किन सेलायो युवा आन्दोलन ?

नेपालका हरेक राजनीतिक आन्दोलन युवा तथा विद्यार्थीकै बलिदान तथा योगदानका कारण सफल भएका छन् । देशमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ आएको छ । तर, परिवर्तित व्यवस्थामा पनि राजनीतिक नेतृत्वमा युवाको सहभागिता न्यून छ । सहभागी युवा नेताको पनि भूमिका गौण छ ।

पार्टी वा सरकारको नेतृत्वदायी भूमिकामा पुरानै पुस्ताका नेताको हालीमुहाली छ । जसकारण, राजनीतिप्रति युवाको आकर्षण घट्दो छ । जति युवा राजनीतिमा सक्रिय छन्, उनीहरु पनि राजनीतिक शैली र नेतृत्वप्रति असन्तुष्ट छन् । मूलतः अघिल्लो पुस्ताले नै पार्टी कब्जा गरेको, नयाँ पुस्तालाई नेतृत्वको अवसर नदिएको र राजनीतिलाई पुरातन शैलीमा कायम राखेको भन्दै युवा पुस्ताले पार्टी नेतृत्वको आलोचना गर्ने गरेका छन् ।

हिजोका राजनीतिक आन्दोलनमा सक्रिय रूपमा सहभागिता जनाएका युवा नेता, जो अहिले स्थापित राजनीतिक दलमा संलग्न छन् । उनीहरु के गर्दै छन् ?

ठाकुर गैरे, केन्द्रीय सदस्य, नेकपा

अहिलेको व्यवस्था ल्याउन थुप्रै संघर्ष ग¥यौं । ज्यानबाजी राखेर आन्दोलनको मोर्चामा होमियौं । अहिले व्यवस्था परिवर्तन भएको छ । दुई ठूला कम्युनिस्ट पार्टी एक भएका छन् । कम्युनिस्ट पार्टीकै नेतृत्वमा सरकार बनेको छ । तर, अहिलेको पार्टी नेतृत्व र सरकार पनि युवामैत्री हुन सकेको छैन ।

म राजनीतिक काममा नै व्यस्त छु । अब राजनीतिभन्दा टाढाको अरू सोच छैन । जब तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता भयो तब एकता प्रक्रिया टुंग्याउने काममा नै व्यस्त भएँ । धेरै वटा जिल्लाका कार्यक्रममा गएँ । नेता कार्यकर्ताको भावना बुझ्ने प्रयास गरें ।

पार्टी एकता घोषणा हुँदा नेता कार्यकर्तामा जुन प्रकारको उत्साह थियो, त्यो क्रमशः खिइँदै गएको छ । त्यो देखेर नेतालाई दबाब दिनेदेखि कार्यकर्तालाई उत्साह दिँदैमा वर्ष बित्यो । संगठन निर्माणतिर ध्यान दिनै पाइएन । अब जिल्ला नेतृत्व टुंगिएसँगै संगठन निर्माणको काममा सक्रिय हुने बाटो खुलेको छ ।

पार्टी नेतृत्वले युवा नेतालाई उल्लेख्य भूमिका दिँदैनन् । युवालाई जिम्मेवारी सुम्पिने हो भने कुनै पनि काम छिटो हुने थियो । अहिले पनि पार्टीलाई माक्र्सवादी र नेतालाई निष्ठावान्सँगै वैचारिक बनाउनुपर्ने चुनौती छ । यसका लागि पनि काम गरिरहेको छु । माक्र्सवादको अध्ययन, अनुसन्धान र प्रशिक्षणमा समय खर्चिरहेको छु ।

पछिल्लो समय सात प्रदेशका अन्डर–१६ क्रिकेट खेल आयोजना गरेको छु । मनमोहन मेमोरियल क्रिकेट सेन्टरको अध्यक्ष छु । यो भूमिकाको काममा पनि व्यस्तै छु । सँगैसँगै यसबीचमा धेरै पुस्तक पढें । अहिले पनि पढ्दै छु । पछिल्लो समय ‘सिजिङ फिङ’को पुस्तक पढें ।

मूलतः पार्टी संगठनसँगै सामाजिक कममै व्यस्त छु । अझ बढी भूमिकाको अपेक्षा गरेको छु ।

