कुनै समय लिम्बू र लेप्चाहरू दाजुभाइ थिए

राजकुमार दिक्पाल

विक्रमको उन्नाइसौं शताब्दीको मध्यसम्म सिक्किममा बसोबास गर्ने मुख्य जाति लेप्चा र भोटियाहरू थिए। उनीहरूमध्ये लेप्चाहरू शुरूदेखि नै सिक्किममा बसोबास गर्दै आएका थिए। भोटियाहरू सत्रौं शताब्दीमा त्यस देशभित्र पसेका थिए। सिक्किमको निर्माणमा भोटियाहरूले महत्त्वपूर्ण योगदान दिएकाले उनीहरू लेप्चाभन्दा अगाडि परे।

राजकुमार दिक्पाल

लिम्बूहरूले आफूहरूको आवाद क्षेत्रका अन्य समुदायमध्ये लेप्चाहरूलाई सबैभन्दा नजिकको समुदायका रूपमा लिने गरेका छन्। उनीहरूले परिआएको अवस्थामा एक-अर्कालाई सहयोग गरेको इतिहास पाइन्छ। वंशावली अनुसार, कुनै समय लिम्बू र लेप्चाहरू दाजुभाइ थिए।

मावोहाङ यक्सो वंशावली अनुसार, मुनाफेनहाङका तीन छोरा लासाहाङ, खालाहाङ र इमेहाङ थिए। तीमध्ये लासाहाङका सन्तान यक्सो लगायत ३४ थरी मावोहाङवंशी भए। खालाहाङका सन्तान काङ्मा, मावखिम, यरङ्वा, लक्सम, मादेम्वा आदि भए। इमेहाङका सन्तान चाहि लेप्चा भए (‘यक्सो इत्लाम’, २०७०ः६३)।

लिम्बूवान भनेर जुन भूगोललाई चिनिन्छ, त्यहाँ पहिल्यैदेखि लेप्चाहरू आवाद रहेका थिए। यो भूमिमा आठ सामन्त प्रमुख (सावा येत्हाङ)हरू विभिन्न ठाउँमा विभाजित भएर शासन चलाइरहेका थिए। उनीहरूमा होन्देङहाङ, याकेतनहाङ, चेस्वीहाङ, लारासोपाङ्वोहाङ, खेसिवाहाङ, इकाङ्सोहाङ, खादिहाङ र इमेहाङ थिए। इमेहाङ लेप्चाहरूको नेता थिए। पूर्वमा देउमाईदेखि उनीहरू टिस्टा, दार्जिलिङ र सिक्किमसम्म फैलिएका थिए (चेम्जोङ, इमानसिंह, ‘किरात इतिहास र संस्कृति’-२०६३ः४१)।

जेडी हुकर र एमडीआरएनएफएसले आफ्नो पुस्तक ‘हिमालयन जर्नल’ मा हिमाली देशका लिम्बू र लेप्चा आराकानवासी कारेनसँग तुलना गरेका छन्। संस्कृति, पोशाक र सैनिक चालबाजीमा यी जाति एउटै छन् भनी उनीहरूले उल्लेख गरेका छन् (चेम्जोङ, उहीः४२)।

अहिले पनि लिम्बूमा लेप्चाहरू निकट इमेहाङ थरका लिम्बूहरू छँदै छन्। हाल इलामको देउमाई नगरपालिका (साबिकको धुसेनी गाविस)मा रहेको केवाबुङ (आम्दाङ) यक (गढी)लाई इमेहाङ अर्थात् लेप्चाहरूको गढीका रूपमा लिइने गरिन्छ।

