दमकमा आरोप र प्रतिआरोपमा एमाले, एक अर्कालाई सिध्याउने खेल कायमै, उम्मेदवारमै असन्तुष्टी चुलियो

दमक/ राष्ट्रिय राजनीतिमा चासोका साथ हेरिएको झापाको दमकमा एमालेलाई एकपछि अर्को धक्का लाग्दै आएको छ ।
एमाले अध्यक्ष केपी ओलीको गृह नगर दमकमा एमालेको बिरुद्धमा राप्रपासहितका दलहरु गठबन्धनमा केन्द्रित भएपछि तनाबमा रहेको एमाले भित्र आन्तरिक असन्तुष्टिको थुप्रोे चुलिँदै गएको छ ।
स्थानीय निर्वाचनमा एमालेले जित्न नसक्ने लगभग पक्का भएपछि एमाले कार्यकर्ता निरास बन्न थालेका छन् भने उम्मेदवार छनौटमा गलत गरेको भन्दै आरोप र प्रतिआरोपका स्वरपनि बाहिन थालेका छन् ।
पार्टीमा लामो समय योगदान गरेका, आजिवन राजनीतिमा होमिएका त्यागी नेतालाई पाखा लगाउँदै क्याम्पसमा पढाउँदा पढाउँदै नगर उप प्रमुखको उम्मेद्वारी दिएर ल्याएको भन्दै तत्कालीन उप प्रमुख गिता अधिकारी प्रति २०७४ को निर्वाचनमै पार्टीभित्र असन्तुष्टि भएको थियो ।
त्यतिबेला त्यागी र समर्पण गरेको थुप्रै नेता हुँदाहुँदै अध्यक्ष केपी ओलीसंग नजिकिएका ठेकेदारकी श्रीमतिलाई उप प्रमुखमा ल्याईएको भन्दै असन्तुष्ट भएका स्थानीय नेता कार्यकर्ताहरुलाई ओलीले दमकमै आएर आगामी दिनमा योगदान गर्नेहरुको मुल्यांकन हुने भन्दै थुम्थुम्याएका थिए । तर यस पटक पनि तिनै अधिकारीलाई नगर प्रमुखको टिकट दिएपछि चुलिएको असन्तुष्टि मतदानको मिति नजिकिँदै गर्दा झन उग्र बन्दै गएको छ । अधिकारीलाई यसअघिपनि ठूला योजनाको ठेक्का घुमाइ फिराई आफ्नै श्रीमानलाई पारेको आरोप पनि नलागेको होइन ।
यस्तै अघिल्लो निर्वाचनमा नै नगर प्रमुखको दाबी गरेका अम्बिका खनालले यसपटक उपप्रमुखको टिकट पाएपछि पार्टीभित्रको भाँडभैलो झन बढेको हो ।
खनाललाई तीनबर्ष सम्म दमकको सुकुम्बासी आयोगको अध्यक्षमा बसेर कुनै काम नगरी तलब भत्ता मात्रै पचाएको, आफ्ना छोरालाई सरकारी नियूक्ती गर्न पार्टीलाई दवाब दिएको, पार्टीभित्रपनि संस्थागत भन्दा ब्याक्तिबाद हावीभएको जस्ता आरोप लागेका व्यक्तिलाई एमालेले उपमेयरमा उम्मेदवार बनाएको आरोप समेत एमाले कार्यकर्ताहरुले लगाउँदै असन्तुष्टि ब्यक्त गर्दै आएका छन् । उपप्रमुखका उम्मेदवार खनाल कमजोर उम्मेदवार भएकोले उनकोसहित भोट माग्दा मेयरसमेत गुमाउनुपर्ने बुझेर अधिकारी पक्षका कार्यकर्ताले दमकमा दुवै महिला ल्याउने भन्दै सामाजिक सञ्जालमा समेत पोष्ट गरेर अभियाननै चलाएका थिए । अहिले पनि  दुवै महिला ल्याउनुपर्छ भन्दै काँग्रेससँग भित्रभित्रै मिलेझै गर्ने र माओवादीसँग वडामा विचार पुर्याउने भन्दै खनालको भोट नमाग्दा मेयर उपमेयर विचनै असन्तुष्टि चुलिएको एमालेकै कार्यकर्ता बताउँछन् ।

एमाले नगरपार्टीले भने दमकमा एमालेभित्र मनमुटव नभएको बताएको छ । सामान्य विवाद यसअघि भएपनि अहिले पार्टी एकढिक्का भएर चुनाव लड्ने र आफ्नो पक्षमा बहुमत आउनेमा पार्टी विश्वस्त भएको जनाएको छ ।
उता गठबन्धनबाट प्रमुखका उम्मेदवार बनाइएका राम थापा र उपप्रमुखका उम्मेदवार बनाइएका रेगिना भट्टराई प्रसाईँ यसअघिकै चुनावमा एक्ला एक्लै उठ्दा पनि दुबैले सम्मानजनक मत ल्याएर दुबैले दोस्रो स्थान पाएका थिए । रेगिना भट्टराई प्रसाईं बिगत लामो समयदेखि विभिन्न संस्थामा आबद्ध ब्याक्तित्व र सामाजिक अभियन्ताको रुपमा क्रियाशिल छन् ।

 

मङ्गलबार, २७ बैशाख, २०७९, बिहानको ०९:४६ बजे

सम्बन्धित खवर