सेवारो – लुङ्गाको दशैं र मौलो पूजा

बी चापागाईं

हिलाम्य झरी सकिएर असोज लाग्दा जसरी मौसम छ्यांग खुल्छ, पाँचथर हिलिहाङका ७६ वर्षे गम्भीरबहादुर लिम्बुको मनमा पनि यो बेला उसैगरी उमंग छाउँछ । वर्षमा १ पटक भएपनि मीठोमसिनो खाने, घर–परिवार, आफन्त, नातागोता, छरछिमेकी जम्मा हुने र केहीदिन भएपनि रमाइलो गर्ने अवसर थिए उनका लागि दशैं–तिहार ।

जब दशैं आउँछ, निकै टाढाबाट ल्याएर मूलघरको भित्तो, भान्साघर, सिकुवा र आँगनसम्म लिपेको कमेरेमाटोको ‘बासना’ मगमगाउन थाल्छ उनलाई । मनको पीर, वेदना, दुःख, चिन्ता भुलेर परिवार, आफन्तसँग रमाउँदा दशैंले नयाँ जोस–जाँगर थपेको अनुभव हुन्छ ।

केही वर्षअघिसम्म ठूलो परिवारमा वर्षको एकपटक भएपनि दर्जी (मास्टर) घरमै ५÷७ दिन बसेर नयाँ लुगा सिलाइदिने पनि त्यही दशैं थियो । बाबु–आमाले ऋण काढेरै किनिदिएको किन नहोस्, दशैंमा लाएका नयाँ लुगाको बासना त झन् कहाँ भुल्नु र ! लिम्बू करिब ३ कोरी वर्षयताका दशैं झल्झली सम्झन्छन्, ‘अचेलको दशैंलाई के दशैं भन्नु, दशैं उहिलेकै सम्झिने र रमाउने, अहिलेको चाहिँ मनाएजसो गर्ने हो ।’

दशैं–तिहारजस्ता चाडपर्व सहरको तुलनामा गाउँघरमै उल्लासपूर्ण हुने अनुभव धेरैको हुन्छ । त्यसमा पनि पूर्वीपहाडका गाउँबस्तीमा दशैं–तिहारको रौनक अझ गाढा । किनकि, पूर्वीपहाड सांस्कृतिक परम्परामा सम्पन्न मानिन्छ । सहर बसेकाहरू पनि दशैं मनाउन घर–गाउँ फर्किन्छन् । तर, अचेल मान्छेको व्यस्तता, निजीपन, आधुनिकता र पश्चिमा संस्कृतिको प्रभावले चाडबाडको मौलिकता धुमिल हुँदैछ । ६ दशकयताको दशैं अनुभव सँगालेका वृद्ध लिम्बु दुःखेसो पोख्छन्– ‘उहिले र अहिलेको दशैं तुलनै नगरौं । तमोरमा धेरै पानी बगिसक्यो । मान्छेले पैसा कमायो, त्यसैमा रमायो, संस्कृति र परम्परा गुमायो । मैले गरेको अनुभव यही हो ।’

ताप्लेजुङ मैवाखोलाका हर्कध्वज साँवालाई पनि केही वर्षयताको दशैं खल्लो लाग्छ । ‘दशैं आउँदा मन रमाउँछ, हर्षाेल्लास हुन्छ, केटाकेटीदेखि बुढापाकासम्ममा दशैंले फुर्ती चढाउँछ,’ उनी भन्छन्, ‘तर, समय परिवर्तनसँगै दशैंको रंग पहिलाजस्तो छैन । मौलिक संस्कृति बिर्सिन थालिएको छ, दशैं यस्तो भइसक्यो कि, सदिऔंदेखिको लोकसंस्कृति नै हराउने चिन्ता पो हुन आँटिसक्यो अब त ।’

