एकरातमै फकाए ओलीले नेपाललाई,नेपाललाई अध्यक्षको अफर मिलन विन्दु, आज ‘निर्णायक’ वार्ता

२४ असार, काठमाडौँ/  राती अबेरसम्म ओली नेपाल टेलिफोन बार्ता भएपछि ओली नेपाल मिलनविनदु नजिक पुगेका छन् । रात अबेरसम्म नेपाललाई ओलीले पार्टी अध्यक्ष बनेर पार्टी हाँक्न तयार हुनुहोस् तर हस्ताक्षर फिर्ता लिनुहोस् भनेपछि नेपाल सहमतिको विन्दु नजिक पुगेको प्रधानमन्त्री कार्यालय श्रोतले जनाएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद समाधानका लागि कार्यदलले आज ‘निर्णायक’ वार्ता गर्ने भएको छ । विवाद समाधानका लागि आज पनि सिंहदरबारमा बैठक बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

कार्यदल सदस्य प्रदीप ज्ञवालीले यसअघि हिजोको छलफल निष्कर्षउन्मुख भएको र आज टुंगोमा पुग्ने बताए ।

बुधबार विवाद समाधान गर्न गठित उच्चस्तरीय कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको संवादले पनि विवाद समाधान हुने संकेत मिलेको हो ।

होटल मेरियटमा भएको छलफलमा दुई नेताबीचको संवाद सकारात्मक भएकै बैठकमा सहभागी नेताहरुले जनाएका छन् । वार्ताबाट सहमति गरी पार्टी एकजुट भएको सन्देश दिने गरी वक्तव्य निकाल्ने प्रयास भए पनि त्यसलाई बिहीबार अन्तिम रूप दिने सहमति भएको जनाइएको छ ।

ओली-नेपाल वार्तामा पार्टीलाई एकजुट बनाउन दुवै नेताहरू लचक देखिएको एमालेका दोस्रो तहका नेताहरूको भनाइ छ । एमाले नेता तथा कार्यदल सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको छलफल सकारात्मक भएको बताए ।

‘सकारात्मक ढंगले कुरा भएको छ । अब छिटै निकास निस्कनेमा आशावादी छौं,’ नेता पाण्डेले भने ‘संयुक्त विज्ञप्ति आउने विषय धेरै अघि बढेको छ, आज बस्ने कार्यदलको बैठकपछि ठोस निष्कर्ष निस्किन्छ ।’

कार्यदलका संयोजक समेत रहेका नेता सुवासचन्द्र नेम्वाङले बैठकमा गम्भीर र सकारात्मक छलफल भएको बताए । बिहीबारसम्ममा सबै विवादित विषयमा सहमति जुट्ने उनले बताए । अहिलेसम्म भएको प्रगतिबारे शीर्ष नेताहरूसँग समेत छलफल भएको उनले जानकारी दिए ।

कार्यदलका सदस्यहरू विगत तीन दिनदेखि निरन्तर छलफलमा छन् । सोमबार, मंगलबार र बुधबार गरी तीन दिनको छलफलपश्चात् पार्टी एकताको खाका तयार गर्न कार्यदलबीच सहमति जुटेको हो ।

कार्यदल सदस्य तथा एमाले सचिव गोकर्ण विष्टले नेकपा एमालेको पूर्ववत कमिटी ब्युँताउने विषयमा सहमति जुटिसकेको, अदालतमा विचाराधीन मुद्दा र संसद विघटनका बारेमा समेत साझा धारणा तय गर्ने विषयमा कार्यदलमा छलफल जारी रहेको बताए ।

उनले भने, ‘धेरै बुँदामा सहमति नजिक पुगेका छौँ । पार्टी र जनवर्गीय संगठनलाई पूर्ववत बनाएर क्रियाशील बनाएर जाने सन्दर्भमा केही समयअघि नै सहमतिका पुगेका थियौँ । लामो समयको विवादलाई समाधानमा ल्याउनका लागि अनौपचारिक/औपचारिक प्रयत्न आवश्यक पर्दारहेछन् ।’

कार्यदलमा ओली समूहबाट संयोजक नेम्वाङ, सदस्यमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । यस्तै, नेपाल समूहबाट भीम रावल संयोजक र सदस्यमा घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त रहेका छन् ।

बिहिबार, २४ असार, २०७८, बिहानको ०८:४९ बजे

सम्बन्धित खवर