पार्वती अधिकारी/श्रीप्रसाद विष्ट

माटो पृथ्वीको एक महत्त्वपूर्ण आधारभूत प्राकृतिक तत्त्व हो, जसको वनजंगल, बालीनाली, जलवायु, खनिज पदार्थ, जलस्रोत, मानिसको बसोबासलगायत जीवनयापनमा प्रत्यक्ष या परोक्ष सम्बन्ध रहेको हुन्छ । यसै वास्तविकतालाई मध्यनजर राख्दै यस वर्षको विश्व माटो दिवस ‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात’ भन्ने मूल नाराका साथ आज सन् २०२२ को डिसेम्बर ५ का दिन मनाइयो ।

माटो जोगाउनुपर्छ, किनभने माटोबाट नै पृथ्वीमा जीवित प्राणीहरूको खाद्य शृंखलाको सुरुवात हुन्छ, जसले पोषणका लागि माटोको महत्त्व र खाद्य पदार्थमा यसको प्रभावलाई ध्यान केन्द्रित गर्न आग्रह गर्छ । त्यसैगरी माटो व्यवस्थापनका चुनौतीहरूलाई सम्बोधन गरेर स्वस्थ पारिस्थितिक प्रणालीको स्थापना गरी खाद्य उत्पादनको महत्त्वका बारेमा सचेतना बढाउनु र समाजलाई माटोको स्वास्थ्य सुधार गर्न प्रोत्साहित गर्नुसमेत यस वर्षको माटो दिवसको मुख्य उद्देश्य रहेको छ, जसबाट माटोको संरक्षण गरी व्यवस्थापन गर्ने र माटोलाई स्वस्थ राखी बाली–बिरुवाको उत्पादन र उत्पादकत्व बढाउने कुरालाई लक्षित गरेको छ ।

यसै सन्दर्भमा माटो व्यवस्थापनलाई विशेष प्राथमिकता दिएर यो लेख तयार गरिएकैं छ । पृथ्वीमा एक सेन्टिमिटर माटोको तह बन्न करिब ४ सय वर्ष लाग्छ । माटो विभिन्न प्राकृतिक र जैविक तत्त्वहरू मिलेर बनेको हुन्छ । यसमा विभिन्न बाली–बिरुवालाई चाहिने धेरै किसिमका खाद्यतत्त्वहरू रहेका हुन्छन् । मानिस तथा जनावरहरूलाई झैं बोटबिरुवालाई पनि खानाको आवश्यकता पर्छ । त्यही खानाबाट बोटबिरुवाले बढ्न, हुर्कन, फुल्न र फल्नका लागि खाद्यतत्त्वहरू प्राप्त गर्छन् । ती तत्त्वहरूलाई नै बोटबिरुवाका लागि चाहिने खाद्यतत्त्व अथवा पोषक तत्त्व भनिन्छ ।

बोटबिरुवाले आफूलाई चाहिने खाद्यतत्त्वमध्ये धेरैजसो माटोबाट, केही हावाबाट र बाँकी पानीबाट प्राप्त गर्छन् । माटोबाट बढीभन्दा बढी उत्पादन लिन माटो उर्वर हुनु आवश्यक हुन्छ । माटोको उर्बरापन त्यो गुण हो जसले बिरुवालाई नभइनहुने प्रांगारिकलगायतका मुख्य तथा सूक्ष्म खाद्यतत्त्वहरू प्रशस्त मात्रामा बाली–बिरुवालाई प्रदान गर्छ । अधिकांश बाली–बिरुवाका लागि पिएच मान ५.५ देखि ६.५ सम्म भएको माटोलाई उर्वर माटो भनिन्छ ।

उर्वराशक्ति भनेको माटोको उत्पादन क्षमता हो, जसले उत्पादन र उत्पादकत्व दुवै वृद्धि गर्छ । माटोको उर्वराशक्ति बढाउन बिरुवालाई आवश्यक पर्ने विभिन्न किसिमका मलहरू सन्तुलित मात्रामा प्रयोग गर्नुपर्छ । मल प्रयोग गर्दा सावधानी अपनाउने, बाली चक्रका आधारमा खेती गर्ने र बाली थन्क्याइसकेपछि बाँकी रहने ढोड, पराल, छ्वाली आदिलाई जोतेर माटोमा नै मिलाउने गर्नुपर्छ । माटोबाट बिरुवालाई चाहिने खानेकुरा लिने मात्र नगरी माटोलाई प्रशस्त मात्रामा खाद्यतत्त्वहरू दिने पनि गर्नुपर्छ ।