यो समुदायमा नयाँ ज्वाइँ दशैंमा ससुराली पुग्नु अनिवार्य छ । ससुराली जाँदा ढाकरमा सयपत्री फूल र एक जोर सुँगुर उत्तानो खुट्टा पारेर खेतालै लगाएर भएपनि बोक्नुपर्छ । सगुन (रक्सी) लानुपर्छ । ज्वाइँले चिनजान गर्दै ससुराली पक्षलाई मासु र सगुन अगाडि राखिदिनुपर्छ । तर, नयाँ ज्वाइँबाट आफूले लिएको कोसेली ३ वर्षको दशैंपछि ससुराली पक्षले दोब्बर ‘बागदत्त’ फर्काउनुपर्छ ।
पूर्वीपहाड प्राकृतिक सम्पदामा जति सम्पन्न छ, सांस्कृतिक र जातीय विविधतामा उत्तिकै धनी पनि । यहाँ हरेक वर्ष मनाइने चाडबाड, मेला, पर्व र सांस्कृतिक उत्सव सबैका साझा सम्पत्ति भएका छन् । तर, केही समययता मुख्यगरी दशैं मनाउने चलनचाहिँ जातीय÷धार्मिक समुदायअनुसार फरक हुन थालेको छ । साझा रूपमा मनाइआएको दशैं करिब आधा दशकयता लिम्बु–किराँत समुदायले मनाउन छाड्दैछन् । दशैं आफूहरूको नभई हिन्दु धर्मावलम्बीको पर्व भएको र इतिहासमा आफूहरूमाथि ‘थोपरिएको’ भन्दै यो समुदायले दशैं मनाउने चलन घटाउँदैछ । तर, परम्परादेखि दशैं मनाइरहेका यही समुदायका कतिपयले भने छाडिहालेका छैनन् ।

इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभालगायत जिल्लाका घर–गाउँमा दशैंको रौनक सुरु भइसकेको छ । घर–आँगन र टोल सरसफाइ, लिपपोत, सिँगारपटार गरी चिरिच्याट्ट पारिँदैछ । बजारहरूमा दशैंलाई लुगाफाटो, खाद्यान्न किनमेल गर्नेको घुइँचो बढेको छ । गाउँ–गाउँमा छिटफुट भएपनि लिंगेपिङ हालिँदैछ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना संक्रमण केही कम भएकाले पनि दशैं मुखमा चहलपहल बढेको हो । दशैं छेक पारेर टोल–टोलमा आयोजना गरिने फुटबल, भलिबललगायत खेलकुद प्रतियोगिताचाहिँ यो वर्ष भएनन् ।

घटस्थापनाको दिन घर–घरमा जौ, गहुँ मकैलगायत अन्नको जमरा राखिन्छ । दुर्गाभवानीको पूजाआजा सुरु हुन्छ । नवरात्र सुरु भएपछि टोलैपिच्छे मालश्री घन्किन थालिसकेको छ । दुर्गम गाउँबस्तीका गरिब परिवारमा वर्षमा एकपटक नयाँ लुगा फेर्ने, मीठोमसिनो खाने र आफन्तसँग भेटघाट गर्ने अवसर ल्याइदिने भएकाले पनि दशैं विशेष महत्वको पर्व भएको छ ।

दशैंमा मान्यजनबाट अक्षताको टीका लगाइन्छ र आशीर्वाद ग्रहण गरिन्छ । तर, करिब अढाई दशकयताको राजनीतिक, सामाजिक, पहिचानको आन्दोलन, बढ्दो आधुनिकता, आयस्तर वृद्धि, फैलिँदो चेतना र मानिसको एकांकीपनले पनि दशैं मनाउने चलन फरक हुँदैछ । दशैं मनाउने चलन मान्छेपिच्छे बेग्लै पनि हुँदैछ । निधारभरि अक्षता र कानभरि जमरा सिउरिएर पनि अझै टीका–जमरा लगाउन, आशीर्वाद थाप्न मान्यजनकहाँ जाने बालबालिकादेखि वृद्धवृद्धासम्मको लावालस्कर गाउँमा अहिले बिरलैमात्र देखिन थालेको छ ।