रामकुमारी झाँक्री, केन्द्रीय सदस्य, नेकपा

अचेल खास व्यस्त छैन । एमाले–माओवादी एकतापूर्वको जस्तो उत्साह पनि छैन । कहिलेकाहीँ गफ चुटेर दिन बिताउँछु । यद्यपि, सांसद पनि भएकाले संसद्को काम गरिरहेको छु । जनतासँग जोडिएका सवालमा आवाज उठाउँछु । सामाजिक काम पनि गरिरहेकै हुन्छु ।

संसदीय काममा मेरो अनुभव नयाँ हो । यो मेरा लागि विश्वविद्यालय हो । संसदमा कसरी काम हुन्छ भनेर सिक्दै छु । ऐन–नियममा भएका कुराहरु जीवन्त हुँदैनन् । अभ्यासले महत्त्व राख्दो रहेछ । यसर्थ, संसदका दुई अधिवेशन मेरा लागि महत्त्वपूर्ण रह्यो ।

तेस्रो अधिवेशनमा मौलिक हकसँगसम्बन्धी कानुन बनाउने फेज थियो । संसदीय प्रक्रियामा धेरै चटारो हुँदो रहेछ, किसानका लागि असार जस्तो । कति काम त ७२ घण्टाभित्र सक्नुपर्ने बाध्यता हुँदो रहेछ । त्यतिबेला दिनरात नभनी मौलिकसँग सम्बन्धित कानुन बनायौं ।

अहिले सरकारको नीति तथा कार्यक्रम आयो । बजेट सत्र सुरु भएको छ । आर्थिक समितिमा भएकाले काम भइरहकै हुन्छ । हामीले नीतिगत कुरामा बढी ध्यान दिइरहेका छौं ।

समृद्धिका लागि यो आधार वर्ष हो । आगामी २५ वर्षका लागि योजना आयोगले काम गरिरहेको छ । यसमा पनि ‘पोलिसी गाइड’का रूपमा काम गरिरहेकी छु । सन् २०२२ मा अति अविकसित मुलकबाट विकसित मुलुकमा पुग्ने यात्रा तय भएको छ । सन् २०३० मा विकसित मुलुकको दाँजोमा जाने लक्ष्य छ । त्यसका लागि काम गरिरहेकी छु ।

पार्टी एकता हुुनुअघि २०७४ साल असोजमा तत्कालीन एमालेको केन्द्रीय समितिको बैठक बसेको थियो । त्यसपछि पार्टीका गतिविधि भएनन् । निर्वाचन भयो । त्यसमा होमियौं । एमालेको संगठन चुस्तदुरुस्त थियो । विचार पनि ठीक थियो । मार्गदर्शनको सिद्धान्त समय सन्दर्भमा ठीक थियो । यो देशको संसदीय राजनीतिमा सबैभन्दा अब्बल पार्टी थियो ।

तर, अहिले त पार्टीं छरछैन जस्तो भएको छ । पार्टी कार्यकर्ताहरु क्रियाशील त भइहाल्छन् नि ! काठमाडौंका कार्यकर्ताहरु कुचो बोकेर सहर सफा गर्न हिँडेका छन् । अहिले हामीले अन्डर–१६ को प्रदेशस्तरीय क्रिकेट आयोजना गरेका छौं । यसमा पनि व्यस्त छौं । म विभिन्न कार्यक्रममा देशका धेरै स्थानमा गएँ । ती कार्यक्रममा पार्टीले नभएर अन्य संघसंस्थाले बोलाएर गएकी हुँ । तर, त्यहाँ जाँदा पार्टीका साथीसँग भेटघाट र छलफल हुन्छ । त्यहाँ चिन्ता छ, पार्टी कता गयो । पार्टी भएन भन्ने छ ।

म संसद्को आर्थिक समितिमा भएकाले आर्थिकसम्बन्धी पुस्तक रिपोर्टहरु अध्ययन गर्छु । जर्नलहरुमा छापिएका आर्टिकल पढ्छु । योजना आयोगका रिपोर्ट अध्ययन गर्छु । विकाससम्बन्धी पुस्तक र लेखहरु पढ्छु । दिन त राजनीतिमा नै बितिरहेको छ । तर, जसरी राजनीतिक काममा व्यस्त हुनुपथ्योर्, त्यति हुन पाएकी छैन । अब पार्टीको एकता जिल्लासम्म भएको छ । अब कार्य्विभाजन भएपछि अझै बढी पार्टीको काममा लाग्न पाइन्छ होला ।

