जसपाको आन्तरिक समीकरणमा फेरबदल : संसदीय दलको नेतामा महतो ,सरकारको नेतृत्व भण्डारी लाई दिनेगरी सहमति

बैकल्पिक खवर

काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक समीकरण फेरबदल हुन थालेको छ । पार्टी संरचनामा अल्पमतमा परेका अध्यक्ष महन्थ ठाकुरलाई अर्का नेता राजेन्द्र महतोले पनि साथ नदिने संकेत देखिएपछि समीकरण फेरिन लागेको हो ।

ठाकुर र महतोबीच जसपाको संसदीय दलको नेता को हुने भन्ने विवाद सुरु भएको थियो । जसपाको संसदीय दलमा ठाकुर-महतो पक्ष बलियो देखिएपछि संसदीय दलको नेतामा उनीहरूको दाबी निस्किएको हो । वरिष्ठ नेताको हैसियतमा अहिले ठाकुर दलको नेता छन् । त्यसमा अर्का अध्यक्ष उपेन्द्र यादवको पनि समर्थन थियो । तर, संसदीय दलको नेतामा राजेन्द्र महतोले दाबी गरेपछि ठाकुरसँग महतोको ठाकठुक पर्न थालेको जसपा स्रोतको भनाइ छ ।

त्यही मौकामा अध्यक्ष यादवले महतोलाई आफ्नो कित्तामा तान्न खोजिरहेका छन् । संसदीय दलको नेतामा सहयोग गर्ने बचनपछि महतो अहिले ठाकुरको लाइन छाड्ने परिस्थिति निर्माण भएको हो । उपेन्द्र यादवको समर्थनबिना महतो संसदीय दलको नेता हुन अंकगणित पनि पुग्दैन । र, पार्टी एकता गर्दा १० वैशाख ०७७ मा महतोलाई संसदीय दलको नेता बनाउने अनौपचारिक सहमति भएको थियो ।

महतो पछिल्ला दिनमा ठाकुरसँग मिलेर प्रधानमन्त्री केपी ओलीको लाइन लिन थालेपछि अध्यक्ष यादवले संसदीय दलको नेतामा महतोलाई रोक्ने प्रयासमा थिए । त्यही प्रयास अन्तर्गत संसदीय दलको विधान पारित हुन नसकेको हो । संसदीय दलको विधान पारित नभई नेता चयन गर्न सम्भव छैन । र, अध्यक्ष यादवको समर्थनबिना दलको विधान पनि पारित हुने देखिँदैन । त्यसैले अहिले महतो र यादवबीच भेटघाट बाक्लिन थालेको हो ।

जसपा स्रोतका अनुसार ठाकुर-महतो पक्षमा ३२ मध्ये १२ जना सांसदले मात्रै हस्ताक्षर गरेका छन् । ठाकुर-महतो पक्षका भनिएका शरतसिंह भण्डारी, निर्जला राउत र राजेन्द्र महतो स्वयंले हस्ताक्षर गरेका छैनन् । महतो र भण्डारीले ठाकुर पक्ष छोडेर यादवतिर लागेको अवस्थामा ठाकुरसँग बढीमा ८ जनामात्रै सांसद हुने जसपाका एक नेताले बताए ।

त्यो अवस्थामा अध्यक्ष उपेन्द्र यादवको पक्षमा २६ जना सांसद पुग्ने स्थिति हुन्छ । स्रोतका अनुसार उपेन्द्र यादवले महतोलाई संसदीय दलको नेता र भण्डारीलाई पार्टीको नेतृत्व दिएर सरकारमा पठाउने गरी नेताहरूको व्यवस्थापन गर्ने रणनीति लिएका छन् । यसबीचमा महतो र भण्डारीसँग उपेन्द्रको तारन्तार संवाद भइरहेको महतोनिकट एक नेताले बताए।- सिलापत्र बाट साभार

शुक्रबार, २४ बैशाख, २०७८, दिउँसोको ०३:१९ बजे

सम्बन्धित खवर