लिम्बू–किराँत समुदायमा विशेषगरी दशैं मनाउने चलन परिर्वतन भएको छ । यो समुदायमा दशैं मनाउने चलन नै हराउँदैछ । परम्परादेखि रातो अक्षताको टीका लगाउने ठूलो किराँत समुदाय अहिले दशैंमा सेतो टीका लगाउँछ । सेतो टीका लगाउनेमध्ये पनि धेरैले चाहिँ दशैं मनाउनै छाडिसकेका छन् । तर, टीका लगाउने चलन घटेपनि दशैंसँगै आउने उमंग, उत्साह हराएको छैन । ‘टीका नलगाएर के भो त, दशैंमा पिङ खेल्ने, घर, टोल सरसफाइ गर्ने, मीठो मसिनो पकाएर खाने, आफन्तसँग भेटघाट गर्ने चलन हराएको छैन नि !’ धनकुटाका छत्रबहादुर लिम्बु भन्छन्, ‘मलाई दशैं किरात समुदायको चाड होइन भन्ने नै लाग्छ तर टीका लगाउन छाडेपनि दशैंचाहिँ निकै रमाइलो हुन्छ अहिले पनि ।’

राई–लिम्बु समुदायमा जमरेऔंसीमा जमरा राख्नेहरू निकै कम भइसकेका छन् । नवरात्र सुरु भएलगत्तै घर–घरमा घन्किने नगराको मूच्र्छना क्षितिजमा बिलाउन लागेझैं सुनिँदैछ । लिम्बू समुदायले महानवमीको दिन घर–घरमा गर्ने मौलो पूजा पातलिएको छ । यो समुदायमा विवाह गरेसालको दशैंमा नयाँ जोडी माइत–ससुराली जाँदा लैजाने विशेष कोसेली र सयपत्रीको परम्परा अचेल धिपधिपे बत्तीझैं हुँदैछ ।

पूर्वीपहाडमा डेढ दशकअघि चलेको पहिचानको आन्दोलनले दशैं ‘राई–लिम्बूको मौलिक चाड चाहिँ होइन’ भन्ने विषयलाई प्राथमिकतामा राख्यो । राई–लिम्बूको धर्म, संस्कृति, परम्परा जगेर्ना गर्न गठन भएका जातीय संघ–संस्थाले पनि यही भनाइलाई बल पु¥याइदिँदा दशैं मान्ने चलन पातलिएको हो । तर, किराँत संस्कृतिकै जानकार र इतिहासकार भने दशैं किरात समुदायको पर्व हो कि होइन भन्नेमा एकमत छैनन् ।

कसैले दशैंलाई किराँतको चाड नै होइन भनेका छन्, केहीले लिम्बू–किराँतको मौलिक चाडकै रूपमा पनि लिएका छन् । बहुसंख्यक राई, लिम्बुचाहिँ राजा–महाराजाले आफूहरूमा जबर्जस्ती लादेको चाड भन्दै दशैंलाई आयातित मान्छन् । संविधानले देश धर्मनिरपेक्ष बनाएको छ । पछिल्लो समय धर्म परिवर्तन गर्दै क्रिश्चियनमा लाग्नेको संख्या बढिरहेकाले पनि यो समुदायमा दशैंमोह घटाउन इँटा थपेको छ ।

इलामको सोयाङ गाउँमा २०७३ सालको महानवमीमा मौलो पूजा गरिँदै ।
नेपाल आदिवासी जनजाति महासंघका इलाम अध्यक्ष अभिषेक एक्तेन दशैं पहिलाजस्तो नभएपनि लिम्बुहरूले निषेधचाहिँ नगरेको बताउँछन् । ‘लिम्बूले एकल बसोबास रहेका ठाउँमा प्रायः सेतो र मिश्रित बसोबास भएकामा रातो टीका लगाएरै दशैं मनाउँछन्,’ उनी भन्छन्, ‘तर, यो समुदायका धेरैले चाहिँ दशैंको टीका नै लगाउन छाडेका छन् ।’ उनले दशैंलाई लिम्बु समुदायले पनि सद्भाव र धार्मिक सहिष्णुताको पर्वका रूपमा लिनेगरेको बताए ।