पछिल्लो समयमा मैले स्वास्थ्य र बिमाबारे विश्वभरका रिपोर्ट र सोसिलिस्ट डेमोक्र्याटहरुले कस्तो अभ्यास गरिरहेका छन् भनेर अध्ययन गरिरहेकी छु ।

गुरु घिमिरे, नेता, नेपाली कांग्रेस

म राजनीतिमा सक्रिय छु । पार्टीका आन्तरिक काममा बढी व्यस्त हुन्छु । म पार्टीको आन्तरिक विवादमा सामेल भएको छैन । बरु सबै नेता मिलेर जानुपर्छ भनेर पार्टीका बैठक, सभा समारोहमा भन्ने गरेको छु । भेट्दा सबै नेतालाई भन्ने गरेको छु । हामीहरु लड्ने समय होइन । हामी संसदमा गणितीय हिसाबले कमजोर छौं । लडेर रमिता नदेखाऊ ।

पार्टी्भित्र द्वन्द्व छ, सबैलाई थाहा छ । यो द्वन्द्वले कसैको भलो गर्दैन । यसमा सबैले मिलाउने भूमिका निभाउनुपर्छ भन्छु । पार्टीले आफ्नो कमजोरी पत्ता लगाएर त्यसको समाधानमा नै बढी समय दिनुपर्छ । नेताहरु पनि गुट गुटमा रमाइरहेका छन् । योबाट बाहिर आउनुपर्छ ।

लाखौं कार्यकर्ता र शुभचिन्तक निःस्वार्थ काम गरिरहेका छन् । तर, अवसर पाएकाहरु नै गुट बनाउन व्यस्त छन् । यो तोड्नुपर्छ । यसका लागि पार्टीमा भएका युवालाई एक बनाउने अभियान चाल्नुपर्छ ।

म सधैं क्रियाशील छु । विचार संगठनको काममा लागेको छु । अध्ययन गर्छु । पार्टीको कामका लागि जिल्लामा बोलाउँदा जान्छु । पार्टीको कार्यक्रममा बढी व्यस्त छु । जागरण अभियान सुरु भएको छ । मेरो जिम्मा कञ्चनपुर परेको छ । त्यहाँ जानेछु । पछिल्लो समय पार्टीको कामले कपिलवस्तु आएको छु । म काम कार्यसूचीअनुसार गर्छु ।

अहिले हाउ डेड टु डेमोक्रेसी र मिसन र भन्ने पुस्तक पढिरहेको छु । राजनीति, सामाजिक र दर्शनसम्बन्धी पुस्तक अध्ययन गर्ने गरेको छु । अहिले म पार्टीको काममा नै बढी व्यस्त छु ।

देवेन्द्र पराजुली, नेता

नेपालमा राजनीतिक पार्टीबीच एकता हुने क्रम जारी छ । हाम्रो पार्टीले पनि एकता गरेको छ । अहिले नेपाल समाजवादी पार्टी भएको छ । पार्टी जे जस्ता बने पनि मुख्य नेतृत्वमा एउटा प्रवृत्ति साझा बनेको छ , त्यो हो आन्तरिक जनवाद नदिने । आन्तरिक जनवादको अभ्यास नगर्ने । यसबारे अध्ययन गर्ने र बुझ्ने काम गरिरहेको छु ।

पार्टीहरु बन्ने भत्कने कुरा सामान्य हो । तर, पार्टीमा कुन प्रवृत्ति हावी भयो । नयाँ कुरा के स्थापित ग¥र्यो भनेर खोज्नुपर्ने भएको छ । तर, खोज्न कोही पनि कसिएका छैनन् । असन्तुष्टि सबै पार्टीमा छ । नेताहरु बस्ने र निर्णय गर्ने अनि कार्यकर्ता र केही नेतालाई बोलाएर ताली बजाउन लगाउँदै हिँड्ने गरेका छन् ।

यो किन भइरहेको छ भनेर म विभिन्न माध्यमबाट अध्ययन र अनुसन्धान गरिरहेको छु । यहीतर्फ मेरो ध्यान केन्द्रित छ । यसमा सामाजिक, आर्थिक, राजनीतिक र मनोवैज्ञानिक पक्षले कति काम गरेको छ । यसको अध्ययन आवश्यक भएको छ । त्यसकारण, म केही समय पहिलादेखि यसैमा व्यस्त छु ।

पार्टी एकता गरेका छौं । यसमा मेरो कुनै पनि भूमिका रहेन । तर, म राजनीतिभन्दा टाढा छैन । यसका लागि नै खटिन्छु । अहिलेका युवा खतरासँग किन जुध्न चाहँदैनन् । चिन्तको विषय बनेको छ । राजनीतिमा मौलाएको व्यक्तिवादविरुद्ध किन बोल्दैनन् ?