त्यसबेला १० लिम्बू १७ थुममा १२ जना नामी सुब्बाहरू थिए। तीमध्ये फेदापको आतहाङको नेतृत्वमा तम्बरखोलाको शुभवन्त राय, मैवाखोलाका श्रीदेव राय र मेवाखोलाका रैनसिंह राय गोरखासँग मिले। आठराईका श्रीजंग राय, पाँचथरका फुङ (कुम) राय र चौबीसका जमुन (सुन) रायलाई पनि लालमोहर दिएर पृथ्वीनारायण शाहले उनीहरूसँग सम्झौता गरे। चैनपुरमा घमासान युद्ध हुँदा त्यहाँका सुब्बा हार खाई सिक्किमतिर पसे। यता, गोरखालीसँग नमिल्ने ६ थरका सुनुहाङ राय, याङरोकका योङ्याहाङ राय र चार खोलाका आसदेव राय आ-आफ्नो गढमा बसी लड्दै रहे। तर, हातहतियारको अभावले उनीहरूले हार स्वीकार गर्नुपर्‍यो। उनीहरू आफ्नो देश छाडी सिक्किम पसे तापनि शत्रु सेनासित लड्न उनीहरूले छाडेनन् (चेम्जोङ, इमानसिंह, ‘किरात इतिहास’-२०५९ः४५-४६)।

पृथ्वीनारायण शाहले राज्य विस्तार गर्दै जाँदा लिम्बूवान हात लिइसकेपछि त्यतिखेर लिम्बू सुब्बाहरूमा फूट आयो। उनीहरूमध्ये केही गोरखालीहरूसँग मिले भने नमिल्नेहरू सिक्किमतिर गए।

विसं १८३१ मा लिम्बू र गोरखाबीच युद्ध हुँदा कतिपय लिम्बूहरू सिक्किम गएको कुरा स्वयम् पृथ्वीनारायण शाहले नै उल्लेख गरेका छन्। उनले योगी भगवन्तनाथलाई लेखेको विसं १८३१ भदौ सुदी ६ रोज ६ मा लेखेको पत्रमा यस्तो लेखिएको छ– किरातको अम्बल मदेश पहाड भोट जति थियो. आफना आशीर्वादले सवै फत्य भयो। मध्येश माहाँ कनकाइ नदी पहाडमाहा साभा खोलो तमोर नदीको साथ लाग्यो. मानिस काट्न पाइयेनन्. भाग्य कति मोगलानातिर गयो. कति सुखीमतिर गयो. अरू झार जङ्गल माँहा जना ८५ वेसि काटिया. वाकी सुखिमसङ्ग हाम्रो घा हुन लागिरहेछ. घा बन्यादेखि किरातबाट भागि जान्याकन पकडेर हामिलाई सौपि दिन्या छ. घा नबन्या अव हामिले सुखिमसँग लड्न पन्र्या छ. सुखिम आइ जाला आफना आशीर्वादले कत्तल गरौंला (योगी नरहरिनाथ, ‘इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह’ भाग १-२०२२ः६-७)।

विसं १८४३ को रणबहादुर शाहले लिम्बूवानका १३ जना सुब्बालाई आफ्नै थातथलोमा आउन गरेको आह्वानलाई सिक्किम पसेका लिम्बूहरू आफ्नो भूमिका लागि लड्दै भिड्दै रहेको प्रमाणका रूपमा लिन सकिन्छ। विसं १८४३ जेठ सुदी २ रोज २ मा जारी गरिएको लालमोहरमा ‘…हिजो तिमीहरूले पारि बसी लुटपीट गोवध खतछित् गर्‍याको सब माफगरिवक्स्यौं हाम्रा पिछा पर्‍यापछि गोवध नगर्नु…’ भन्ने परेको छ। लालमोहरमा उल्लेख भएको पारी भन्नाले सिक्किम नै हो। यसबाट पनि सिक्किममा बसी सिमानामा रहेर लुटपिट मच्चाएको भन्ने देखिन्छ। यो लालमोहरको मूलप्रति भारतको मिरिकनिवासी साहित्यकार विरही काइँलासँग सुरक्षित रहेको छ। सिक्किममा रहँदा लिम्बूहरूले त्यहाँका भोटिया तथा लेप्चाहरूको साथ-सहयोग प्राप्त गरेकोमा कुनै शङ्का छैन।

 

