खोटाङका दस स्थानीय तहमा दोहोरो भत्ता

  खोटाङ/   खोटाङका दस स्थानीय तहमा भत्ता बेरुजु देखिएको छ । दसवटै स्थानीय तहका अधिकांश जनप्रतिनिधि र कर्मचारीले आर्थिक वर्ष २०७७/०७८ मा दोहोरो भत्ता लिएको देखाएको हो । दोहोरो भत्तासँगै कानुनमा नदिएको सेवा सुविधा लिएर अनावश्यक काममा राज्यको रकम खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा कर्मचारी र पदाधिकारी बैठकका लागि ४२ लाख २४ हजार १ सय ९२ खर्च गरेको महालेखाले देखाएको छ । यस्तै भ्रमण तथा अनुगमन खर्चतर्फ ५४ लाख १८ हजार ३ सय ६५ खर्च भएको छ ।
महालेखाको प्रतिवेदन अनुसार पालिकाको हरेक क्रियाकलाप, कार्यक्रम, दिवस, खरिद कार्य तथा निर्णय गर्दा पनि बैठक भत्ता भुक्तानी गरेको छन् भने एकै दिन दुई कार्यक्रमको आयोजना गरेर दोहोरो भत्ता भुक्तानी गरेको प्रतिवेदनमा देखिएको छ । नगरपालिकाको उक्त आर्थिक वर्षको बेरुजु रकम ७ करोड ५२ लाख ९६ हजार ९ सय ३२ रहेको छ ।
हलेसी तुवाचुङ नगरपालिकाले तोकिएको दर भन्दा बढी १० जना कर्मचारीलाई विभन्न ठाउँमा जादा रकम भुक्तानी गरेको पाइएको छ । जसबापत ६ हजार १ सय २० रुपैयाँ असुल गर्नुपर्ने महालेखाले देखाएको छ । यस्तै नगरपालिकाले ३ जना कर्मचारीलाई ६६ हजार ७५ रुपैयाँँ बिल, भरपाइ जाँच नगरी बढी रकम भुक्तानी गरेको छ । विभिन्न शिर्षकमा १६ हजार ८ सय १५ रुपैयाँँ भत्ता वितरण गरेको भनिएपनि कसैले भत्ता नबुझेको देखिएकाले रकम असुल गर्न महालेखाले भनेको छ ।
उक्त आर्थिक वर्षको बेरुजु रकम ५ करोड ४४ लाख ५१ हजार ५३ रहेको छ ।
ऐँसेलुखर्क गाउँपालिकाले भ्रमण तथा बैठकका लागि विनियोजन गरेको बजेट नपुगेर अन्य रकमसम्म भुक्तानी भएकाले छानविन गरी रकम असुल गर्न महालेखाले भनेको छ । युवाहरुको सहभागितामा मनोपरामर्श सेवा सम्बन्धि ३ दिने युवा संसद अभ्यास कार्यक्रममा २३ जनालाई कार्यक्रममा सहभागि गराइ दोहोरो भुक्तानी दिएको देखिएकाले शाखा अधिकृत विनेशकुमार श्रेष्ठबाट ६९ हजार असुल गर्न महालेखाले भनेको छ ।
केपिलासगढी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदन अनुसार भ्रमण तथा बैठकका लागि विनियोजन गरेको बजेट नपुगेर अन्य रकमसम्म भुक्तानी भएकाले छानविन गरी रकम असुल गर्न महालेखाले भनेको छ । तत्कालिन पदाधिकारीले १० हजारका दरले रकम लगेको देखिएकाले पोशाक बापत भुक्तानी भएको ३ लाख ७० हजार रकम असुल गर्न महालेखाले भनेको छ । यस्तै बैठक भत्ता लिएकाले वडाका विभिन्न कर्मचारीबाट ३ लाख १ हजार ७ सय ५० रुपैयाँँ असुल गर्नुपर्ने उल्लेख छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बैठक भत्ता बापत ३१ लख ५७ हजार ७ सय ५० रुपैयाँँ खर्च गरेको छ । पालिकाले भ्रमण तथा अनुगमन बापत पालिकाले उक्त वर्ष २६ लाख १९ हजार ६ सय ६८ रुपैयाँँ खर्च गरेको छ । विविध खर्चतर्फ १९ लाख ९१ हजार खर्च भएकोमा अधिकांश खर्च कर्मचारी र पदाधिकारकिो खाना, खाजा, चिया, होटलमा खर्च भएको छ ।
