महामारी नियन्त्रणमा खुलेर हातेमालो

मानवजाति अहिले यो विना हतियारको युद्ध जित्ने आशामा आफ्ना दैनिक गतिविधि एवं आनीबानी सुधारको पद्धति अपनाइरहेका छन् । एकान्त बासमा छन् । सम्भव भए कोहि पनि आफ्नो घर डेरामा नआइदियोस् भन्ने अपेक्षामा छन् । कोरोना संक्रमणकै कारण मृत्युवरण गर्नेको संख्या २ लाख नाघिसकेको छ भने संक्रमितको संख्या ३० लाख नाघिसकेको छ । संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

खेमराज निरौला

विश्व अहिले कोरोना भाइरसले उत्पन्न गराएको संकट विरुद्धको युद्धमा छ । युद्ध निरन्तर चलिरहेको छ । यो विनाहतियारको युद्धको अग्रपंक्तिमा छन् स्वास्थ्यकर्मी र सुरक्षाकर्मी । यो लडाइँमा प्रायः विश्वका सबै मुलुकहरुको एउटै साझा शत्रु कोरोना भाइरस बनेको छ । कोरोना यति निर्मम ढंगले आफ्नो साम्राज्य फैलाउन सफल भएको छ कि विश्वका कुनै पनि मुलुक यसको आक्रमणबाट मुक्त छैनन् । मानवजाति अहिले यो विना हतियारको युद्ध जित्ने आशामा आफ्ना दैनिक गतिविधि एवं आनीबानी सुधारको पद्धति अपनाइरहेका छन् । एकान्त बासमा छन् । सम्भव भए कोहि पनि आफ्नो घर डेरामा नआइदियोस् भन्ने अपेक्षामा छन् । कोरोना संक्रमणकै कारण मृत्युवरण गर्नेको संख्या २ लाख नाघिसकेको छ भने संक्रमितको संख्या ३० लाख नाघिसकेको छ । संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । आर्थिक ,सामाजिक ,राजनीतिक गतिविधिहरु सबै ठप्प प्रायः छन् ।
मुलुक विगत चैत ११ गतेदेखि निरन्तर लकडाउनमा छ । सुरुमा कतिपय मुलुकले लकडाउनलाई मानबअधिकार हननका रुपमा लिए भने कतिपयले संक्रमणबाट छिटो भन्दा छिटो मुक्ति पाउने बैज्ञानिक पद्धती भएकाले अहिले लकडाउनको विकल्प नभएको बुझाइ रहेको छ । यो बुझाईमा सत्यता पनि छ किनभने अहिलेलाई सामाजिक दूरी कायम गरि सावधानी अपनाउनु नै यसको रोकथामको प्रभावकारी विकल्प भएको विशेषज्ञहरुको सल्लाह र सुझाब रहेको छ । हामीले सर्वप्रथम आफ्नो सुरक्षा गर्दै परिवार, गाउँ, समाज सबैमा सचेतना फैलाउने कार्य गरि यो महामारी बाट उत्पन्न हुनसक्ने मानविय क्षतिलाई नियन्त्रण गर्न अनवरत रुपमा लागिरहनुपर्ने अवस्था छ । कोभिड— १९ ले प्रभावित नपारेको अहिले सायद कुनै पनि क्षेत्र छैन होला । शैक्षिक, राजनीतिक, सामाजिक, आर्थिक, पर्यावरणीय, स्वास्थ्य, पर्यटन तथा देशको अर्थतन्त्रसँग जोडिएका साना ठूला सबै आयामहरु प्रभावित छन् । मानविय सभ्यतामाथि नै बज्रपात भईरहेको यो अवस्थामा मानविय ज्ञान, विवेक,सजगता एवं समझदारीले यो महामारीलाई परास्त गर्न विश्व समुदाय अहिले अनवरत लडाइँमा छ । कोरोना भाइरसको संक्रमणबाट प्रभावित मुलुकहरु आ— आफ्ना देशका नागरिकाको जीवन बचाउन हरतरहले लागिरहेकै छन् ।
