ताप्लेजुङ, २६ फागुन / पर्याप्त वर्षा नहुँदा नगदेबालीका रूपमा रहेको अलैँचीका बोट सुक्न थालेका छन् । ताप्लेजुङका ग्रामीण क्षेत्रमा लगाइएको अलैँची खेती सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् । यस वर्ष पर्याप्त वर्षा नहुँदा र लामो समय खडेरी परेका कारण अलैँचीका बोट सुक्न थालेका किसानले बताएका छन् ।
सिरीजङ्घा गाउँपालिका–७ खेवाङका गङ्गाराम भट्टराईले यस वर्ष पाइप तथा कुलोबाट समेत सिँचाइ गर्न नसकिएको बताए । उनले भने –“पाइप र कुलोबाट गरिएको सिँचाइले अलैँचीलाई पर्याप्त पानी पुगेन । आकाशको पानीले बोट फस्टाउने र उत्पादन वृद्धि हुन्छ ।”

फक्ताङलुङ गाउँपालिकाको तापेथोक बगरका किसानले पनि अलैँचीका बोट सुक्न थालेका बताएका छन् । खोला तथा खोल्साको पानी अलैँची बगानमा लगाए पनि अलैँचीखेतीलाई पर्याप्त नभएको उनीहरुले बताएका छन् । लामो समय खडेरी परेकाले अलैँचीमा रोग कीराको समेत प्रकोप बढ्ने अलैँची व्यवसायी बालमणि बरालले बताए । रोग कीराले सिँचाइको अभावमा कमजोर बनेका बोटलाई सजिलै आक्रमण गर्ने र यसबाट क्षति पुग्ने उनको भनाइ छ ।
ताप्लेजुङमा करिब तीन हजार सात सय हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुने गरेको छ । केही दिनअघि फाट्टफुट्ट वर्षा भए पनि अलैँचीका लागि पर्याप्त नभएको किसानले बताएका छन् । लामो समयपछि फाट्टफुट्ट वर्षा भएर पुनः चर्को घाम लाग्दा अलैँचीलाई झन असर हुने गरेको उनीहरूले बताए । खडेरीले बोट नै सुकेपछि अलैँची उत्पादन घट्ने भएकाले किसान चिन्तामा छन् । भनेजस्तो मूल्य नपाइरहेका बेला उत्पादनसमेत घटेमा समस्या हुने सिरीजङ्घाका किसान लक्ष्मण अधिकारीले बताए ।
“पछिल्लो समय भनेजस्तो मूल्य छैन, अलैँची खेतीमा ठूलो लगानी छ, त्यसमाथि यसपटकको खडेरीले अलैँचीखेतीलाई क्षति पुग्यो, उत्पादन घट्ला भन्ने छ, यसले अलैँचीमा निर्भर रहेका किसानलाई समस्या हुन्छ”, उनले भने।
हिमाली तथा पहाडी जिल्लाका किसानले अलैँचीलाई मुख्य आयस्रोतका रूपमा लिने गरेका छन् । केही वर्षअघि अलैँचीको मूल्य बढ्दा धेरैले खेतबारी नै मासेर अलैँचीखेती गर्दै आएका छन् । प्रतिमन ( ९४० किलो )को मूल्य रु एक लाख बढी भएका समयमा ग्रामीण क्षेत्रका किसानले खेतबारी मासेरै अलैँचीखेती लगाएका हुन् । हाल अलैँची प्रतिमन ३४ हजारका दरले कारोबार भइरहेको व्यवसायी बालमणि बरालले बताए । यहाँ उत्पादित अलैँची झापाको विर्तामोड हुँदै भारतसम्म निर्यात हुने गरेको छ ।