बराहपोखरी गाउँपालिकाले कर्मचारी र पदाधिकारीको बैठकका लागि २२ लाख ७७ हजार ४ सय १० रुपैयाँँ खर्च गरेको छ । पालिकाले हरेक क्रियाकलाप, कार्यक्रम, दिवस, खरिद कार्य तथा निर्णय गर्न बैठक भत्ता भुक्तानी गरेको छ । भ्रमण तथा अनुगमन बापत ४४ लाख ९६ हजार १ सय ४५ रुपैयाँ खर्च गरेको छ । विविध खर्चतर्फ २० लाख ४० हजार खर्च भएकोमा अधिकांश खर्च कर्मचारी र पदाधिकारीको खाना, खाजा, चिया, होटलमा खर्च भएको छ ।
रावा बेसी गाउँपालिकाले गाउँसभा सञ्चालन गर्न १ लाख ६३ हजार ५ सय खर्च गरेको छ । सो गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ मा बेरुजु रकम २ करोड ४९ लाख ३३ हजार १ सय ६७ रुपैयाँँ रहेको छ ।
साकेला गाउँपालिकाले बैठक भत्ताबापत ४५ हजार ९ सय रकम भुक्तानी गरेको छ । गाउँपालिकाको सो आर्थिक वर्षमा १ करोड ४६ लाख ८६ हजार १ सय ५९ रुपैयाँ बेरुजु रहेको छ ।
खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदिप राईले दोहोरो यातायात सुविधा लिएको पाइएको छ । सरकारी सवारी साधन लिनेले अन्य यातायात खर्च नपाउने व्यवस्था भएपनि पालिका प्रमुख राईले प्रति महिना १० हजारका दरले एक वर्षमा १ लाख २० हजार लिएको खुलेको छ । प्रमुख प्रशासकीय अधिकृतसहितका ११ जना कर्मचारीले पारिश्रमिकमा कर कट्टि नगरेकाले १ लाख १४ हजार ६ सय ६६ असुल गर्न महालेखाले भनेको छ । गाउँपालिकाले एक् वर्षमा मात्र ११ लाख २४ हजार ६ सय बैठक भत्तामा खर्च गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ मा ३ करोड ३ लाख ७३ हजार ७ सय ९ रुपैयाँ बेरुजु रहेको छ ।
जन्तेढुंगा गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा असारमा कर्मचारीलाई चाडपर्व भत्ता भनेर भुक्तानी दिएको महालेखाले औलाएको छ । सो आर्थिक वर्षमा ३५ लाख १४ हजार १ सय ६१ रुपैयाँँ भ्रमण तथा अनुगमनमा खर्च गरेको पालिकाले भ्रमण अभिलेख भने नराखेको महालेखाले उल्लेख गरेको छ । १५ लाख ३१ हजार ७ सय ८ रुपैयाँँ विविध शिर्षकमा खर्च गरेको पालिकाको अधिकंश उक्त रकम कर्मचारी र पदाधिकारीको खाना र खाजामा खर्च भएको छ । पालिकाले विना प्रयोजनका लागि १ लाख २० हजारको मोबाइल खरिद गरेको छ ।
गाउँपालिकाका पदाधिकारी र कर्मचारीले बैठकमा सहभागी भएर भ्रमण गरेको बिल पेस गर्दै भत्ता लिएको देखिएको छ । जसअन्तरगत १ लाख ३३ हजार ५ सय २० रुपैयाँँ असुल गर्नुपर्ने महालेखाले उल्लेख गरेको छ । जन्तेढुंगा गाउँपालिकाको सो आर्थिक वर्षमा ५ करोड ३६ लाख ८२ हजार ९० रुपैयाँ बेरुजु रहेको छ ।

शुक्रबार, २४ भदौ, २०७९, दिउँसोको १२:५६ बजे

सम्बन्धित खवर