नेपाल कृषिप्रधान देश भएकाले पनि नेपालमा माटोको महत्त्व उच्च छ । हाल ६० प्रतिशतभन्दा पनि बढी जनसंख्या प्रत्यक्ष वा परोक्ष रूपमा कृषि पेसामा संलग्न छन् । भौगोलिक बनावटका हिसाबले पनि नेपालमा विभिन्न अन्नबाली, फलफूल, तरकारी, पशुपालनमा विविधता पाउन सकिन्छ । विकसित मुलुकहरूको तुलनामा नेपालमा कृषिजन्य वस्तुहरूको उत्पादकत्व धेरै नै कम छ । हाम्रो देशमा उन्नत जातको प्रयोग तथा मलखादकैं उचित व्यवस्थापन गर्न सक्ने हो भने मात्र पनि कृषिजन्य वस्तुहरूको उत्पादकत्व हालको भन्दा करिब दोब्बर बढाउन सकिन्छ ।

स्थानीय जातहरूको उत्पादनको तुलनामा उन्नत तथा वर्णशंकर जातकैं उत्पादन बढी हुने हुँदा यी जातहरूलाई खाद्यतत्त्व पनि बढी नैं आवश्यकता पर्छ । नेपालको माटोमा पोषक तत्त्वहरूको मात्रा निकै कम हुँदै गइरहेको र प्राकृतिक हिसाबले पनि खाद्यान्न बालीहरूलाई धेरै मात्रामा खाद्यतत्त्वहरू आवश्यक पर्ने भएकाले ती तत्त्वहरू मल वा मलखादका रूपमा माटोमा उपलव्ध गराउनुपर्छ । माटोमा कुन खाद्यतत्त्वको कमी वा अपुग छ भन्ने कुरा माटोको परीक्षण गरेर वा नेपाल कृषि अनुसन्धान परिषद्बाट जारी गरिएको डिजिटल माटोको नक्साबाट माटोको अवस्थाबारे जानकारी प्राप्त गर्न सकिन्छ ।

मलको प्रकृति, माटोको प्रकार, अन्नबाली, फलफूल तथा तरकारी आदि कुन बाली हो त्यसअनुसार आवश्यक पर्ने पोषक तत्त्वहरूको परिमाण, माटो परीक्षणको नतिजा, बिरुवा जाँचको नतिजा आदिका बारेमा जानकारी लिई माटोमा पोषक तत्त्वहरू दिनुपर्छ । मलको प्रयोगबाट बढीभन्दा बढी फाइदा लिन मलहरू सही समय, सही मात्रा, सही तरीका र सही ठाउँमा प्रयोग गर्नुपर्छ । बाली–बिरुवाहरूका लागि आवश्यक मानिएका विभिन्न खाद्यतत्त्वहरूमध्ये १७ वटा खाद्यतत्त्व मुख्य छन् ।

बोटबिरुवाहरूले वृद्धि विकासका लागि आवश्यकताअनुसार कति मात्रामा यी खाद्यतत्त्वहरू प्रयोग गर्छन् सोहीअनुसार यिनीहरूलाई मुख्य खाद्यतत्त्व र सुक्ष्म खाद्यतत्त्व गरी दुई भागमा विभाजन गरिएको छ । ती खाद्यतत्त्वहरू विभिन्न स्रोतहरूबाट माटोको माध्यमद्वारा बाली–बिरुवालाई प्राप्त हुन्छन् । पोषण तत्त्वका धेरै स्रोतहरूमा रासायनिक मल, गोठे मल, कम्पोष्ट मल, हरियो मल, जीवाणु मल आदिलाई मुख्य मानिएको छ । रासायनिक मल कृत्रिम तरिकाबाट कारखानामा उत्पादन हुन्छ ।

