सुरक्षार्थ खटिएका सुरक्षाकर्मी माथि आक्रमणको प्रयास

दमक / झापाको झापा गाउँपालिका स्थित नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिकले आक्रमण प्रयास गरेका छन् ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट टाघनडुब्बादेखि सात किलोमिटर पूर्व झापा गाउँपालिकास्थित १३१ नम्बर पिल्लर नजिकको सशस्त्र प्रहरी क्याम्पमा सोमबार साँझ आक्रमण प्रयास भएको हो ।

डेढ सयभन्दा बढी भारतीय घरेलु हतियार बोकेर क्याम्प आएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभयो । हवाई फायरपछि उनीहरु तितरबितर भएका थिए ।

सोमबार बेलुका नेपाल प्रवेश गर्न खोजेका दुई भारतीयलाई प्रहरीले भारततिरै फर्काइदिएपछि उनीहरू गाउँलेसहित हतियार बोकेर आएका थिए । झापासँगको सीमामा भारतीय नागरिकले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको यो दोस्रो घटना हो । साताअघि कचनकवल गाउँपालिका–४ स्थित सीमाक्षेत्रमा पनि बलजफ्ती नेपाल पस्न खोजेका केही भारतीयले प्रहरीमाथि आक्रमण प्रयास गरेका थिए ।

हवाई फायर गर्नु परेपछि त्यहाँ उच्च सतर्कता अपनाइएको छ। नेपालका सुरक्षाकर्मीले भारतीय एसएसबीको समन्वय अहिले सीमा सुरक्षा गरिरहेको बताइएको छ

बिहिबार, २५ बैशाख, २०७७, बिहानको ०९:४१ बजे

सम्बन्धित खवर