व्यावसायिक भिसा लिने विदेशी नागरिकहरू उद्देश्यविपरीतका गतिविधिमा संलग्न रहेको पाइएपछि सरकारले भिसासम्बन्धी नीतिमै कडाइ गर्ने भएको छ ।
नेपालमा लामो अवधिको भिसाका लागि आफूलाई लगानीकर्ताका रुपमा प्रस्तुत गर्ने विदेशी नागरिकलाई अब पहिलो पटक तीन महिनाको मात्र भिसा उपलब्ध गराइने उद्योग विभागले जनाएको छ । विदेशी नागरिकलाई व्यावसायिक भिसा सिफारिस गर्दै आएको विभागले गत शुक्रबारबाट यससम्बन्धी नयाँ नीति लागू गर्दै विगतको खुकुलो व्यवस्थालाई अब केही शर्तसहित लागू हुने जनाएको हो ।
“व्यावसायिक भिसा प्राप्त गरेका विदेशी नागरिकहरू भिसाको उद्देश्यविपरीतका गतिविधिमा संलग्न भएको देखिएकाले हामीले भिसा सिफारिससम्बन्धी व्यवस्थामा केही परिवर्तन गरेका छौं,” विभागका महानिर्देशक रामचन्द्र तिवारीले भने, “विदेशी लगानी र व्यावसायिक भिसा सिफारिस गर्ने कार्यलाई थप व्यवस्थित र मर्यादित बनाउँदै व्यावसायिक भिसालाई वास्तविक लगानीसँग आवद्ध गर्न कात्तिक १८ बाट लागू हुनेगरी केही व्यवस्था परिवर्तन भएको छ ।”
महानिर्देशक तिवारीका अनुसार विदेशी लगानी स्वीकृति भएपश्चात् पहिलो पटक तीन महिनाको लागि व्यावसायिक भिसा सिफारिस गरिनेछ । तर, यसरी सिफारिस गरिँदा नै अर्को पटक आवेदन गर्दा अनिवार्य रुपमा कम्पनी दर्ता प्रमाणपत्र पेश गर्नुपर्ने शर्त राखी सिफारिस गरिने उनले बताए । यस्तै, कम्पनी दर्ताको प्रमाणपत्र पेश भएमा थप तीन महिनाको व्यावसायिक भिसा सिफारिस गरिनेछ भने त्यसपछि भिसा आवेदन गर्नेले कर कार्यालयमा दर्ता गरेको, बैंक खाता खोलेको र उद्योग दर्ता गरेको वा उद्योग दर्ताको लागि आवेदन दर्ता गरेको प्रगति विवरण पेश गर्नुपर्ने शर्त राखिएको छ ।
उद्योग दर्ता प्रमाणपत्र पेश भएमा भने विदेशी नागरिकलाई थप ६ महिनाको भिसा सिफारिस गरिने तिवारीले जानकारी दिए । उद्योग दर्ताको सम्बन्धमा भएको प्रगति विवरण सन्तोषजनक भए थप तीन महिनाको लागि व्यावसायिक भिसा सिफारिस गरिने जनाइएको छ । “यो अवधिमा उद्योग दर्ता गरी विदेशी लगानी भित्राउने प्रक्रिया सुरु गर्नुपर्ने शर्त राखी भिसा सिफारिस गरिनेछ,” उनले भने । यसअघि विदेशी लगानी स्वीकृति लिई लगानीकर्ताकै रुपमा व्यावसायिक भिसामा बसी साविकको भिसा सिफारिस गर्दाको शर्त पूरा नगरी पुन: नयाँ विदेशी लगानी स्वीकृतिको लागि आवेदन गरेमा निजको विदेशी लगानी स्वीकृत गरिने उल्लेख छ । तर, प्रस्तावित विदेशी लगानी नभित्र्याएसम्म स्वीकृत नयाँ विदेशी लगानीको आधारमा मात्र पुन: व्यावसायिक भिसा सिफारिस नगरिने महानिर्देशक तिवारीको भनाइ छ । त्यसपछिका समयको हकमा भने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ को नियम ९ बमोजिम लगानी भित्र्याएपछि मात्र थप व्यावसायिक भिसा सिफारिस गरिने जनाइएको छ । यसअघि व्यावसायिक भिसा लिई भिसाको अवधि थप गर्नका लागि आवेदन गर्नेहरूको हकमा समेत यही प्रावधान अनुसारका शर्तहरू राखी कार्यान्वयन गरिने विभागले जनाएको छ ।
नेपालमा विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधि र त्यस्तो लगानीकर्ता वा निजको प्रतिनिधिका परिवारका सदस्यलाई व्यावसायिक भिसा प्रदान गरिन्छ । विदेशी लगानी स्वीकृत भएपश्चात् लगानीको आधारमा उद्योग विभागमा रहेको एकल बिन्दु सेवा केन्द्र (भिसा सहजिकरण इकाई) मार्फत व्यावसायिक भिसा सिफारिस हुँदै आएको छ । विभागले भिसा सिफारिस गरेका केही विदेशीहरूले व्यावसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्र विदेशी लगानी स्वीकृत गर्ने र त्यसपछि कम्पनी, उद्योग तथा कर कार्यालयमा दर्ता लगायतका कार्य नगर्ने गरेको विभागको भनाइ छ ।

