कृषिलाई समातेर विकासमा फड्को मार्दै झापाको कमल

बैकल्पिक खवर

दमक, २४, भाद्र /   ठूला वरका सेपमा हुर्कन नसकेको पिपलझै भएको झापाको कमल गाउँपालिका यतिबेला विकासको गतिमा छ । पहाडी इलाम र विकासमा अघिलागेको भनिएको दमकसँग सीमा जोडिएको नेपालको सुदूर पूर्व मेची अंचलको दक्षिणी जिल्ला झापाको कमल गाउँपालिकाले विकासमा फड्को मार्दै गएको अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो । पछिल्लो समय जनप्रतिनिधि आएपछि कृषि तथा पशुपालन सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएपछि विकासले धेरै फड्को मारिसकेको उहाँका भनाइ छ ।
उत्तरतर्फ इलाम जिल्ला, दक्षिणतर्फ गौरादह नगरपालिका र गौरिगञ्ज गाउँपालिका, पश्चिम तर्फ रतुवा खोला दमक नगरपालिका, र पूर्वतर्फ शिवसताक्षी नगरपालिका रहेको यस कमल गाउँपालिका साविकका दुई गा.वि.सहरु तोपगाछी र लखनपुर जोडेर बनेको हो । आय कम भएको गाउँपालिकाले विकासका योजना छर्नुपरेका कारण पछाडि परेजस्तो देखिएपनि अब विकासले गति लिइसकेको उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी बताउनु हुन्छ ।
क्षेत्रफल र जनघनत्वको हिसावले गाउँपालिका ठूलै भएपनि मध्यम र निम्न वर्गीय मान्छेहरुको बसोवास बढी भएकाले विकासमा समय लाग्ने प्रमुख प्रशाशकीय अधिकृत काजिमान राईको भनाई छ । यहाँको कुल क्षेत्रफल ९७ दशमलव ४४ वर्गकिलो मिटर हो भने राष्ट्रिय जनगणना २०६८ अनुसार कमल गाउँपालिकाको जनसङ्ख्या ४४ हजार ३ सय ६५ रहेको छ, जसमध्ये पुरूष २०,२९६ र महिला २४,०६९ रहेका छन् ।
बिभिन्न जनजातिहरुको बसोवास रहेको यस गाउँपालिकामा खास गरी बाहुन, क्षेत्री, लिम्वु, राई, दमाई, कामी, धिमाल, सल्थाल, ताजपुरिया, मगर, राजवंशी, तामाङ, गुरुङ, याक्खा, माझी आदिको वाहुल्यता पाईन्छ ।

कमलका युवा कृषि पेशामा आकर्षित


कमल गाउँपालिका साविकका तोपगाछी र लखनपुर गाउँ विकास समिति मिलेर बनेको हो । कूल ९७ दशमलव ४४ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको यस गाउँपालिकामा ७ वडा रहेका छन् । यहाँको मुख्य पेशा भनेको कृषि र पशुपालन नै हो । यति ठूलो जनसंख्या कृषि तथा पशुपालनको क्षेत्रमा आवद्ध भएपनि गाउँपालिकामा उल्लेखनीय प्रगति हुन नसकेको अध्यक्ष काफ्ले बताउनु हुन्छ ।
गाउँपालिकाको विकासको निम्ति कृषिको विकास हुन आवश्यक छ । यसका लागि हामीले कृषि र पशुपालनको क्षेत्रमा धेरै कार्यक्रम सञ्चालनमा ल्याएका छौ, जसअन्र्तगत गाई, कुखुरा, बाख्रा, माछा, च्याउ तथा वेमौसमी तरकारी उत्पादनतर्फ घुम्तीकोषमार्फत ५० हजारदेखि २ लाख रुपैयाँसम्म प्रदान गरेका छौ । व्यवसायिक कृषकलाई घुम्तीकोष मार्फत ५० हजारदेखि २ लाख रुपैयाँ सम्म प्रदान गरेका छौ । त्यसैगरी अध्यक्ष पकेट कार्यक्रम अन्तर्गत बेमौसमी तरकारी उत्पादनतर्फ समेत कृषकलाई सहयोग गरेका छौ ।
नेपाल कृषि प्रधान देश भएको र देशलाई विकास गर्नुछ भने कृषि क्रान्ति गर्न आवश्यक छ । रेमिटान्सले मात्र देश चल्दैन, कृषिमा अवसरहरु प्रशस्तै छन् । तर, विडम्वना यस क्षेत्रमा जे जति लागेका छन् । ती सब अशिक्षित र गरिव किसान मात्र छन् । जसका कारण कृषि पेशामा सोचे जस्तो विकास हुन नसकेको कमल गाउँपालिका वडा नम्वर ३ का कृषक बिनोदकुमार कँडेलको बुझाइ छ ।
गाउँपालिकले अध्यक्ष पकेट कार्यक्रम सञ्चालनमा ल्याएसँगै कृषि पेशामा कृषकको आकर्षण बढेको छ । कार्यक्रमको नियम अनुसार कम्तीमा पाँच कठ्ठा जमिनमा तरकारी लगाउनु पर्ने र जैविक विषादि मात्र प्रयोग गर्नुपर्ने हुन्छ । जस अन्तर्गत कृषकले करेला, भिन्डी, बोडी, काँक्रा लगायतका तरकारी उत्पादन गरी राम्रो आम्दानी गरेको पकेट कृषि कार्यक्रम का अध्यक्ष दामोदार गुरागाँई बताउँछन् ।

