विषादीयुक्त तरकारी बिर्तामोड नगरपालिकाद्वारा जफत

पौष २५ झापा/  कृषि उपज थोक बजार बिर्तामोडमा राखिएका तरकारीमा विषादीको मात्रा उच्च पाइएको छ । बिक्रीका लागि राखिएको तरकारीमा विषादीको मात्रा बढी पाइएपछि बिर्तामोड नगरपालिकाले बुधबार मेयर धुव्रकुमार शिवाकोटी नेतृत्वमा जफत गरेको हो ।

बिर्तामोडमा तीनवर्ष अघि नै विषादी मापन प्रयोगशाला स्थापना गरिएको थियो । ‘बजारमा बिक्रीका लागि ल्याइएको तरकारी प्रयोगशालामा जाँच गराएर मात्रै बेच्नुपर्छ,’ मेयर शिवाकोटीले भने, ‘तर, परीक्षण नै नगराई बिक्रीका लागि राखिएपछि त्यसको परीक्षण गर्दै विशाक्त तरकारी जफत गरेका हौँ ।’

मेयर शिवाकोटी, प्रयोगशालाका कर्मचारी, प्रहरी, सञ्चारकर्मी, नागरिकसमाजका अगुवा लगायतको टोलीले कृषिथोक बजार अनुगमन गरेको थियो । व्यापारी र किसानले भने अनुगमन टोलीसमक्ष भारतबाट आउने विशाक्त तरकारी बिक्रीमा रोक लगाउन माग गरे ।

तरकारी परीक्षण गर्दा रुकावट प्रतिशत ३५ भन्दा कम भेटिए उपयोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म भेटिए केही दिन राखेर पुनः परीक्षण गर्दै खान सकिने र ४५ प्रतिशत भन्दा बढी भेटिए त्यस्तो तरकारी र फलफूल खान नमिल्ने विषादी परीक्षण प्रयोगशाकी प्राविधिक सहायक अञ्जु आचार्यको भनाइ छ ।

उनका अनुसार प्रयोगशालामा परीक्षण गरिएको विषादिको नतिजासहितको जानकारी वाली संरक्षण निर्देशनालय हरिहर भवन ललितपुर, क्षेत्रीय वाली संरक्षण प्रयोगशाला विराटनगर मोरङ, कृषि उपज बजार व्यवस्थापन समिति बिर्तामोडलाई पठाइएको छ । कृषिथोक वजारमा बिक्रीका लागि ल्याइएको पाँच जना किसान र व्यापारीको तरकारी नष्ट गरिएको छ ।

बिहिबार, २६ पुष, २०७५, दिउँसोको ०१:०६ बजे

सम्बन्धित खवर