‘वर्षदिनमा दशैंका बेला आफ्ना चेलीबेटी आउने, मीठोमसिनो खुवाउने र फर्किने बेला दानदक्षिणा गर्ने, कोसेली दिएर पठाउने चलन अहिले पनि छ,’ उनले भने, ‘विगतमा केही राजनीतिक दलले दशैं बहिष्कार अभियान नै चलाएपनि आमकिराँत समुदायले चाहिँ बहिष्कार गरेको छैन ।’

सरकारले किपट खारेज गरेपछि २०३५ सालमा पाँचथर इम्बुङका ५ सुब्बाहरू दलमान नेम्बाङ, स्वरूपसिंह नेम्बाङ, फौदरूप नेम्बाङ, धनप्रसाद नेम्बाङ र नारद नेम्बाङले विरोधस्वरूप दशैं मनाउनै छाडिदिए । लिम्बु अगुवा वीर नेम्बाङ लिम्बुहरूलाई दशैं छोडाउन सक्रिय रहे । बहुदल आएपछि गोपाल गुरुङ र गोरेबहादुर खपांगीलगायतले दशैंविरूद्ध अभियान चलाए । तेह्रथुमका मनोज लिम्बु दशैं मनाउन छाड्ने लिम्बु धेरै भएपनि यो समुदायमा रातो र सेतो टीका लगाएर दशैं मनाउनेहरू अझै रहेको बताउँछन् । ‘दशैंमा टीका नलगाउने तर खानपिन, रमाइलो गर्नेचाहिँ अहिले पनि धेरै छन्,’ उनी भन्छन्, ‘थोरैले रातो, सेतो टीका लगाएरै दशैं मनाउँछन् ।’

लिम्बु संस्कृतिका अध्येता अर्जुन माबोहाङ नेपाल एकीकरण गर्नेक्रमसँगै पूर्वीपहाडमा दशैं मनाउन सुरु भएको बताउँछन् । उनका अनुसार पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरण अभियानलाई निरन्तरता दिनेक्रममा रणबहादुर शाहले दशैं मनाउने परम्परालाई बल दिए । त्यतिबेलाका सुभांगी (मुखिया)लाई राजाले नगरा र निसान दिएर दुर्गापूजा गर्न लगाएकाले दशैं सुरु भयो ।

‘दशैं मनाउनेबारे आफ्नै समुदायमा मतभेद भएपछि राजा भेट्न गएका पाँचथरका लिम्बुहरूलाई निसान, तरबार, नगरा, ढाल, त्रिशूल, खुँडा दिएर महानवमीको दिन मौलो पूजा गर्न लगाइएको इतिहास छ,’ उनी भन्छन्, ‘त्यही परम्पराअनुसार अहिले पनि लिम्बु समुदायले नवमीको दिन एउटा राँगा वा बोकोसहित ८ फललाई ८ जनावरका प्रतीक बनाएर बलि दिन्छन् ।’

राजाले १८४० सालतिर दशैंमा दुर्गापूजा गर्ने भोगबलि दिने मानिसलाई आफ्नो सहयोगी ठान्थे । राजाको प्यारो हुन त्यतिबेला लिम्बुहरूले आमा–बाबुको मृत्यु हुँदासमेत राँगा, कुखुराको बलि दिने चलन चलाए । १९६२ सालमा राजेन्द्रविक्रम शाहले दशैंमा राँगा काट्ने चलन अनिवार्य गरिदिए । तर, राँगाकै बलि दिने सबैको आर्थिक हैसियत नहुने भएपछि १८९२ सालमा राँगा नकाटेपनि हुने अर्काे नियम बनाइयो । गरिब राई–लिम्बुले चाड मनाउन बलि दिनुपर्दा आफ्नो किपट नै अरूलाई सुम्पिनुपर्ने भयो । किपट सकिने भएपछि किराँत धर्मगुरु फाल्गुनन्दले १९८८ सालमा लिम्बु समुदायलाई जाँड–रक्सी र मासुमांसबाट जोगाउन चुम्लुङ आयोजना गरी सत्यधर्मको मुचुल्का गरेको इतिहास छ । यद्यपि, यो चलन पनि अहिले विवादरहित चाहिँ छैन ।

