ओमिक्रोन भेरियन्टबाट सावधानी

    === उच्च संक्रामक भेरियन्टहरू त्यत्तिकै घातक देखिएका छन् भने खासगरी भ्याक्सिन नलगाएकाहरूमा नयाँ भेरियन्टको असर बढी देखा परेको छ । विश्वमा हालसम्म देखिएका कोभिडका खतरनाक भेरियन्ट सार्स कोभिडअन्तर्गत म्युटेट भएर कति किसिमका नयाँ भेरियन्ट देखिए भन्ने तथ्यांक छैन, तर प्रत्येक लहरमा घातक बन्दै आएका म्युटेट भेरियन्टहरूमाथि भने अनुसन्धान भइरहेको छ । =====

देवेन्द्र अर्याल ‘आँसु’

कोभिड–१९ ले आक्रान्त विश्वमानव समुदाय पछिल्लो समयमा आएर यसका विभिन्न भेरियन्टका कारण झनै प्रताडित बन्न पुगेको छ, जसले हालसम्म विश्वभरि लाखौँ मानिसको ज्यान लिइसकेको छ । कोरोनाको दोस्रो भेरियन्टले नेपाललगायत विश्वका विभिन्न देशमा तहल्का मच्चाइरहेको छ ।
पछिल्लो समयमा विश्वका १९ भन्दा बढी देशमा ओमिक्रोन भेरियन्टको लक्षण देखा परेको छ । नेपालमा पनि स्वस्थ्य मन्त्रालयले ओमिक्रोन भेरियन्टका दुई नयाँ विरामी देखिएको जनाएको छ । कोभिडको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनले प्रतिरक्षालाई कमजोर बनाउने र हालसम्मको भेरियन्टमा यो सबैभन्दा बढी संक्रामक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यसबाट सबैभन्दा बढी संक्रमित दक्षिण अफ्रिका, युरोप, अमेरिकाका देश बढी प्रभावित भएका छन्, जसमध्ये सबैभन्दा बढी दक्षिण अफ्रिकामा ७७ जनामा यो भाइरसका संक्रमित भेटिएका छन् । त्यस्तै, वोत्सवानामा १९, बेलायतमा १४, नेदरल्यान्डमा १४ र पोर्चुगलमा १३ जनामा नयाँ भेरियन्ट पुष्टि भएको छ । त्यस्तै, अस्ट्रेलियामा ६ जर्मनी र इटलीमा ४–४, क्यानडा र हङकङमा ३–३ र डेनमार्क र इजरायलमा २–२ जनामा संक्रमण देखिएको छ । स्वीडेन, स्पेन, जापान, फ्रान्स, चेक रिपब्लिक, बेल्जियम र अस्ट्रियामा समेत १–१ जनामा संक्रमण देखिएको छ ।
दक्षिण अफ्रिकाको बोत्सवानामा पहिलो पटक देखिएको यो भेरियन्ट तीव्र गतिमा फैलिएपछि विभिन्न देशले सो देशमा आवतजावतमा रोक लगाउन थालेका छन् । ओमिक्रोन भेरियन्टका ५० भन्दा बढी म्युटेसन पाइएका छन् । जसमध्ये ३० वटा स्पाइक प्रोटिनमा म्युटेसन भएको देखिन्छ । जसका कारण यो तीव्र संक्रामक बनेको हो । सुरुमा डेल्टा भेरियन्टमा पनि भ्याक्सिन प्रभावकारी नहुने बताइएको थियो । नयाँ भेरियन्ट धेरै म्युटेसन र संक्रामक रहे पनि संक्रमण देखिएका व्यक्तिमा गम्भीर स्वास्थ्य समस्या भएको देखिएन । तर, संक्रमण बढ्ने भएकाले सीमा र एयरपोर्टमा निगरानी बढाउनु जरुरी देखिन्छ ।
सामान्यतया फरक म्युटेसनले प्रतिरक्षा कमजोर पार्ने हुँदा प्रयोगमा आइरहेका भ्याक्सिनहरू प्रभावकारी नहुन सक्छन् । यो उच्च संक्रामक र पहिले संक्रमण भइसकेकामा बढी देखिएकाले भ्याक्सिनले काम नगर्न सक्छ । त्यसका बारेमा बृहत् अनुसन्धान तथा खोज अफ्रिकाको क्वाजालु नताल विश्वविद्यालयका वैज्ञानिकहरूले गरिरहेका छन् । संक्रमण देखिएका बिरामीलाई फाइजर र मोडर्ना भ्याक्सिनमा परीक्षण भइरहेको सञ्चारमाध्यमले जनाएका छन् ।