हिजो हामीले उठाएका मुद्दा के हुन्छन् ? ती मुद्दाबारे छलफल भएन । ती मुद्दा नयाँ पार्टीमा कसरी लागू हुन्छन् ? कसरी त्यसको प्रयोग हुन्छ भन्नेबारे बहस भएन । नेताहरुले एकता गरे । हामीले हिजो उठाएका ५ ‘स’को के हुन्छ ? यसबारे मैले मेरो कमिटीमा उठाएको हुँ । तर, यसको केही नतिजा आएको छैन ।

लेखनाथ न्यौपाने, नेता, नेकपा

मेरो पार्टीमा औपचारिक जिम्मेवारी छैन । तर, कम्युनिस्ट पार्टीको सदस्य भएको नाताले कम्युनिस्ट नैतिकतामा बसेर नियमित काम गरिरहेको छु । विशेषतः मैले अहिले तीन काम गरिरहेको छु ।

१. सिद्धान्त र विचारको अध्ययन अनुसन्धानमा व्यस्त छु । सिद्धान्तबिना अगाडि बढ्न सकिँदैन । यसको ज्ञान हुन आवश्यक छ । विश्वमा कस्ता कस्ता अभ्यास भइरहेका छन् भनेर अध्ययन गरिरहेको छु । विशेषतः रुसमा समाजवाद कसरी र किन असफल भयो भनेर अध्ययन गरिरहेको छु ।

२. समाजवादमा जाने हो भने कम्युनिस्ट बन्नुपर्छ नै । कार्यकर्ताहरु कम्युनिस्ट हुनुपर्छ । समाजवादमा जान विचार र दर्शनको अध्ययन हुनुपर्छ । विचारबिनाको समाजवाद हुँदैन । समाजवादमा जाने त विचार र दर्शनले हो । यो भएन भने समाजवादमा जान सकिँदैन भन्ने हो ।

समाजवादको नाम दिन सकिएला तर त्यो कस्तो समाजवाद भन्ने प्रश्न गम्भीर हुन्छ । हामीले साँच्चै समाजवाद ल्याउने हो भने कम्युनिस्ट विचारअनुसारको चाहिन्छ ।

३. जनतासम्म पुग्ने काम गरिरहेको छु । पार्टीको जिम्मेवारी नभए पनि विभिन्न माध्यमले जनतासँग सधैं नजिक छु । जनताले पार्टीलाई दिएका सल्लाह र सुझाव ग्रहण गर्छु ।

अहिले रुसको समाजवादी राज्य व्यवस्थाबारे लेखिएका पुस्तक अध्ययन गरिरहेको छु । पुस्तकमा नभेटेका कुराहरु म इन्टरनेटको माध्यमबाट खोजेर अध्ययन गरिरहेको छु ।

बिन्दा गिरी, केन्द्रीय सदस्य, राप्रपा संयुक्त

पार्टी एकता भएको छ । हामी अहिले पनि पार्टीको आन्तरिक काममा बढी क्रियाशील छौं । अर्को प्रदेशस्तरीय कार्यक्रम पनि सकेका छौं । अहिलेसम्म कार्य्विभाजन नहुँदा पार्टीको खासै काम छैन । हामी पछिल्लो समयमा राप्रपाबाट एकता गरेर गएका हौं । केही केन्द्रीय सदस्यको कार्य्विभाजन नहुँदा अहिले त्यही काममा व्यस्त छौं ।

एलएलबीको परीक्षा आइरहेको छ । अध्ययन गरिरहेको छु । म राजनीतिलगायतका अर्थसम्बन्धी पुस्तक पढ्छु ।

आफैंले पसल सञ्चालन गरेकी छु । आत्मनिर्भर हुनुपर्छ भन्ने छ । राजनीतिको साथै आत्मनिर्भर भएमा सहज हुने हुँदा यसमा जोडिएकी हुँ । अहिले परीक्षा सुरु हुने समय नजिक आएकाले पढाइमा नै बढी केन्द्रित छु ।
शिलापत्रबाट साभार

शुक्रबार, २७ बैशाख, २०७६, दिउँसोको ०१:०३ बजे

सम्बन्धित खवर