उपाध्यक्ष गिरीको पहलमा हल्दिबारी गाउँपालिका लाई अक्सिजन कन्सट्रेटर र पिसिआर कीट

बैकल्पिक खवर

कोरोना भाइरसको संक्रमण बढेसंगै झापाका स्थानीय तहहरुले कोभिड अस्पताल र आइसोलेसन सेन्टर संचालन गरिरहेका छन् । केही स्थानीय तहहरु मा पिसिआर कीट समेत अभाव छन।पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर र डाक्टरको व्यवस्थापन हुन नसक्दा उपचार भने असहज बन्दै गइरहेको छ । यो असहज परिस्थितिका बाबजुद पनि जनप्रतिनिधिहरु निरन्तर स्वास्थ सामाग्रीको जोहो गर्न देखि संक्रमणमा परेकाको हेरचाहमा तल्लीन रहेका छन ।

यसै क्रममा, झापाको हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले आफ्नै पहलमा अक्सिजन कन्सन्ट्रेटर र पिसिआर कीट उपलब्ध गराएका छन । गिरीको पहलमा आइसोलेशन सेन्टरका लागि ३ थान अक्सिजन कन्सन्ट्रेटर र २०० थान पिसिआर किट करुणा फाउन्डेसन नेपाल मार्फत हल्दीबारी गाउँपालिकालाई उपलब्ध गराएका हुन । गिरिको पहलमा करुणा फाउन्डेसन मार्फत सो सामाग्री उपलब्ध हल्दिबारी गाउँपालिकाका स्वास्थ शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए ।

प्राप्त सामग्री फाउन्डेसनले आजै गाउँपालिकाका उपाध्यक्ष गिरीलाई हस्तान्तरण गरेको र उपाध्यक्ष गिरीले पनि गाउँपालिको स्वास्थ्य शाखालाइ उक्त सामग्री हस्तान्तरण गरिसकेको जनाइएको छ ।

२ जनाले प्रयोग गर्न मिल्ने र आफै अक्सिजन उत्पादन हुने ३ वटा अक्सिजन कन्सन्ट्रेटरबाट एकै पटक ६ जनाले श्वास फेर्न मिल्ने स्वास्थ शाखा प्रमुख निरौलाले बताए । गाउँ कार्यपालिकाको निर्णय बमोजिम हल्दीबारीमा १०० शैयाको आइसोलेसन सेन्टर निर्माण गर्ने निर्णय भएको भएता पनि अक्सिजन सिलिन्डरको अभावमा हाल २० शैया मात्र संचालनमा ल्याइएको थियो ।                                 

यससंगै, गाउँपालिका क्षेत्रबाट कोरोनाका विरामीहरु अन्य अस्पतालमा जानू पर्ने बाध्यता न्यूनीकरण हुने भएको छ । विरामीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै हल्दीबारीले १ जना एम.बि.बि.एस. डाक्टर र पर्याप्त स्वास्थ्यकर्मी सहित आइसोलेसन सेन्टर संचालन गरिरहेको उपाध्यक्ष गिरीले बताए ।

मङ्गलबार, २५ जेठ, २०७८, दिउँसोको १२:५४ बजे

सम्बन्धित खवर