नेपालमा पनि कोरोना संक्रमित संख्यामा व्यापक वृद्धि

विश्वभर फैलिरहेको कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका कारण नेपालमा पनि कोरोना संक्रमित संख्यामा व्यापक वृद्धि भएको छ। पछिल्ला दिनमा जुन दरमा संक्रमितहरू बढेका छन्, यसलाई तेस्रो लहरका रूपमा लिन सकिने विज्ञहरू बताउँछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार गत पुस १८ गते आइतबार २१६ जनामा संक्रमण देखिएको थियो। त्यसको एक साताभित्रै आज आइतबार हजार जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। भाइरोलोजिस्ट बासुदेव पाण्डे नेपालमा समुदाय स्तरमै ओमिक्रोन भेरियन्ट फैलिरहेको बताउँछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समीरकुमार अधिकारीका अनुसार ओमिक्रोन संक्रमितहरूलाई सामान्य रूघाखोकी लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने र ज्वरो आउनेजस्ता लक्षण देखिएका छन्।

‘विभिन्न देशबाट आएकामा मात्र ओमिक्रोन देखिएको छैन, विदेशबाट नआएकाहरू पनि संक्रमित हुनुहुन्छ,’ अधिकारीले भने, ‘धेरै संक्रमितलाई खासै गम्भीर असर देखिएको छैन। बाहिरबाट आउनुभएकाले संक्रमणको शंका लागेर परीक्षण गर्दा पोजेटिभ देखिएको हो।’

स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा पछिल्लोपटक कोरोना देखिएकामध्ये २२ प्रतिशत ओमिक्रोनबाट संक्रमित छन्। पुस महिनामा १ हजार १ सय ४६ पोजेटिभ संक्रमितबाट २२ प्रतिशतमा एसजेन नेगेटिभ भेटिएको थियो। यसरी एसजेन नेगटिभ पाइएकामध्ये २४ जनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन पुष्टि भएको थियो।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन पछिल्लो तथ्यांकका आधारमा नेपालमा अहिले देखिएका बिरामीमध्ये २२ प्रतिशतमा ओमिक्रोन देखिएको भन्न मिल्ने बताउँछन्।

उनका अनुसार ओमिक्रोन भाइरस बिजुली गतिमा फैलिए पनि संक्रमितहरूमा जटिल अवस्था देखिएर अस्पताल भर्ना हुने चाप वा मृत्युदरमा उल्लेखनीय वृद्धि भएको छैन।

‘डेढ महिनायताका अध्ययन, अनुसन्धान र विभिन्न देशको ओमिक्रोन अनुभवलाई आधार मान्ने हो भने यो बिजुली गतिमा फैलिन सक्छ तर डेल्टाको तुलनामा कम घातक छ भन्ने साबित भइसकेको छ,’ पुनले भने।

दोस्रो लहरपछि खोप लगाउनेको संख्या बढ्नु, धेरै जना पहिल्यै संक्रमित भइसकेको हुनु वा ओमिक्रोन भेरियन्टमा व्यापक म्युटेसन हुनु लगायत कारणले यो कम घातक हुन सक्ने उनको भनाइ छ। यसबारे वैज्ञानिक अनुसन्धान जारी छन्।

नेपालमा पछिल्लोपटक नयाँ वर्ष र क्रिसमस बेला भएका रमझम र भेटघाटपछि कोरोना संक्रमण विस्तार भएको देखिन्छ। तथ्यांकले पनि अंग्रेजी नयाँ वर्षलगत्तै कोरोना भाइरस संक्रमित संख्या उकालो लागेको देखाएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गत नोभेम्बर महिनामा अफ्रिकी मुलुकहरूमा ओमिक्रोन पत्ता लाग्नेबित्तिकै यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको थियो। लगत्तै नोभेम्बर २६ मा विश्वव्यापी चेतावनी जारी गरेको थियो।

डब्लुएचओले ओमिक्रोन दोस्रो लहरमा देखिएको डेल्टा भाइरसभन्दा तीन गुना बढी फैलिने क्षमताको भएको उल्लेख गरेको छ।

सोमबार, २६ पुष, २०७८, बिहानको ०८:५३ बजे

सम्बन्धित खवर