संसद विघटन गर्ने प्रम ओलीको संकेत : देशको आवश्यकता एकातिर संसदको गणित अर्कातिर

बैकल्पिक खवर

काठमाडौं / प्रधानमन्त्री केपी ओलीले संसदमा भने– ‘विश्वासको मत दिउँ, संसद विघटन हुनबाट जोगाउँ । मत दिनोस् न संसद विघटन कसरी हुन्छ ? विश्वासको मत नदिदा पो विघटन हुन्छ ।’

अझ अघि बढेर उनले थपे, ‘विश्वासको मत मलाई नदिने स्थायित्व भएन भन्ने ?’

संसदमा उठेका प्रश्नमाथि जवाफ दिने क्रममा ओलीले यही भनाइ तेहेर्‍याए । जसपाका अध्यक्ष उपेन्द्र यादवले ओलीमाथि संसद चल्न नदिने र अध्यादेशबाट देश चलाउनेभन्दै आरोपित गरेका मात्र के थिए, ओलीले तेहेर्‍याएर विघटन हुन नदिन मत दिन भने ।

हुन त, यादवको भनाइलाई पुठ दिने गरी संसदको रोष्ट्रममा उभिएर जनमोर्चाकी सांसद दुर्गा पौडेलले कतै आजको संसद बैठक अन्तिम त होइन् भन्ने प्रश्न उठाएकी थिइन् ।

संसदभित्रै उठेका आंशकालाई सम्बोधन गर्ने क्रममा ओलीले ‘विश्वासको मत दिउँ, संसद विघटन हुनबाट जोगाऊँ’ भन्नुले प्रधानमन्त्री ओली अझै संसद विघटन गर्ने सोचमा छन् भन्ने संकेत गर्छ ।

प्रधानमन्त्री ओलीका ती अभिव्यक्तिले उनी संसद विघटन गरेर ‘अर्ली इलेक्सन’ मा जान चाहन्छन् भन्ने विमर्शलाई बल दिएका छन् ।

हुन पनि, ओली आफ्नो पक्षमा बहुमत पुर्‍याउनका लागि २७ वैशाखमा विश्वासको मत लिन लागेका होइनन् । एक तीरले धेरै शिकार गर्ने रणनीतिमा ओलीले विश्वासको मत लिने निर्णय गरेकाे देखिन्छ । अहिले पनि उनी आफ्नो रोडम्यापमा प्रष्ट देखिन्छन् ।

अर्थात, अपेक्षाअनुसार नै आफ्नो पक्षमा विश्वासको मत प्राप्त नहुँदा संसदको ठूलो दलको हैसियतमा पुनः प्रधानमन्त्री हुने । संसदको ठूलो दलको हैसियतमा अल्पमतको सरकार बन्नुअघि कांग्रेस–माओवादी गठबन्धनको बहुमतको सरकार बन्नबाट रोक्ने

विपक्षी गठबन्धनले सरकार बनाउन नसकेको अवस्थामा संसदको ठूलो दलको हैसियतमा एमालेको संसदीय दलको नेताका हैसियतमा ओली अल्पमतको प्रधानमन्त्री नियुक्त हुन्छन् । त्यो अल्पमतको सरकारले ३० दिनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ, त्यही व्यवस्थामा टेकेर पुनः विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ । त्यतिबेला पनि अहिले झै विश्वासको मत प्राप्त हुने छैन ।

त्यसपछि भने संविधानको धारा ७६ को उपधारा ७ अनुसार संसद विघटनतिर धकेलिनेछ र देश अर्ली इलेक्सनमा जान्छ । संविधान अनुसार, ६ महिनाभित्र निर्वाचन भइसक्नु पर्नेछ । त्यो वीचमा ओलीले नीति तथा कार्यक्रम र बजेट पनि ल्याउनेछ ।

यति प्रक्रिया पुरा गरेर संसद विघटनमा गए, गैरसंवैधानिक कदमबाट पुनः आरोपित हुनबाट बच्न सकिने रणनीतिमा ओली देखिन्छन् । र, त्यसको लागि उनले जसपाको अध्यक्ष महन्थ ठाकुर खेमालाई साथ लिनेछन् । जुनदिनसम्म ठाकुर पक्ष जसपामा तटस्थ अर्थात ओलीको विकल्प खोज्ने निर्णयमा पुग्दैनन्,त्यतिबेलासम्म विपक्षी गठबन्धनको सरकार बन्दैन् । अहिले त्यही रणनीतिमा ओली सक्रिय देखिन्छन् ।

अहिलेको संसदबाट आफुबाहेकको व्यक्ति प्रधानमन्त्री निर्वाचित नहोस् भन्ने प्रयासमा रहेका ओलीले निरन्तर ठाकुरको साथ लिन सकेमा परिस्थिति अर्ली इलेक्सनमै जानेछ । त्यसैलाई संकेत गर्दै ओलीले संसदमा भने, ‘कहिलेकाँही देशको आवश्यकता एकातिर संसदको गणित अर्कातिर हुन्छ।

सोमबार, २७ बैशाख, २०७८, साँझको ०६:१६ बजे

सम्बन्धित खवर