यसमा खाद्यतत्त्वको मात्रा बढी हुने भएकाले थोरै मात्रामा राखे पनि बाली–बिरुवाबाट राम्रो उत्पादन लिन सकिन्छ । गोठे मल जनावरहरूबाट प्राप्त गोबर, गहुँत तथा सोतरहरू कुहिएर बनेको मल हो । गोबरमा भन्दा गहुँतमा नाइट्रोजनको मात्रा दोब्बर हुने हुनाले सही समय र सही तरीकाले गहुँतको प्रयोग गरेमा उत्पादनमा वृद्धि गर्न सकिन्छ । गोठे मललगायत पातपतिंगर, पराल, छ्वाली, ढोड, खेतबारीमा गोडमेल गरेको घाँसपात, घरआँगनको फोहरमैला आदि जम्मा गरी कुहाएर बनाइएको मललाई कम्पोष्ट मल भनिन्छ ।

त्यसैगरी हरियो अवस्थामा माटोमा मिलाई मलको रूपमा प्रयोग गरिने र माटोको सुधार गर्ने उद्देश्यका लागि कुनै पनि बिरुवाका विभिन्न भाग वा पूरै बिरुवालाई हरियोमा नै जोतेर माटोमा मिसाउनुलाई हरियो मल भनिन्छ । हरियो मलको रूपमा प्रयोग गरिने बिरुवाहरूको डाँठ, पात, हाँगाहरू नरम हुन्छन्, त्यसैले माटो पल्टाई जोतिदिएमा कम चिस्यानमा पनि सजिलैसँग कुहिन्छ । यस किसिमको मलले बिरुवालाई प्रशस्त मात्रामा नाइट्रोजन प्रदान गर्छ । विशेष गरी हरियो मल कोसे बालीहरूबाट बनाइने हुनाले यस किसिमको मल सबै बाली–बिरुवाहरूका लागि निकै नै फाइदाजनक मानिन्छ ।

सबैजसो कोसेबालीहरूको जरामा रहने गिर्खाहरूभित्र रहेको राइजोबियम ब्याक्टेरियाको माध्यमद्वारा हावामा रहेको नाइट्रोजन स्थिरीकरण गरेर या सोसेर लिन्छ र माटोको मलिलोपना कायम राख्न मद्दत पुर्‍याउँछ । त्यस्तै बोटबिरुवालाई फाइदा गर्ने जीवाणुहरूलाई बालीनालीको जराबाट वा माटोबाट शुद्ध रूपमा छुट्याई प्रयोगशालामा हुर्काई, बढाई मलिलो माटो वा बीउलाई उपचार गरी त्यसमा आवश्यकताअनुसार चाहिने जीवाणु राखी बनाइएको मललाई जीवाणु मल भनिन्छ ।

यस किसिमका मलहरूमा खाद्यतत्त्वको मात्रा थोरै हुन्छ, तर थोरै मात्रामा भए पनि बोटबिरुवालाई सबै किसिमका तत्त्वहरू उपलब्ध हुन्छन् । यी मलहरू प्रांगारिक तत्त्वका मुख्य स्रोत पनि हुन् । यस मलको प्रयोगबाट माटोको भौतिक तथा पौष्टिक गुणमा वृद्धि भई माटो खुकुलो हुन्छ । अन्य मलहरू गँड्यौला मल, कुखुराको मल, गोबर ग्यासबाट निस्कने लेदो, भेडा बाख्राको मल, तोरी/तिल/भटमास आदिको पिना, गाईवस्तुको पिसाब, बालीका अवशेषहरू, मानिसका दिसा–पिसाबहरू, विभिन्न झोल मलहरू, धूलो मल (हाडको धूलो, काठको धूलो, खरानी) आदिलाई प्रांगारिक मलकैं रूपमा खेतबारीमा प्रयोग गर्न सकिन्छ ।

यस्ता विभिन्न किसिमका मलहरू प्रयोग गर्दा धेरै कुरामा ध्यान पुर्‍याउनुपर्छ । प्रांगारिक मल (गोठे/कम्पोष्ट /हरियो/कुखुराको मल आदि) को प्रयोग जमिन तयारीको बेलामा नै गर्नुपर्छ । त्यसैगरी हरियो मललाई बाली लगाउने १५ दिनअगाडि नै जोतेर माटोमा मिलाई जमिन तयार गरेर राख्नुपर्छ । पोषक तत्त्वको रूपमा नाइट्रोजन मल बोटबिरुवाका लागि सबै अवस्थामा आवश्यक पर्छ । सुरुको अवस्थामा कम पोषक तत्त्व भए पनि पुग्छ । बिरुवा बढ्दै जाँदा नाइट्रोजनको आवश्यकता पनि बढ्दै जान्छ भने अन्तिम अवस्थातिर बिरुवाको वृद्धि रोकिने भएकाले यसको आवश्यकता पनि कम हुन्छ ।

