दूधकोसी  जलविद्युत आयोजनाको परीक्षण  शुरू

ओखलढुंगा / ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-६ भदौरे र खोटाङको रावाबेँसी गाउँपालिका-३ लामीडाँडाको सिमानामा पर्ने जलविद्युत आयोजनाको ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्न आइइइको काम थालिएको छ।

आइइइको प्रारम्भिक रिपोर्टकै आधारमा प्रत्यक्ष प्रभावित तथा अप्रत्यक्ष प्रभावित क्षेत्रमा मुआब्जादेखि पुनर्वासका काम हुनेछन्। करिब छ महिनाभित्र पूरा गर्नेगरी इटालीको इएलसी इलेक्ट्रोकन्सल्टले आयोजनाको सर्किट प्रसारण लाइनका लागि आइइइको काम थालेको हो। ६३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको प्रसारण लाइनको प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ)को काम शुरू गरिएको छ।

दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको आयोजनास्थलदेखि धनुषाको ढल्केबरसम्मको करिब १०२ किलोमिटर दूरीमा डबल सर्किट प्रसारण लाइनको प्रारम्भिक वातावरणीय परीक्षण थालिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आयोजनास्थल ओखलढुंगाको भदौरेदेखि धितुङ–जयराम–हिलेपानी–घुर्मी–कटारी–सिन्धुली हुँदै ढल्केबर जोड्ने प्रसारण लाइनका कारण भौतिक, सामाजिक, आर्थिक, वातावरणीय लगायतका क्षेत्रमा पुग्ने असर र प्रभावका बारेमा अध्ययन शुरू गरिएको इएलसी इलेक्ट्रो कन्सल्टले जनाएको छ।
प्रत्यक्ष प्रभावित क्षेत्र मानिने टावर र तारको दायाँ–बायाँ २३/२३ मिटर तथा अप्रत्यक्ष प्रभावित क्षेत्र मानिने दायाँ–बायाँ पाँच/पाँच सय मिटर क्षेत्रमा भएका घर, बस्ती, खेतीयोग्य जमिन, वनजंगल, पहिरोलगायतका अवस्था तथा पर्ने असरबारे ‘स्याम्पल सर्भे’ शुरू गरिएको इएलसी इलेक्ट्रोकन्सल्टका आइइइ फिल्ड कोअर्डिनेटर नितेश खड्काले बताए।

२३ कात्तिकदेखि तालिम दिइएका १० जना स्थानीय सर्भेक्षणकर्तालाई तिहारपछि आइइइको सर्भेक्षणका काममा खटाइएको खड्काको भनाई छ। सर्किट प्रसारण लाइनको रुटमा कस्तो वस्ती छ, ककसको कस्ता खालका जग्गा छन्, रुटमा पहिरो छन् कि, कस्ता खालका वन छन्, कसैको करेसाबारी वा बगैँचा पर्छ कि भनेर स्याम्पल लिने काम भइरहेको उनले बताए। यसबाट प्रसारण लाइनको रुटमा पर्ने टावर र तारको आसपासमा केके पर्छ, भौतिक रूपमा केके छन्, केलाई कस्तो असर पुग्छ, कति क्षति हुन्छ, भौतिक, जैविक, सामाजिक वातावरण कस्तो छ, आर्थिक हैसियत के छ भन्ने जानकारी लिन सकिने खड्काले जानकारी दिए।

२०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइएको छ। भ्याटसहित करिब २.२ विलियन अमेरिकी डलरमा सम्पन्न हुने अनुमान गरिएको आयोजनाको जलाशयबाट जल-पर्यटनको उत्तिकै सम्भावना रहेको बताइएको छ।

सन् १९८५ मा जाइकाले नेपालको ६ वटा जलाशययुक्त आयोजनामध्ये आकर्षक आयोजनाका रूपमा पहिचान गरेको तथा सन् २०१३ मा जाइकाले नै दोस्रो पटक अध्ययन गर्दा १० वटा जलाशययुक्त आयोजनामध्ये एक नम्बरमा छानेको आयोजनाबाट वार्षिक तीन अर्ब ४४ करोड ३० लाख युनिट ऊर्जा उत्पादन हुने विद्युत प्राधिकरणले जनाएको छ।

जलविद्युत आयोजनाका लागि बाँध हाल्दा खोटाङको ३४ लाख २२ हजार ६०३ वर्गमिटर, ओखलढुंगाको ३५ लाख १२ हजार ३२२ वर्ग मिटर र सोलुखुम्बुको एक लाख ७१ हजार चार वर्ग मिटर जमिन प्रभावित हुँदा खोटाङका ६५७ धुरी, ओखलढुंगाका २७९ धुरी र सोलुखुम्बूका १४ धुरी गरी कुल एक हजार १५० घर धुरी डुबानबाट प्रभावित हुने वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनमा उल्लेख छ।

पूर्ण प्रभावित १६२ घरपरिवारमध्ये ओखलढुंगाका २५, खोटाङका ८१ र सोलुखुम्बुका दुई घर पूर्ण रूपमा डुबानमा पर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।‍ आयोजनाका लागि ड्याम बनाउँदा दूधकोसीमा १७ किलोमिटर, रावा खोलामा आठ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर जलाशय सिर्जना हुने प्रतिवेदनमा लेखिएको छ।

सोमबार, २२ मंसिर, २०७७, बिहानको १०:११ बजे

सम्बन्धित खवर