दमकेली युवाको गार्डेन मोह

विमल लामिछाने

        पूर्व पश्चिम राजमार्गबाट दमक बसपार्क जाने बाटोको दायाँवायाँ खाली क्षेत्रमा सरसफाई गर्दै सयपत्रीका बिरुवा रोप्न थालिनु झट्ट हेर्दा सानो जस्तो देखिएपनि महत्व र उदाहरणीय काम हो ।  बसपार्क क्षेत्रमा सरसफाई गरी फूलका बिरुवा रोप्ने अभियान शुरु गरिएको अभियन्ताहरु (जे बिमली, हेम सुवेदी, चन्द्र खत्री, कमल कटुवाल) लगायतका युवाहरुको साझा धारणा दमकका मिडियाहरुले पनि कभरेज गरेका छन । यसले अभियन्ताहरुमा थप उत्साह थपिनुपर्छ ।

विमल लामिछाने
दमकका युवाहरुले स्वतस्फुर्त रुपमा दमक बसपार्क क्षेत्रमा सरसफाई गर्दै सयपत्री फूलका बिरुवा रोप्ने अभियान शुरु गरे । यो अभियानलाई सकारात्मक पहलकदमीको रुपमा लिन सकिन्छ ।
दमक चौक पूर्व राजमार्गसंगै जोडिएको खाली क्षेत्रमा सयपत्री फूलका विरुवा रोपेपछि दमकबासीमा उत्साह थपिनुका साथै युवासचेतनाको महत्वबाध पनि भएको छ । पूर्व पश्चिम राजमार्गबाट दमक बसपार्क जाने बाटोको दायाँवायाँ खाली क्षेत्रमा सरसफाई गर्दै सयपत्रीका बिरुवा रोप्न थालिनु झट्ट हेर्दा सानो जस्तो देखिएपनि महत्व र उदाहरणीय काम हो ।
दमकका मुख्य ठाउँहरु अव्यवस्थित बनेर फोहोरका थुप्राले भरिनुभन्दा चोकको सौन्दर्य पनि बढ्ने स्वछ र आकर्षक बगैचापनि हुने, आय श्रोतको माध्यमपनि हुने यस्ता किसिमका उदाहरणीय कार्यलाई निरन्तरता दिनसके दमकेली युवाको प्रतिष्ठा पनि उच्चो हुन्छ ।
पहिले पहिले मुख्य चाडहरु शुरु भएसँगै फूलको अत्याधिक माग बढ्दै जाने गरेको पाइएपनि पछिल्लो समय सामान्य कार्यक्रम, गोष्टी, सेमिनार र मरिमराउका क्रममा समेत फूल प्रयोगले स्पेस पाउन थालेको छ । उपभोक्ताको माग अनुसार स्वदेशी उत्पादनले धान्न नसक्ने भएकाले वर्षेनी करोडौँ रुपैयाँ बराबरको फूल आयात गर्नुपर्ने बाध्यता समेत हामीसँग छ ।
दशैं तिहारमा अत्याधिक माग हुने सयपत्री, मखमली, सुपारीलगायतका फूलहरु उत्पादन गरेर भारतीय फूलको आयातलाई विस्थापित गर्ने अठोटका साथ सामाजिक संस्था तथा समूहले पहलकदमी लिने हो भने आयात कम गर्नकासाथै भारतको बनारस र कोलकत्ताबाट आउने फूललाई प्रतिस्थापन गर्न सहयोग पुर्याउन सकिन्छ । पहलकदमी लिने समय मौसमको हिसावले अहिले नै हो, अर्थात वर्षाको समयलाई नै पुष्परोपणको उचित समय मानिन्छ ।
बाहिरबाट दमक आउने पाहुनाहरु पहिलो पटक बसपार्कमा ओर्लंदानै दमकको बारेमा एउटा धारणा बन्ने र उक्त ठाउँ सफा देखिँदा दमकबासीको सभ्यता झल्किने भएकोले पहिलो पटक बसपार्क क्षेत्रमा सरसफाई गरी फूलका बिरुवा रोप्ने अभियान शुरु गरिएको अभियन्ताहरु (जे बिमली, हेम सुवेदी, चन्द्र खत्री, कमल कटुवाल) लगायतका युवाहरुको साझा धारणा दमकका मिडियाहरुले पनि कभरेज गरेका छन । यसले अभियन्ताहरुमा थप उत्साह थपिनुपर्छ ।