दशैंको प्रभाव बढाउन राज्यको एकीकरणपछिको विजयोत्सवलाई दशैंसँग जोडियो । दशैंलाई उत्सव मान्न अनिवार्य गरियो । थरी, मुखिया, जिमिदार, अमाली, सुब्बा र तालुकदारले देशका प्रशासनिक इकाईकै भूमिकामा काम गर्थे । शासकबाट आफ्नो जिम्मेवारी नवीकरण गर्ने माध्यम नै दशैंलाई बनाइयो । यी इकाईको अस्तित्व हराउँदै गएपछि दशैं मान्ने चलन कम हुन थाल्यो । दशैं नमानेको भन्दै १८४२ सालमा धनकुटाका रामलिहाङ आठपहरिया, रिदामा आठपहरिया र १८५२ सालमा ताप्लेजुङका बाजाहाङ लिम्बुको हत्यासमेत गरिएको थियो ।

अध्येता माबोहाङ लिम्बू समुदायमा विभिन्नखाले देवता हुने भएकाले दशैं लिम्बूका लागि महत्वपूर्ण भएको बताउँछन् । ‘दशैं त कुनै समुदायको भन्दा पनि राष्ट्रिय चाड नै हो,’ उनी भन्छन्, ‘म अहिले पनि नवमीमा मौलो पूजा गर्छु, मार हान्छु । गाउँमा नवमीको दिन बलि दिने प्रथा पनि हटिहालेको छैन ।’

राई समुदायमा चाहिँ दशैंको महत्व विवाहसँग पनि गाँसिएको छ । नवदुलहा–दुलहीले बिहेका बेला ढोगौली (माइती–ससुराली पक्षका आफन्तलाई दक्षिणा राखेर ढोग्दै परिचय) गर्छन् । यसको अर्थ हुन्छ–आउने दशैंमा नवदुलहा–दुलही उनीहरूका घरमा टीका लगाउन आउँछन् । चिनजान गरेका व्यक्तिबाहेकका घरमा टीका लगाउन गए ‘बिहेमा अपमान गरेको’ भन्ने अर्थमा लिइन्छ ।

किराँत समुदायका जानकार जसबहादुर राई यो चलन कम भएको तर नहटेको बताउँछन् । उनी भन्छन्, ‘यसले के देखाउँछ भने राई समुदाय र दशैंको सम्बन्ध निकै पुरानो हो ।’ राई समुदायमा चेलीबेटी माइत आउँदा भाइटीकाको दिनसम्म दशैंकै टीका लगाइदिने संस्कार छ । रातै टीका लगाउने, हिन्दुले झैं नवदुर्गा भवानीको पूजा गर्ने, मालश्री गाउने र बलि दिने प्रचलन राई समुदायमा अहिले पनि छ । टीका लगाउन छाडेकाहरूले पनि पूजाआजा गर्ने, दशैंलाई उत्सवका रूपमा मनाउने गरेको उनी बताउँछन् । राई समुदायमा महाष्टमीको राति वा नवमीको बिहान पशु बलि दिने, दशमीको दिन टीका लगाउने गरिन्छ ।

इतिहासकार मोहनसिंह थेबे दशैं कसैको विशेष नभई साझा चाड भएको बताउँछन् । तीज, जनैपूर्णमा, तिहार, माघे–साउने संक्रान्ति, रोपाइँजात्रा जसरी सबैका साझा भएका छन्, दशैं पनि साझा राष्ट्रिय पर्व भएको उनको भनाइ छ । ‘राई, लिम्बू, तामाङ, गुरुङ, बाहुन, क्षेत्री सबैको साझा पर्व भएपनि मान्ने तरिका फरक देखिन्छ,’ उनले भने, ‘विभिन्न राजनीतिक स्वार्थले उठेका जातीय र राजनीतिक आन्दोलनले दशैंको सन्दर्भमा चाहिँ गलत सन्देश दिएका छन् ।’

