पर्यटन सुचारु गर्न माग

नेपाल पर्यटन बोर्डले कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा पर्यटन क्षेत्रसँग सरोकार राख्ने संस्था तथा व्यक्तिहरुसँग छलफल गरेको छ । साथै बोर्डले यसबीचमा गरेका कामहरुबारे जानकारी दिँदै नयाँ परिस्थितिमा कसरी जाने भन्नेबारे निजी क्षेत्रसँग सुझाव पनि लिएको छ ।
निजी क्षेत्रका संस्था तथा पर्यटन व्यवसायीहरुले स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुपर्ने सुझाव बोर्डलाई दिएका छन् । कोरोना संक्रमण भन्दै हठात् लकडाउन गर्दा विगतमा पर्यटन व्यवसाय धराशायी भएको भन्दै सरोकारवालाहरुले त्यस्तो निर्णय नगर्न सरकारसँग आग्रहसमेत गरेका छन् । सचेतना अपनाउने तथा खोपलाई प्रभावकारी बनाउँदै पर्यटनलाई चलाउनुपर्नेमा उनीहरुको जोड छ ।
कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रमुख डा. धनञ्जय रेग्मीले विगतमा कोभिडको संक्रमण र सीमित स्रोतसाधनका बाबजुद बोर्डले विभिन्न काम गरेको बताए । फेरि कोभिड संक्रमण बढिरहेको सन्दर्भमा निजी क्षेत्रसँग सुझाव मागिएको उनको भनाइ थियो ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागार्इंले कोभिडविरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए । पर्यटन व्यवसायी विजय अमात्यले कोभिडको अवस्थालाई हेरेर पर्यटन बोर्डले बजार रणनीति परिवर्तन गर्न सुझाव दिए । एक्सपिडिसन अपरेटर एसोसिएसनका अध्यक्ष डम्बर पराजुलीले पर्यटकलाई बोलाउने तर नेपाल आइसकेपछि समस्या नपर्ने खालको मापदण्ड बनाउनुपर्ने बताए ।

सोमबार, २६ पुष, २०७८, बिहानको ०९:०४ बजे

सम्बन्धित खवर