गाउँपालिकामा पहिलोपटक ड्रमसिडर (वीऊ) नराखी डूम बाट सिँधै धान रोप्ने प्रविधिबाट वडा नम्वर ६ र ७ मा धान रोपिएको छ । यो नयाँ प्रविबिाट रोपिएको धानबाट मनग्य आम्दानी हुने कृषकले अपेक्षा गरेका छन् । पुरानो प्रविधिभन्दा नयाँ प्रविधिबाट धान रोपेका कारण पनि कृषक उत्साही भएको इन्द्रेणी कृषक समूहका अध्यक्ष रमेश निरौला बताउँछन् । गाउँपालिकाले च्याउ खेतीतर्फ समेत कृषकलाई आवश्यक सहयोग गरेको छ । बिगत १० वर्षदेखि च्याउ खेती गर्दै आएका वडा नम्वर ६का कृषक प्रेमबहादुर राई च्याउ खेतीलाई नै मुख्य व्यवसाय बनाएर रमाएको बताउँछन् । सिङ्गो गाउँपालिकालाई विषादिरहीत बनाउन हामी लागीपरेका छौं । यसका लागि माटो परीक्षण ल्याव समेत सञ्चालनमा ल्याइसकेका छौं । ल्याबबाट विरुवालाई आवश्यक पर्ने १४ किसिमका खाद्यतत्व परीक्षण गर्न सकिने र सोही अनुसार कृषकलाई आवश्यक सल्लाह सुझाव दिनाले समेत उत्पादनमा वृद्धि भएको छ ।
अर्कोतर्फ समयमा रासायनिक मल नपाएर कृषकले जुन समस्या भोग्नुपरेको छ । त्यसको विकल्पमा हामी आफंैले जैविक मल उत्पादन गरेर कृषकलाई दिने गरेका छौं यसबाट समेत राम्रो उत्पादन हुने गरेको कृषि शाखा प्रमुख महेन्द्र बोहोराले बताए । गाउँपालिकाले कृषिको विकासका निम्ति पछिल्लो समय थुप्रै राम्रा काम गरेको छ । व्यवसायिक कृषकलाई विभिन्न अनुदान र व्यवसाय प्रवद्र्धन कोषमार्फत सहयोग समेत गरेको छ । गाउँपालिकाको सहयोग पाएपछि कृषकको उत्पादनमा समेत बृद्धि भएको छ । तर, कृषकले उत्पादन गरेको बस्तुले बजार नपाउँदा कृषक समस्यामा परेका छन् ।
आगामी दिनमा जनप्रतिनिधिले उत्पादनका साथै साथै बजारीकरणमा समेत ध्यान दिन आवश्यक देखिएको स्थानीय कृषकहरुको माग छ ।

बिहिबार, २४ भदौ, २०७८, दिउँसोको ०२:४९ बजे

सम्बन्धित खवर