यसमा कतिपय मुलुकले छिट्टै सफलता पनि पाउलान्, कतिपय मुलुकहरु जसको कमजोर अर्थतन्त्र छ, उनीहरुलाई अलिबढी समय लाग्ला । गरीब देशका तुलनामा सम्पन्न मुलुकहरुमा दक्ष जनशक्ति पनि उपलब्ध हुन्छन् । भनेको समयमा ठिक ठाउँमा सेवा सुविधा पनि उपलब्ध भइहाल्छ । तर हाम्रो जस्तो अलिकति नकारात्मक टिकाटिप्पणीमा रमाउने, सामाजिक सञ्जालको दुरुपयोग गर्ने ,महामारी र संकटलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न बानी परेका केही सीमित समूहहरुलाई महामारीको समय अवसर बनिदिन्छ । सार्वजनिक मिडियाबाट सामाजिक सद्भाव बिथोल्ने, सामाजिक सञ्जालमार्फत् त्रास फैलाउने , नकारात्मक भिडियो बनाएर आपराधिक गतिविधिमा लाग्ने प्रवृती किमार्थ जनहितमा हुँदैन ।
विपतका बेला आफूलाई चर्चित बनाउने कुत्सित मानसिकताका साथ प्रचार गरिने प्रवृती र आफूलाई नै समाचार र सूचनाको स्रोत ठानेर सूचना लुकाउने, बङ्ग्याउने अर्नगल प्रचार गर्ने मानसिकता बोकेको समाजका केही मानिसबाट सिंगो समाज र राष्ट्र प्रभावित हुनुहुँदैन । विकल्पका रुपमा सरकारले भारतसँग प्रतक्ष रुपमा सिमा नजोडिएका क्षेत्रहरुमा लकडाउनलाई केही खुकुलो बनाएर जनजीवनलाई सहज बनाउनेतर्फ सोच्नुपर्दछ भने प्रत्यक्ष सिमा जोडिएका ठाउँहरुलाई पूरै शिल गरी अझ कडाइका साथ लकडाउनलाई शसक्त बनाउनुपर्ने देखिन्छ । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले चालेका कदम सँगै नागरिक पनि त्यतिकै जिम्मेवार र सजग भइदिए संक्रमणलाई लिएर त्यति सारै अतालिनु पर्ने अवस्था आउदैनथ्यो । पहिले नै संक्रमण फैलिसकेका मुलुकहरुबाट हतार हतार गरेर बिना चेक जाँच ज्यानै जोखिममा पारेर घरभित्र पस्नुले समाजमा बढी आतंक फैलाएको छ । साथै सरकारले पनि समयमा अपनाउनुपर्ने सजगता नअपनाइदिँदा ,आवश्यक पूर्वतयारी समयमा नगरिदिँदा पनि जनतामा एक किसिमको सन्त्रास त उत्पन्न भएकै हो । यस्तो अबस्थामा संक्रमितसँग घुलमिल भएका व्याक्तिले नै खुलेर सरकारलार्ई सहयोग गर्नु त कता हो कता झन् लुकेर बसिदिनाले महामारी नियन्त्रणमा चुनौती थपिदिएको छ । लुकेर हैन खुलेर महामारी नियन्त्रणमा हातेमालो गर्नुपर्ने बेला हो अहिले । महामारीको फैलावटलाई हाम्रो मुलुकको स्वास्थ्य सेवाको क्षमता भित्रै सीमित राख्न सक्नु नै अहिलेको जोखिमपूर्ण चुनौतीका रुपमा रहेको छ । संक्रमितको संख्या दिन प्रतिदिन बढेसँगै सरकारले परीक्षणको दायरा पनि व्यापक र फराकिलो बनाउँदै लगेको छ । अन्य प्रभावित मुलुकहरुको संक्रमण दर र मृत्यु दरलाई हेर्ने हो भने पनि हाम्रो मुलुकको अवस्था बिग्रिसकेको भनेर भन्न सकिँदैन किनभने अहिले सम्म नेपालमा कोही पनि कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक छैन ।