भिसा लिनेमा चिनियाँ अगाडि
पछिल्लो ५ वर्षमा झन्डै ९ हजार चिनियाँ नागरिकले नेपालमा व्यावसायिक भिसा लिएका छन् । उद्योग विभागको सिफारिसमा परराष्ट्र मन्त्रालयबाट सन् २०१७ यताको पाँच वर्षमा ८ हजार ८३९ जना चिनियाँले बिजनेस भिसा लिएको तथ्यांक छ । विभागका अनुसार नेपालमा बिजनेस भिसा लिनेमा चिनियाँ नागरिक सबैभन्दा अगाडि छन् भने चिनियाँपछि कोरियाली, जापानी, अमेरिकी तथा अष्ट्रेलियन र जर्मन नागरिक क्रमश: रहेका छन् । सन् २०१७ मा १ हजार ५७९, २०१८ मा १ हजार २८९, २०१९ मा २ हजार ७१३, २०२० मा १ हजार ३७४ र २०२१ मा १ हजार ३४४ चिनियाँ नागरिकले बिजनेस भिसा लिएका छन् ।

यस्तो छ व्यावसायिक भिसासम्बन्धी व्यवस्था
वैदेशिक लगानीकर्तालाई भिसा सम्बन्धी नयाँ व्यवस्थाअनुसार नेपालमा १० करोड वा सोभन्दा बढी लगानी गर्ने र लगानीको २५ प्रतिशत रकम लगानी भित्र्याइसकेको अवस्थामा लगानीकर्ता वा प्रतिनिधि दुई जना व्यक्तिलाई व्यावसायिक भिसा उपलब्ध गराउने व्यवस्था छ । त्यस्तो भिसा लगानीकर्ताको दुई जना प्रतिनिधि र तीनका परिवारले पाउने छन् ।
यस्तै, नियमावलीमा वैदेशिक लगानीकर्तालाई आवासीय भिसाको पनि व्यवस्था गरिएको छ । १० लाख डलरभन्दा बढी रकम वा सो बराबरको परिवत्र्य विदेशी लगानी गर्ने विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधिलाई र परिवारका सदस्यलाई यस्तो भिसा प्रदान गरिने छ । यस्तो लगानीको ५० प्रतिशत लगानी बराबरको लगानी स्वदेशमा कायम रहेसम्म ती व्यक्तिले आवासीय भिसा प्राप्त गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
विदेशी लगानी ऐन कार्यान्वयन हुनुभन्दा अघि स्वीकृत भएको लगानीकर्ताको हकमा लगानी स्वीकृत हुँदाको बेला तोकिएको न्यूनतम रकमलाई न्यूनतम कुल लगानीयोग्य कायम गर्नु पर्नेछ । विदेशी लगानी स्वीकृत गर्ने निकायमै लगानीकर्ता र सम्बन्धित अधिकारीले भिसाको लागि आवेदन गर्नुपर्ने पनि नियमावलीमा उल्लेख छ ।

Facebook Comments Box