विद्रोहमा लिम्बूलाई लेप्चाको साथ

विक्रमको उन्नाइसौं शताब्दीको मध्यसम्म सिक्किममा बसोबास गर्ने मुख्य जाति लेप्चा र भोटियाहरू थिए। उनीहरूमध्ये लेप्चाहरू शुरूदेखि नै सिक्किममा बसोबास गर्दै आएका थिए। भोटियाहरू सत्रौं शताब्दीमा त्यस देशभित्र पसेका थिए। सिक्किमको निर्माणमा भोटियाहरूले महत्त्वपूर्ण योगदान दिएकाले उनीहरू लेप्चाभन्दा अगाडि परे। त्यसैले भोटिया र लेप्चाहरूबीच बेलाबेलामा गृहकलह हुन्थ्यो। अठारौं शताब्दीको अन्तिम दशकतिर लेप्चाहरूले विद्रोह गरे। त्यसपछि उनीहरूलाई बढी मात्रामा प्रशासनमा सरिक गराउने आश्वासन आएपछि उनीहरूको विद्रोह शान्त भएको थियो (मानन्धर, त्रिरत्न ‘सिनास जर्नल’-वर्ष १० अङ्क १, २-पुस २०३९-असार २०४०ः११८)।

सिक्किममा स्थापित लेप्चाहरूको राजनीतिक र प्रशासनिक पहुँचको कारण पनि सिक्किममा राजनीतिक शरणमा पुगेका लिम्बूहरूलाई लेप्चाहरूले सहयोग गरेको स्पष्ट हुन्छ।

विसं १८४८ मा चैनपुरमा लिम्बूहरूले ठूलो विद्रोह गरेका थिए। त्यसबेला तिब्बतसँग नेपालको युद्ध भएको थियो। दामोदर पाँडेको नेतृत्वमा गएको गोरखाली सेनाले डिगर्चा गुम्बामा लुटपाट मच्चाइदिएको थियो। भोटले सिक्किमलाई सहयोग माग्दा डिगर्चाबाट गोरखाली सैन्य फर्कने बित्तिकै सिक्किमका सेनापति युक्सथुकले भोटिया र लेप्चाहरूको एक सैन्य डफ्फा पल्लो किरातको सिद्धिपुर ल्याए। सिद्धपुर(चैनपुर)का केही याक्थुङ्वा (लिम्बू) पनि सिक्किमको सैन्य दलमा मिल्न पुगे। बदलसिंह बस्नेत र पूर्णानन्द उपाध्याय विद्रोहीहरूसँग लड्दै भिड्दै गर्दा यो विद्रोह दबाउन बहादुर शाहले देवदत्त थापाको नेतृत्वमा काठमाडौंबाट एक हजार सैनिक चैनपुर पठाए। तीनतिरको आक्रमण गरियो। ६ सय जना विद्रोही मारिए (आचार्य, बाबुराम, ‘पूर्णिमा’ पूर्णाङ्क ६३-चैत २०४१ः१३)।

आचार्यको धारणा हेर्दा, यो विद्रोह तिब्बतको सहयोगका लागि सिक्किमका भोटियाहरूले लेप्चाहरूका साथ सिद्धिपुरका लिम्बूहरू समेतलाई उठाई गरेको भन्ने देखिन्छ। तर, यो विद्रोह लिम्बूहरूले नै गरेका थिए, र उनीहरूलाई भोटिया र लेप्चाहरूले सहयोग गरेका थिए भन्ने प्रमाण पनि छन्। ‘प्राचीन नेपाल’को संख्या २४ (साउन २०३०ः२)मा ‘शाके १७१३ (विसं १८४८)मा किराती मूलुकमा लिम्बूहरूले कुल गर्दा त्यो विद्रोह दवाउन गोरखाली सरदार बदलसिंह बस्नेत, सुब्बा पूणर् पाध्या र सुब्बा अदल कम्पनीसमेत लिएर विजयपुर पुगे…’ भन्ने उल्लेख भएबाट खास विद्रोही लिम्बूहरू नै थिए भन्ने प्रमाण मिल्छ।