नाइट्रोजन पानीमा घुलनशील हुने हुनाले माटोबाट चुहिएर जान्छ, साथै हावामा उडेर नाश हुने पनि हुन्छ । त्यसैले कुनै पनि बालीमा नाइट्रोजनको प्रयोग एकैपटक नगरेर पटकपटक गरेमा बढी प्रभावकारी हुन्छ । फस्फोरस तत्त्वले बिरुवा हुर्कन सहयोग गर्छ, साथै फस्फोरस बिरुवालाई बिस्तारै उपलब्ध हुने हुनाले फस्फोरसयुक्त मलहरू बाली रोप्ने समयमा नै प्रयोग गर्नुपर्छ । पोटास तत्त्व पनि फस्फोरसजस्तै बिरुवालाई बिस्तारै उपलब्ध हुन्छ । त्यसैले पोटासयुक्त मल पनि बाली रोप्ने समयमा नै माटोमा मिलाउनुपर्छ ।

पोटास मल केही हदसम्म चुहिएर पनि जान सक्ने हुनाले बलौटे किसिमको माटोमा दुई पटक प्रयोग गर्नु प्रभावकारी हुन्छ । सूक्ष्म खाद्य तत्त्वहरू बाली लगाउने समयमा माटोमा प्रयोग गर्नुपर्छ । त्यसैगरी तालिम प्राप्त किसान वा कृषि प्राविधिकहरूको सहयोगमा सूक्ष्म खाद्यतत्त्वको सिफारिस मात्रालाई पानीमा मिसाएर स्प्रेयर ट्यांकीको माध्यमद्वारा बोटबिरुवाको पातमा पर्ने गरेर समेत छर्न सकिन्छ । यी खाद्यतत्त्वहरूलाई उचित मात्रामा पानीमा मिलाउन सकिएन भने बोटबिरुवाको पात वा पूरै बोट नै जलाउनसमेत सक्छ, यस्ता कुराहरूमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

माटो व्यवस्थापनमा कृषि चुनको धेरै महत्त्व छ । कृषि चुन माटोको पिएच बढाउन र अम्लीयपनामा सुधार ल्याउनका लागि आवश्यक तत्त्व हो । यसमा बिरुवाका लागि आवश्यक पर्ने क्याल्सियम र म्याग्नेसियम खाद्यतत्त्व पनि पाइन्छ । कृषि चुनले ढिलो प्रतिक्रिया देखाउँछ, त्यसैले माटोको पिएचमा सुधार वा फरकपन आउन कम्तीमा ६ महिना लाग्दछ । कृषि चुन बाली रोप्नुभन्दा दुई/तीन हप्तापहिले नै माटोमा मिलाइसक्नुपर्छ । माटोमा मिलिसकेपछि अम्लीयपनालाई बिस्तारै तटस्थ गर्दै लैजान्छ ।

बाली लगाइराखेको अवस्थामा चुनको प्रयोग गर्नु हुँदैन । धेरै अम्लीय अथवा पिएच कम भएको माटोमा कृषि चुनको प्रयोग गर्दा सिफारिस मात्रालाई दुई पटक गरी प्रयोग गर्दा लाभदायक हुन्छ । माटोमा कृषि चुनको अभाव भएमा गाउँघरमा पाइने खरानी पनि माटो सुधारको रूपमा प्रयोग गर्न सकिन्छ । त्यसैगरी माटो क्षारीय भएको अवस्थामा माटोमा जिप्समको प्रयोग गर्नुपर्छ । कृषि चुन र जिप्समको प्रयोग माटो परीक्षण गरिसकेपछि मात्र गर्नुपर्छ ।

(अधिकारी राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, खुमलटारकी प्राविधिक अधिकृत तथा विष्ट वरिष्ठ वैज्ञानिक हुन् ।)

Facebook Comments Box