भारतबाहेकका तेस्रो मुलुकमा सिधैँ निर्यात नहुँदा अलैँचीको मूल्य भारतीय व्यापारीकै हातमा हुने किसान र व्यवसायी बताउँछन् । सरकारले उत्पादन र निर्यातका लागि प्रभावकारी नीति नबनाएकाले पनि आफूहरू मारमा परेको किसानले गुनासो गर्ने गरेका छन् । अर्कातर्पm नेपालमै अलैँची प्रशोधन गरेर बजारीकरण गर्ने बातावरण बन्नुपर्ने आवश्यकता भएको पनि उनीहरूको भनाइ छ । भारतमा मात्रै नभई अन्य मुलुकमा समेत बजार खोजेर सिधैँ निर्यातको बातावरण बनेमा मूल्यमा सुधार आउन सक्ने व्यवसायी बताउँछन् ।
बोटमा सोचेभन्दा बढी मञ्जरी
सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न गाउँमा यस वर्ष आँपको उत्पादन बढ्ने देखिएको छ । माघको अन्तिमदेखि हालसम्म प्रायः सबै किसानको आँपको बोटमा लागेको मञ्जरी (फूल) लागेकाले किसानहरू खुसी भएका हुन् ।
आँप खेतीका लागि कोशी प्रदेशको पहिलो जिल्लाका रूपमा प्रख्यात सुनसरीमा आँपको बोटमा बोटैभरि मञ्जरी लागेकाले किसानहरू दङ्ग छन् । सामान्ययता प्रत्येक वर्ष नभए आँप एक वर्ष बिराएर फल्ने गरेकोमा गत वर्ष असिना पानीले कम फलेकोमा यसपालि सोचेभन्दा बढी फूल लागेको इनरुवा –९ का किसान राजेश यादवले बताए ।
यादवका अनुसार यस वर्ष रुखको पात ढाक्नेगरी मञ्जरी लागेपछि आँप उत्पादन बढ्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहका अनुसार जिल्लामा दुई हजार ५० हेक्टर क्षेत्रफलमा फलफूल खेती हुँदैआएकोमा सबैभन्दा बढी आँप छ ।
आँपको बोटमा अहिले सुरुवाती अवस्थामा देखिएको फूलमा क्षति नभएमा गतवर्षको तुलनामा उत्पादन बढ्ने अनुमान गरिएको सिंहको भनाइ छ । विगतको भन्दा अहिले जिल्लामा आम्रपाली आँपको खेती बढेको छ । भोक्राहा नरसिंह गाउँपालिका २ का सुरेन्द्र मेहताले भने , “गाउँका किसानले लगाएको आँपको रुखमा पात कतै पनि देखिँदैन, ‘आँपको बोट मञ्जरीले ढाकेको छ । यस वर्ष कीरा लागेन भने आँपको उत्पादन सोचेभन्दा बढी फल्छ ।”
यस वर्ष मञ्जरी लागेपछि ठूलो हावाहुरी नचलेमा उत्पादन बढ्ने उनको विश्वास छ । कृषि प्राविधिक भुवनेश्वर यादवका अनुसार आँपको मञ्जरीमा मधुवा कीरा लाग्नेगर्छ । ‘कुनै कुनै वर्ष त किरीले फल दिनु अगाडि नै मञ्जरी सखाप पार्छ’, उनले भने, ‘यस वर्ष अहिलेसम्म त कीरा लागेको छैन । भोलिपर्सि के हुन्छ भन्न सकिँदैन ।’

यादवका अनुसार कीरा लाग्न नदिन अहिलेदेखि नै किसानले औषधि छर्किन सुरु गरिसकेका छन् । उनले थपे , ‘मञ्जरी सप्रियो भने त हाँगाहरूले आँपको भार थाम्न गाह्रो पर्छ । आधा मञ्जरी खसेर आधामा मात्र फल लाग्यो भने यहाँका किसानलाई फाइदा हुन्छ ।’ नेपालमा आँप खेतीका लागि राजधानी भनेर चिनिने मधेश प्रदेशको सिराहा र सप्तरीमा त झन बढी क्षेत्रफलमा किसानले आँप लगाएका छन् ।

Facebook Comments Box