फोहरबाट ग्यास उत्पादन गर्ने तयारी

   झापा  /  बिर्तामोड नगरपालिकाको टोलीले कन्काइ नगरपालिका– १ मा निर्माण भइरहेको कन्काइ, विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनी लिमिटेडको आज अनुगमन गरेको छ ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडा नं ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङवा, नगपालिकाका अधिकृत मेघराज बास्तोला लगायतको टोलीले सो अनुगमन गरेको हो ।
टोलीलाई कन्काइ विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन समितिका अध्यक्ष मिनाल तिम्सिनाले अहिलेसम्म भए गरेका कामको जानकारी गराए । काम अन्तिम चरणमा पुगेकाले अबको करिब दुई महिनामा कम्पनी सञ्चालनमा आउने अध्यक्ष तिम्सिनाले जानकारी दिए ।

कन्काइ, विर्तामोड र अर्जुनधारा नगरपालिका र जनताको संयुक्त सहभागितामा नवीकरणीय ऊर्जा सञ्चालनमा आउन लागेको हो । यसमा रु १४ करोड ३२ लाख खर्च भइसकेको जनाइएको छ ।
कम्पनी सञ्चालनमा आएपछि तीन वटा नगरपालिकामा उत्पादन भएको फोहरबाट दैनिक एक हजार ६०० केजी ग्यास उत्पादन हुने कम्पनीले जनाएको छ ।

पछिल्लो समय जिल्लाको मेचीनगर र शिवसताक्षी नगरपालिका पनि संस्थामा आबद्ध हुनेबारेमा सल्लाह भइरहेको संस्थाका अध्यक्ष तिम्सिनाले बताए । नवीकणीय ऊर्जा सञ्चालनमा आएपछि विर्तामोडमा अहिले भइरहेको फोहर व्यवस्थापनको समस्या पनि हट्नेछ ।

शुक्रबार, २४ भदौ, २०७९, रातीको १०:५० बजे

सम्बन्धित खवर