उनीहरुको पारा देखेर दुनियाँ चित खायो । दुई बाहुनलाई त्यही ठाउँमा ठेगान लगाउन र पाखाबाट राजकाजमा फर्कनै लागेका कुमाइ बाहुनलाई त्यतै छेक्न सफल भएकोमा ठकुरीको हड्डी हाँस्यो ।

यो कथामा ओदाने बाहुन भनेका ओली, दाहाल र नेपाल हुन् भन्ने बुझ्नु भयो भने त्यो तपाईँको कुरा भयो, लेखकको दोष होइन । तपाईँले यो कथामा तीन जना बाहुन भनेका केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपाल, अनि ठकुरी भनेको शेरबहादुर देउवा तथा माल्वा केरा भनेको चाहिँ एमसीसी हो भनेर अर्थ्याउनु भयो भने त्यो पनि फगत एउटा संयोग मात्र मानिनेछ । – साभार उज्यालो बाट

सोमबार, २३ फागुन, २०७८, साँझको ०५:१९ बजे

सम्बन्धित खवर