तर वैज्ञानिकहरूले ओमिक्रोनले छिटोभन्दा छिटो प्रतिक्रिया देखाइरहेको छ । यो तीव्र रूपमा फैलिए पनि यसको असर अन्य भेरियन्टको भन्दा कम देखिएकाले खासै आत्तिनु नपर्ने वैज्ञानिकहरूले बताएका छन् । त्यसो भने पनि सामाजिक दूरी, मास्कको प्रयोग स्वास्थ्य मापदण्डको पालना आदिलाई कायम नै राख्नुपर्छ । यसको जोखिम विश्वव्यापी रूपमा बढ्ने भएका कारण विश्वका सबै देशले सीमा र एयरपोर्टमा कडा निगरानी राखेका हुन् ।
त्यस्तो संक्रमितलाई सरकारले छुट्टै व्यवस्थापन गर्नु जरुरी देखिन्छ । उनीहरूमा कोभिड परीक्षण गरेर निश्चित समय क्वारेन्टाइनमा राखिने मन्त्रिपरिषद्को बैठकले पनि निर्णय गरिसकेको छ । त्यस्ता भेरियन्ट देखिएको देशमा हवाई उडान स्थगित गर्ने पनि निर्णय गरिएको छ भने नाकाका हेल्थ डेस्कलाई एन्टिजेन पोजिटिभ आएका नमुना प्रदेश जनस्वास्थ्य प्रयोगशालामा समन्वय गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन स्वास्थ्य सेवा विभागले सिफारिस गरेको छ ।
कोरोनाका विभिन्न भेरियन्टका बारेमा अमेरिकामा व्यापक रूपमा अनुसन्धान भए पनि हालसम्म यसका कतिवटा भेरियन्ट देखा परेका छन् भन्ने यकिन हुन सकेको छैन । म्युटेट भएर आएका भाइरसका प्रत्येक भेरियन्टको अध्ययन भइरहेको पाइन्छ । तर, अध्ययनअनुसार म्युटेट भएर आएका नयाँ भेरियन्ट अघिल्ला भेरियन्टभन्दा बढी घातक हुने पनि अध्ययनले देखाएको छ ।
शरीरको एन्टीबडीलाई छल्ने तथा परीक्षणमा समस्या ल्याउने र भ्याक्सिनको प्रभावलाई घटाउने लक्षण देखिएको छ । यस्ता लक्षण भएका त्यस्ता भेरियन्टहरू भेरियन्ट अफ कन्सर्नअन्तर्गत पर्छन् । जुन भाइरस अन्य भाइरसको तुलनामा ५० प्रतिशतभन्दा बढी घातक हुने अनुसन्धानले देखाएको छ । तर, हालसम्मको अध्ययनमा भने हाई कन्सिक्वेन्सेस खालका भेरियन्टहरू भेटिएको पुष्टि भएको छैन । भाइरसमा भएका स्पाइक प्रोटिनका आधारमा संक्रमणको जोखिम फरक फरक हुने गरेको पाइन्छ ।
लगातार म्युटेड भइरहेका यस्ता भेरियन्टहरूमध्ये केही प्रतिशत मात्र उच्च संक्रामक र घातक छन् । यस्ता भेरियन्टहरूमध्ये केहीले अन्य भाइरसलाई नै असर गरिरहेका हुन्छन् । तर, केही भेरियन्ट यस्ता छन्, जुन शतप्रतिशत घातक हुन्छन् । उच्च संक्रामक भेरियन्टहरू त्यत्तिकै घातक देखिएका छन् भने खासगरी भ्याक्सिन नलगाएकाहरूमा नयाँ भेरियन्टको असर बढी देखा परेको छ ।
नेपालमा पछिल्लो समय देखिएको ओमिक्रोनबाट हालसम्म २ जनामात्र संक्रमित भएको पुष्टि भएको छ । यी भेरियन्टहरू एकपछि अर्को देखिनुले सबैमा चिन्ता बढेको छ । विश्वमा हालसम्म देखिएका कोभिडका खतरनाक भेरियन्ट सार्स कोभिडअन्तर्गत म्युटेट भएर कति किसिमका नयाँ भेरियन्ट देखिए भन्ने तथ्यांक छैन, तर प्रत्येक लहरमा घातक बन्दै आएका म्युटेट भेरियन्टहरूमाथि भने अनुसन्धान भइरहेको छ ।

बुधबार, २२ मंसिर, २०७८, बिहानको ०८:४७ बजे

सम्बन्धित खवर