तरपनि परीक्षणलाई प्रभावकारी बनाउन ट्रेसिङ र ट्रयाकिङलाई पनि उतिकै प्रभावकारी बनाउनुपर्ने देखिन्छ । मूलतःअहिलेको संक्रमण पनि आयातित नै भएकोले यसको सामुदायिक विस्तार रोक्ने कार्य बिश्वसनीय तवरले गर्नुपर्ने देखिन्छ । लकडाउन, सामाजिक दुरी, मास्क, कार्यस्थल बन्द, आवागमन बन्द, यातायात बन्द जस्ता सुन्दै अप्रिय लाग्ने कुराहरु अब कहिलेसम्म जाने हुन् अनिश्चित छ । शैक्षिक क्षेत्र अस्तव्यस्त छ । पर्यटन क्षेत्र त्यस्तै छ । वेरोजगारको समस्या दिनप्रतिदिन बढिरहेको छ । बिहान बेलुकाको हातमुख जोड्ने समस्या एकातिर गम्भिर रुपमा देखिएको छ भने अर्काेतर्फ मानव जीवन बचाउने चुनौती झनै टड्कारो रुपमा रहेको छ । यस्ता अनगिन्ती चुनौतीहरुको सामना गर्दे मानव सभ्यतालाई अहिलेको कोरोना संक्रमणबाट अप्रभावित राख्नुपर्ने चुनौतीपूर्ण लडाइँले सफलता पाउने आाशामा सिङ्गो विश्व समुदाय टोलाइरहेको अवस्था छ । अब कुनै तेस्रो विश्वयुद्धको आवश्यकता छैन ।
कोरोना युद्ध जितिसकेपछि नै तेस्रो विश्वयुद्ध जितेसरह हुन्छ । अश्त्र शस्त्र, मिसायल, क्षेप्यास्त्र, सैन्य प्रशिक्षणमा गरिने खर्च अब विग्रँदो विश्व अर्थतन्त्रलाई जिबन्त राख्नेतर्फ शक्तिसम्पन्न मुलुकहरुले सोच्नुपर्ने बेला आएको छ । कोभिड— १९ आउनु अगाडी नै विभिन्न रुप र नामका भाइरस र महाामारीले यो ब्रम्हाण्डलाई सताइसकेको छ । एकातर्फ सम्पूर्ण विश्व नै महामारीका विरुद्ध लडिरहेको छ भने हाम्रो मुलुकका कतिपय व्यापारी र ठेकेदारहरु भने न्यूनतम मानविय आचरणलाई समेत तिलाञ्जली दिँदै भ्रष्टाचार र कमिशनको व्यापारमा लाग्नु र अनुचित नाफा कमाउने उदेश्यले अत्यावश्यक वस्तु तथा सेवा होल्डिङ गर्ने कुकर्ममा लागेका घटनाले अब हाम्रो समाजमा व्यापारको सामान्य नैतिकता पनि लोप हँुदै गएको हो की भन्ने अत्यासलाग्दो स्थिती सिर्जना भएको छ । यस्तो विश्वव्यापी संकटका समयमा देशको सरकार चुस्त, पारदर्शी र प्रभावकारी हुनुपर्नेमा सरकारका मन्त्रीहरु नै भ्रष्टाचार र कमिशनको दाउमा लाग्ने अनि सरकार प्रमुख भने तिनै को प्रतिरक्षामा उत्रिने संस्कारको राजनीतिबाट जनताले यो महामारीमा कसरी आफुलाई सुरक्षित राख्ने हो चिन्ताको विषय बनेको छ । यस्तो संकटको घडिमा निःश्वार्थ नेतृत्वको अपेक्षा बढी हुन्छ । सरकारका जिम्मेवार सदस्यहरु कमिशन र भ्रष्टाचारमा लाग्ने, सरकार प्रमुख मैले थाहा नै पाइन भनेर पन्छिने नाटकिय शैलीले यो सरकार अहिलेको महामारीबाट मुलुक र जनतालाई त्राण दिलाउन कतै आफ्नो जिम्मेवारीबाट चुकिरहेको त छैन भन्ने आशंका बढ्दै छ ।

शुक्रबार, २५ असार, २०७८, बिहानको ०९:०१ बजे

सम्बन्धित खवर