हाल बेलायत बसोबास गर्दै आएका लेखक तथा इतिहासकार टङ्क वनेमबाट यो लेखकलाई प्राप्त भएको एक रुक्काको छायाँप्रतिबाट पनि लिम्बूहरूले सिक्किमसँग मिलेर विद्रोह गरेको भन्ने प्रमाण पुष्टि गर्छ। विसं १८४८ भदौ वदी २ रोज २ मा फागु सिरदेव राये (सिर्देउ राय)को नाममा जारी भएको रुक्कामा ‘…अघि तिमिहरूले सुषिम सित मिली कुल गरेर ल्याये पनि हारेउ सुवाहरूले डांड लीया कला गर्‍याको सासना भयाको छैन. येस साल फिरि पुर्वतिर काज आछिव. सवै लीम्वुको नाउमा मोहर जान्छ…’ भन्ने परेको छ। यसबाट लिम्बूहरूले सिक्किमसित मिलेर विद्रोह गरेको भन्ने स्पष्ट देखिन्छ।

यो विद्रोह दमन गरिएपछि अरू राज्यका राजाहरूलाई पनि रणबहादुर शाहले खुशीयाली मनाउन पत्र पठाए। तीमध्ये जाजरकोट राज्य एक थियो। त्यहाँका राजा गजेन्द्र शाहलाई रणबहादुर शाहले पठाएको विसं १८४८ चैत शुुक्ल २ रोज ६ मा लेखेको पत्रमा पनि लिम्बूहरूको चैनपुर विद्रोहमा लेप्चाहरूको साथ रहेको स्पष्ट पारिएको छ। पत्रमा ‘…विजैपुर तिर अरून पार सुषिम चयनपुरमा चिनिया भोट्या स्मेत् आई लिम्वुवान लापच्या लाई भित्र संच षर्चदी कमाई कन कुलगरि चयनपुरको गढीसमेत् १।२ जगा लियोथ्यो…’ भन्ने परेको छ। विद्रोह दमन भएपछि काठमाडौंमा हर्षबढाइँ गरिएको र त्यता (जाजरकोट)मा पनि हर्षबढाइँ गर्न आह्वान गरिएको छ।

चैनपुरमा भएको त्यस विद्रोहमा लिम्बूसँगै सिक्किमी भोटिया तथा लेप्चाहरूले पनि बलिदान गरेका थिए।

 

लेप्चासँगै लिम्बू काटिए

विसं १८८३ मा सिक्किमका काजी युक्ला थुप नेपालमा शरण पर्न आए। सिक्किमका मुख्यमन्त्री (देवान) र राजाबीच सिक्किमको राजधानी सार्ने विषयमा विवाद हुँदा राजाले देवानको सपरिवार हत्या गराइदिएपछि उनका भतिजा युक्ला थुप ज्यान जोगाउन सपरिवार सिक्किमबाट नेपालमा शरण पर्न आउँदा उनका साथमा आठ सय लेप्चा र लिम्बूहरू पनि थिए (बज्राचार्य, धनबज्र र टेकबहादुर श्रेष्ठ, ‘सिनास जर्नल’ वर्ष ५ अङ्क २-असार २०३५ः४०)।

त्यसबेला सिक्किममा राजा भोटियाहरू समर्थित सुग्फु नामगेले थिए। उनका लेप्चा मामा चांद जोक वोलेक (इकुन्दा) मुख्यमन्त्री थिए। यी दुईबीच सङ्घर्ष शुरू हुँदा त्यसले उग्र रूप लिन पाएन। यसको सात वर्षपछि विसं १८८३ मा यी दुईबीचको सङ्घर्षका क्रममा मुख्यमन्त्रीका पत्नी र दुई छोरा मारिए। त्यसपछि युक्ला थुप नेपालको शरणमा आए (मानन्धर, उही)।