अधिकांश उत्पादनमा परनिर्भरता नै मौलिकता जस्तै बन्दै गएको वास्तविकतामा धरान, इलाम, चितवन, पोखराजस्ता केही स्थानहरु फूलमा आत्मनिर्भर हुने क्रममा छन । उनीहरुबाटपनि झापाबासीले शिक्षा लिँदै झापालाई फूलमा आत्मनिर्भर बनाएर मुलुकको उदाहरणीय जिल्ला बनाउन सक्नुपर्छ । यो झापाबासी युवाहरुको दायित्व पनि हो ।
नेपाल खाद्य सामग्रीका साथै हरेक वस्तुमा परनिर्भरताकै कारण समय समयमा हुने गरेका नाकाबन्दी, यातायात असहजता, महँगी आदिका कारण पनि उत्पादक र उपभोक्ता दुवै स्थानीय उत्पादनतर्फ आकिर्षत बन्दै गएको यो समयमा चालिने आत्मनिभरताको अभियानलाई सबैको साथ र सहयोग रहने कुरामा दुईमत छैन ।
पछिल्ला वर्षमा कतिपय सर्वसाधारणले घरबारी तथा कौशीमा तिहारका लागि फूल लगाउने क्रम पनि उत्तिकै बढेको पाइन्छ तर यो पर्याप्त होइन । अघिल्लो वर्षहरुमा तिहारका लागि बाहिरबाट आउने गरेको आयातको ग्राफ घटाउने लक्ष राखेर अहिले फूल रोप्ने अभियान चलाउने हो भने आगामी वर्षहरुमा अवस्य आयातको ग्राफ घटाउन सकिन्छ ।
व्यावसायिकरूपमा फूल खेती गर्नेको संख्या बढेकाले हरेक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरेको फ्लोरिकल्चर एशोसिएशनको तथ्यांकमा छ । चाडवाड र अन्य समयमा पनि काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ६० प्रतिशत माला खपत भएको पाइन्छ । झापा फूल खपतको पाँचौ जिल्लामा पर्छ । तिहारबाहेक चुनावी समयमापनि फूलको माला माग बढी हुने गरेको पाइएको छ । अन्य मौसममा गरी ११ करोड रुपैयाँ बराबरको फूल वार्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको तथ्यांक छ । मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ ।
विगतका वर्षमा भन्दा अबका वर्षमा भारतबाट ल्याइने फूलको संख्यामा कमी ल्याउने उदेश्य राखौं र बाँझो जमिन, पाखा, सडकका आसपास फूलबारी बनाऔं । यो गर्न सकेमात्रपनि ठूलो सौन्दर्य र सफलता हुनजान्छ । पछिल्लो समय व्यावसायिक रूपमा फूल खेती गर्नेको सङख्या बढेको छ, आयात गरिने फूलको संख्यामा कमी ल्याउन सक्नु हाम्रो कर्तब्य हो ।
आयातलाई हेर्ने हो भने गत वर्ष भारतबाट ३० लाख रुपैयाँ बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइएको तत्यांक छ । तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भरउन्मुख अवस्था छ भनेर यस अधिको फ्लोरिकल्चरको अध्यायनले देखाएको थियो ।
नेपालमा विशेष गरेर व्यावसायिकरूपमा ४ सय ५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको व्यावसायिक खेती गर्दै आएका तथ्यांक छ ।
नेपालमा वि.सं. २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै पुष्प खेती फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, इलाम, मोरङ, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६ सय ७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको पाइन्छ ।
भनिन्छ, फूलको अनुपम सौन्दर्य देखेर हरेक मान्छेको मन मोहित बन्छ । फूल हेर्न,समीपमा जान, स्पर्श गर्न, जानकारी लिन र सुगन्धको अनुभूति गर्न लालायित हुन्छ मान्छे । फूललाई मानव जीवनको भावनात्मक सुन्दरता, पवित्रता, असल स्वभाव र कोमलताको प्रतीक पनि मान्न सकिन्छ । फूल प्रकृतिको निरन्तरता र वातावरणको संरक्षक पनि हो । धार्मिक, साँस्कृतिक, सामाजिक, शारीरिक, मानसिक, भावनात्मक र वातावरणीय महत्व र फाइदाहरू धेरै भएको फूलको आर्थिक महत्व र दायरा वर्तमान समयमा बढ्न थालेको छ ।
फूल उत्पादन, प्रशोधन र निर्यात गर्ने प्रमुख राष्ट्रहरूमा निदरल्यांनड, कोलम्बिया, ईक्वेडर र केन्या हुन भने बेलायत, जर्मनीलगायत विश्वका प्राय सबै देशहरूमा फूलको उत्पादन, प्रयोग र बिक्री वितरण हुन्छ । फूलको व्यावसायिक उत्पादन र कारोबार तीव्र गतिमा बढिरहेको छ ।
सहरहरूका प्रत्येक घरले एक वा दुई छायाँ वा शीतल दिने बोटबिरुवा रोपेर हुर्काउनु पर्ने नीति नियम, अधिकांश घरहरूमा फूलबारी र बगैचा अनि प्रत्येक टोल र छिमेकको नजिकै पार्क उद्यानहरू, सडक छेउमा बोटबिरुवा र तिनीहरूको संरक्षण सम्वर्दधनमा जनता र स्थानीय सरकारले सबै तर्फबाट चासो र सक्रियता आवश्यक छ । अभियान केवल देखावटी भने हुनु हुँदैन । सहरलाई हरियाली कायम राख्न, वातावरण सुन्दर बनाउन दमकेली युवाले थालेको प्रयास प्रशंसनीय छ ।
हरेक वर्ष भारतबाट ठूलो परिमाणमा फूलको आयात गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै झापाका युवाहरुले सडक आसपास र खाली जमिनहरुमा फूलखेती गर्ने योजनालाई स्थानीय सरकारले समेत प्रोत्साहन गर्ने हो भने बातावरण स्वछ हरावरा हुनका साथै फूलमा हुने परनिर्भरताको ग्राफलाई घटाउन सकिन्छ ।
[email protected]

आइतबार, २२ साउन, २०७९, साँझको ०६:०७ बजे

सम्बन्धित खवर