जमरा राख्ने, टीका लगाउने, बलि दिने, आफन्तकहाँ आउ–जाउ गर्दै मीठोमसिनो खाने चलन लिम्बु समुदायमा घटेको उनले बताए ।

महाष्टमी र नवमी लिम्बू समुदायमा दशैंका पनि विशेष दिन हुन् । महाष्टमीकै दिन आफन्त–नातागोता भेला हुने, नवमीको दिन मौलो पूजा गरेर दशैं मनाउने चलन यो समुदायको हो । मौलो पूजा गर्दा मार हानेको पशुको रगतमा हात डुबाएर घरको पूर्वपट्टि रहेको मूलढोकामा छाप लगाएपछि बुढापाकाले टीका लगाइदिने चलन छ । ‘नगरा, झ्याम्टा बजाएर मालश्री गाउँदै रमाइलो गर्ने, खानपिन गर्ने चलन छ,’ उनले भने, ‘दशमीको दिनदेखि चाहिँ टीका लगाएर पाहुना बिदा गरिन्छ ।’

लिम्बु समुदायमा पनि बिहेपछिको दशैं सांस्कृतिक हिसाबले महत्वपूर्ण छ । यो समुदायमा नयाँ ज्वाइँ दशैंमा ससुराली पुग्नु अनिवार्य छ । ससुराली जाँदा ढाकरमा सयपत्री फूल र एक जोर सुँगुर उत्तानो खुट्टा पारेर खेतालै लगाएर भएपनि बोक्नुपर्छ । सगुन (रक्सी) लानुपर्छ । ज्वाइँले चिनजान गर्दै ससुराली पक्षलाई मासु र सगुन अगाडि राखिदिनुपर्छ । तर, नयाँ ज्वाइँबाट आफूले लिएको कोसेली ३ वर्षको दशैंपछि ससुराली पक्षले दोब्बर ‘बागदत्त’ फर्काउनुपर्छ । थेबे भन्छन्, ‘मैतालु पु¥याउन आएका बेला ज्वाइँलाई माटोमा नसड्ने, हावाले नउडाउने, पानीमा नबिग्रिने र नमक्किने चिजका रूपमा काँस वा तामाका भाँडाकुँडा दिनु (साइमुन्द्री छिराउनु) पर्छ । छोरीचेलीको रीतभात खानुहुँदैन भनेर यो चलन १८३६ सालतिरै चलेको हो ।’ यो इतिहास हेर्दा दशैं लिम्बु समुदायको परम्परागत चाड नै रहेको देखिने थेबे बताउँछन् ।

किराँत समुदाय आफूलाई प्रकृतिपूजक मान्छ । सेतो रंगलाई धर्मग्रन्थ मुन्धुमले पवित्र र किराँतको राष्ट्रिय रंगका रूपमा लिएको छ । रंगको सृष्टि नै नभएका बेला सेतो रंग मात्रै रहेको र किराँतको संस्कृति पनि सेतो रंगसँगै मिल्ने भएकाले दशैं र शुभकार्यमा सेतो टीका लगाउने गरिएको तर्क पनि छ ।

१८२९ सालतिर विशाल नेपालमा माझकिरात गाभिएपछि १८३१ सालमा अरुण नदीपूर्वको भूभागका बासिन्दासँग पृथ्वीनारायण शाहको सम्झौता भएको हो । तर, पृथ्वीनारायण शाह र राजाहरूले रातो टीका लगाउन उर्दीचाहिँ नगरेको इतिहासकार थेबे बताउँछन् । १८३१ सालमा पृथ्वीनारायण साहले दिएको लालमोहोरमा ‘तिमीहरूले मानेको कुलधर्म हाम्रो भयो, हामीले मानेको कुलधर्म पनि तिमीहरूको भयो’ भन्दै दुवै पक्षलाई समान मानिएको उनको भनाइ छ ।

सन्दर्भ सामग्री अनलाइन खवरबाट साभार गरिएको हो ।

शनिबार, २३ असोज, २०७८, दिउँसोको १२:४४ बजे

सम्बन्धित खवर