शुरूमा पाँच जना मात्र लिम्बू लेप्चाहरू नेपाल पसेका थिए। तर, सिक्किमको राजधानी गान्तोकमा सत्तापक्षबाट लेप्चा र लिम्बूहरूलाई समात्दै काट्दै गर्न थालिएपछि ज्यान जोगाउन नेपाल पस्ने लेप्चा र लिम्बूको सङ्ख्या बढ्न पुग्यो। विसं १८८३ माघ सुदी ६ रोज ६ मा इलाम भेकका नेपाल सरकारका सुब्बा जयन्त खत्रीले तत्कालीन मुख्तियार जनरल भीमसेन थापालाई सिक्किमबाट शरणार्थीहरू आएको विषयमा जानकारी गराउँदै लेखेको पत्रमा यो कुरा परेको छ। पत्रमा ‘गान्तुकबाट लिम्वु ल्याप्च्या आई पुग्या सुषिम्मा घर कल परेछ भोट्या राजाले इकुन्दा काजीको सन्तान दाज्यूभाई यांहाबाट गयाका पुराना मानीस लिम्वु लाप्च्या सवैलाई पक्रदै काट्दै गरेछ सवै भागी गोर्षा पसनन् भनी राजाका मानीस सीवाना सीवानामा बसिरहृयाका छन् हाम्रो र इ प्रजाप्राणिको धर्मले उ सरन पिछ पर्‍यौं भने आइरहन्या छन् क्या जवाव दिन्या हो’ भन्ने परेको छ। यसबाट सिक्किमको गृहकलहमा त्यहाँका राजाका मानिसहरूबाट लेप्चाहरूसँगै लिम्बूहरूले पनि समातिँदै काटिँदै गर्नुपरेकाले हत्या गरिएका मुख्यमन्त्री पक्षधरहरूले ज्यान जोगाउन नेपालमा शरण लिन आइपुगेको देखिन्छ।

 

भीमसेन थापाले विसं १८८३ फागुन वदी १ रोज २ मा सुब्बा जयन्त खत्रीलाई ‘…वसन देउ भंन आउछन् भन्या वसन दिनु आफूले मद्धत पट्टि उठाइ ल्याउन्या काम नगर्नु…’ भन्ने परेबाट काजी युक्ला थुपसँग सिक्किमबाट आएका लेप्चा तथा लिम्बूहरूले नेपालमा शरण पाए (मानन्धर, उहीः११८-११९)।

यसरी शरणमा आएका युक्ला थुपलाई इलामको प्रगन्ना धाइजनमध्ये विरंगनदीदेखि पूर्व, पहाडदेखि दक्षिण, टेमंनदीदेखि पश्चिम, वाइसवाडीदेखि उत्तरको चारकिल्लाभित्रको कालावंजर जग्गा जागिरस्वरूप दिइएको थियो (बज्राचार्य र श्रेष्ठ, उहीः४२)।

 

यस्तै, युक्ला थुप र उनका साथमा आएको लेप्चाहरूलाई करफोक र फाकफोकको लिम्बू सुब्बाहरूको ठेकमा दरिएको बाहेकको जग्गा नयाँ १०१ घरलाई कमाउन दिइएको लालमोहर वि.सं. १८८६ जेठ वदी ३० रोज २ मा राजा राजेन्द्रले जारी गरेका थिए (बज्राचार्य र श्रेष्ठ, उहीः४३)।

 

काजी युक्ला थुपले यसरी नेपाल सरकारबाट प्रोत्साहन पाएको हुँदा उनले इलामको फिक्कलनेर बासस्थान बनाए। त्यहाँ उनले निकै ठूलो भवन पनि बनाउन लगाए।

 

तत्कालीन शिक्षा राज्यमन्त्री डा. हर्कबहादुर गुरुङको निर्देशन अनुसार, बज्राचार्य र श्रेष्ठले युक्ला थुपको बारेमा अध्ययन गर्दा उनले बनाएको भवनको पनि अवलोकन  गरेका थिए। उनीहरूले उल्लेख गरे अनुसार, उनले बनाएको त्यसबेला (२०३५ तिर) भवनको अवस्था यस्तो थियोः

 

भवन जीर्ण अवस्थामा अहिले पनि मौजुद छ। भवन तीन तलाको छ। पछाडिको आधा भाग भत्किसकेको छ। भवनमा पुरानो नेपाली शैलीका काठका ठूला ठूला ढोकाहरू रहेका छन्। काठको बार्दली रहेको छ। भवनमा ढुङ्गा र पक्की इँटाको गारो लगाइएको छ। भवनको मोहडाको एक ठूलो कोठालाई गुम्बाको रूप दिइएको छ। त्यहाँ डेढ हात जति अग्लो पद्मासन बुद्धमूर्ति रहेको छ। त्यहाँ केही बौद्धग्रन्थहरू, पुराना बाजाहरू र पूजा सम्बन्धी केही भाँडाकुडाहरू रहेका छन्। गुम्बाका भित्ताहरू रंगीन चित्रहरूले सजाइएका छन्। विभिन्न मुद्राका बुद्धमूर्तिहरू चित्रित छन्। दुईतिर लहरै लामाहरू बस्न बनाइएका आसनीहरू छन्। वर्षको एक पटक मात्र पूजापाठ हुन्छ (बज्राचार्य र श्रेष्ठ, उहीः४१)।

 

लेप्चा लिम्बूलाई अधिकार माफी

 

विभिन्न समयमा राज्यका तर्फबाट बन्देज र व्यवस्था लागू गर्ने क्रममा भाउजूलाई बिहे तथा बिराउ गरेको अवस्थामा विभिन्न जाति तथा समुदायलाई जात र समुदाय अनुसार सजायको व्यवस्था गरेको थियो। विसं १९०१ चैत सुदी ७ को एक रुक्का अनुसार, भाउजू बिहे वा बिराउ गरे उपाध्याय, जैसी ब्राह्मणलाई जात पतित गरी, मुडी देशनिकाला गर्ने व्यवस्था गरियो। राजपरिवारका क्षेत्रीको हकमा जात पतित गरी देशनिकाला हुन्थ्यो। अन्य क्षेत्री, राजपूत, खस, वैश्य, मगर, गुरुङ तथा घलेहरूको लिङ्ग काटिन्थ्यो। नेवारहरूको सर्वस्वहरण गरिन्थ्यो। दमाईं, सुनार, कामी, सार्की, गाइने, हुड्क्या, कडारा जस्ता पानी नचल्ने भनी तोकिएको जातिका साथै बलामी, माझी, दनुवार, सुनुवार, मुर्मी, भोटे, चेपाङ, पहरी, दरै आदिलाई मासिदिने चलन थियो (रेग्मी, महेशचन्द्र, ‘रेग्मी रिसर्च सेरिज’ वर्ष ३ अङ्क १- जनवरी, १९७१ः२)।

 

तर, यही बन्देज र व्यवस्थामा किराती लिम्बू, लेप्चा र जुम्लीहरूले भने भाउजू बिहे तथा बिराउ गर्दा सबै दण्डसजायबाट छुट पाएका थिए (रेग्मी, उही )।

 

लेप्चाहरूले सेनकालीन अवस्थामा जे जस्तो गलत काम तथा अपराधहरू गरेका थिए, उनीहरूले लिम्बूहरूसँगै राज्यका तर्फबाट ती सबैको माफी पाएका थिए (इङ्नाम, भगिराज, ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’-२०७७ः७२/७३)।

 

यस सम्बन्धी रुक्काको व्यहोरा यस्तो छः

स्वस्ति श्रीमन्महाराजाधिराज कस्य रुक्का

आगे अरून पूर्व तिष्टा पश्चिमका लिम्वु लापच्या भोट्या गैरहके हिजो सेनकासमयको षत छित् षुन माफ् गरिवक्स्यौ आफ्ना षातिरजामा संग सेवा टहलमा रुजु रहु इति सम्वत् १८५३ साल चैत्र सुदि १५ रोज ३ शुभम्

हिमालखवरबाट

शुक्रबार, २५ असार, २०७८, दिउँसोको ०२:३८ बजे

सम्बन्धित खवर